फाल्गुनन्द जयन्तीः कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु

डिसी नेपाल
२५ कार्तिक २०८१ ८:३९

झापा। किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराएको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन्।

समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज देशभर मनाइँदैछ । सरकारले २०६६ साल मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको जन्म १९४२ साल कात्तिक २५ गते इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङको चुम्चिनाम्बामा भएको थियो । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा उनको निधन भएको हो ।

महागुरु फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तानका रूपमा भएको थियो । उनी आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए। न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती भएका थिए । बेलायती सेनामा केही वर्ष काम गरेपछि फाल्गुनन्दले युद्धप्रति वितृष्णा जागेको भन्दै सेनाको जागिर त्यागिदिएका थिए । जागिर छाडेर उनी अहिंसा र किराँत धर्मको प्रचार गर्दै नेपाल, भारत र भूटानसम्म पुगेका थिए।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमका अनुसार किराँत धर्मावलम्बीहरूले उनलाई पृथ्वीलोकमा धर्म प्रचार र मुक्तिका लागि ईश्वरीय प्रतिनिधि (देवदूत)का रूपमा सम्मान गर्छन् ।

उनका अनुसार महागुरु फाल्गुनन्दले १९८८ साल वैशाख २५ गते दश लिम्बू र १७ थुमका अगुवा व्यक्तित्वहरूलाई पाँचथरको लेबे्रकुटीमा एकत्रित गराएर ‘सत्य हाङ्मा मुचुल्का’ गराएका थिए। उक्त १० बुँदे मुचुल्कालाई फाल्गुनन्दको धार्मिक सन्देशका रूपमा मानिन्छ । तत्कालीन लिम्बूवान क्षेत्रका सबै अग्रजहरूले सहीछाप गरेको उक्त मुचुल्का नौ हात लामो काँचो कागजमा लेखिएको र त्यसको प्रतिलिपि सुरक्षित राखिएको अध्यक्ष थेगिम बताउँछन्।

किराँती समुदायमा जन्म, मृत्यु, विवाह र उत्सवहरूमा भेला हुँदा अत्यधिक मदिरा र मासु खुवाउने उसबेलै चलन थियो । पशुको काटमारले मानिसमा हिंस्रक प्रवृत्ति र मदिराको अधिक प्रयोगले विकृति बढ्ने महागुरुले निष्कर्ष निकालेका उनको तर्क छ । सामाजिक रीति र संस्कारमा मदिरा, बलि र तडकभडक हटाउन सहज थिएन । त्यहीकारण महागुरुले किराँत समुदायका अग्रजहरूलाई लेब्रेकुटी भेलाको आयोजना गरेका थिए। भेलाका सबै सहभागीले धर्म मुचुल्कामा राजी भएर सहीछाप गरेका थिए ।

महागुरु फाल्गुनन्द किराँत वेद ‘मुन्धुम’को ज्ञाता हुन् । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिएका फाल्गुनन्दले प्रतिपादन गरेको धर्म मुचुल्कामा किराँतीहरूले मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गर्नुपर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिनदिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नुपर्ने, सिरिजङ्गा लिपि प्रचलनमा ल्याउनुपर्नेलगायत सामाजिक सुधारका नीतिहरू समावेश भएका छन् ।

नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने उनको सन्देश लैङ्गिक समानताका लागि उल्लेखनीय योगदान मानिन्छ । किराँती समुदायमा आज पनि महिला सशक्तीकरणको अवस्था सराहनीय छ ।

महागुरु फाल्गुनन्दको सम्मानमा सरकारले २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशित गरेको थियो । विसं २०७२ देखि फाल्गुनन्द जन्मजयन्तीका अवसरमा सरकारले किराँत धर्मावलम्बीका लागि बिदा दिन थालेको हो ।

झापाको दमक, मेचीनगर, शिवसताक्षी र अर्जुनधारा, बुद्धशान्ति, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङलगायत पालिकाले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा विगतदेखि नै सार्वजनिक बिदा दिने गरेका छन् । मुलुकभित्र र बाहिर फाल्गुनन्दको सयौं सालिक स्थापना भइसकेका छन् ।

विश्वबन्धुत्व र अहिंसाका महान् तपस्वी किराँत धर्मगुरु फाल्गुनन्दको धार्मिक सन्देशलाई विश्वभर फैलाउने कार्यमा उनका नाति धर्मगुरु आत्मानन्द लिङ्देनले हाल अगुवाइ गरिरहेका छन्। इलामको माङ्सेबुङस्थित लारुम्बामा धर्मगुरु आत्मानन्द लिङ्देनले स्थापना गरेका माङ्हिम अहिले किराँत धार्मिकस्थलको रूपमा प्रसिद्ध छ । पाँचथरको लेबे्रकुटी, सिलौटीलगायत स्थान फाल्गुनन्दकै कारण धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *