बढुवा रोकेर बेलायत गएका आइजीपी फर्किएसँगै रिक्त ८ डिआइजी पदमा बढुवाको तयारी
काठमाडौं। नेपाल प्रहरीमा यतिबेला रिक्त भएका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा यसै साता बढुको तयारी गरिएको छ।
गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बढुवाको तयारी गर्न निर्दैशन दिइसकेको छ। ‘प्रहरी महानीरिक्षक वसन्त बहादुर कुँवर विदेश भ्रमणबाट स्वदेश फर्किसक्नु भएको छ अब प्रकृया शुरु हुन्छ’, गृहमन्त्रालय स्रोतले भन्यो।
बढुवा रोकेर प्रहरी महानिरीक्षक कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन गत आइतबार बिहान संयुक्त अधिराज्य बेलायत गएका थिए। उनी शनिबार राति स्वदेश फर्केका छन्।
गत असारदेखि नै नेपाल प्रहरीमा डीआईजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको थियो। हाल रिक्त डीआईजीको संख्या ८ पुगेको छ। असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डीआईजीमै अवकाश भएका थिए।
उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश पाए। यद्यपि उनले आफू बढुवा नहुनुपर्ने कारण माग्दै सर्वोच्चमा मुद्धा हालेका छन्। सो मुद्दा अहिले विचराधीन रहेको छ। गत साउनमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डीआईजीको पद रिक्त भएको थियो।
तर त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकिएको थियो। भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए। त्यसको एक महिनापछि असोज १४ गते डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डीआईजीको संख्या चार पुगेपनि बढुवालाई झन लम्ब्याइयो।
कात्तिक ११ गते राजेशनाथ बास्तोलाको अवकाश र किरण राणा एआईजीमा बढुवा भएपछि ६ जना डीआईजी रिक्त भएको थियो।
किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ। यससँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ८ पुगेको हो।
रिक्त डीआईजीका लागि तीनवटा टोली प्रतिस्पर्धामा देखिएका छन्। प्रहरी महानिरीक्षक कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डीआईजी बन्न लबिइङमा लागेका छन्। यसमध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डीआईजी बढुवा सिफारिस हुने देखिएको छ।
आईजीपी कुँवरका ब्याची कार्यक्षमतामा कमजोर मानिएका ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन्। उनीहरू भर्नादेखि एसएसपीसम्म नै अगाडि थिए। त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डीआईजी बन्ने सूचीको प्राथमिकतामा छन्।
डिआइजी दूर्गा सिंह चन्द एआइजी बढुवामा पछि परेपनि उनका पति चन्दलाई बढुवा दिएर न्याय गर्ने बताइएको छ। उनी २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा थिए। कार्यक्षमता भन्दा पनि आफ्ना व्याची भएकाले यी तीनजनालाई छुटाउन नहुने पक्षमा आईजीपी कुवर उभिएका छन्।
यस्तै सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पनि यसपटक डीआईजी बन्ने छन्। यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डीआईजी बन्ने करिब निश्चित छ। यसअघि एसएसपी हुँदा उनी चन्दपछिको दोस्रो नम्बरमा थिए।
उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशील सिंह राठौर पनि यसपटक डीआईजीका बलिया दाबेदार हुन्। उनीहरूभन्दा पछाडिका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डीआईजी भइसकेका छन्।
शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डीआईजीका लागि विभिन्न शक्ति केन्द्र धाइरहेका छन्। रानाले त विभिन्न माध्यमबाट गृहमन्त्री र कांग्रेसका नेताहरुसँग लविङ गरिरहेको स्रोतले जनाएको छ। उनी डिएसपी र एसपी हुँदा निकै विवादित भएका थिए।
उनीहरू डीआईजी बन्न २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोलीलाई रोक्नुपर्छ। यो टोलीका दानबहादुर कार्कीसहित तीनजना पहिल्यै डीआईजी भइसकेकाले उनीहरूमध्येबाट पनि केही बढुवा हुने सम्भावना छ।
यो टोलीबाट डीआईजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टले पनि जोडबल लगाइरहेका छन्। दिनेश आचार्य र राजेन्द्र भट्ट भने इन्चार्ज विभाजनमा पनि धेरै पटक अन्यायमा परेका अधिकृत हुन् । तुलनात्मक रुपमा इश्वर कार्की गोविन्द थपलिया तथा अरुण पौडेल कम विवादित मानिन्छन्।
अहिले एकसाथ बढुवा भएका ३२ एसएसपीमध्ये तीनजना यसअघि नै डीआईजी भइसकेका भने ५ जना एसएसपीबाटै अवकाशमा गइसकेका छन्। एसएसपीबाट जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल र किसन सिंह थापा अवकाश भएपछि अघिल्लो र पछिल्लो टोली मिलाउन सहज भएको छ।
यस्तै यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डीआईजीका दाबेदार हुन्।
त्यसमध्येका देउवा, रेग्मी र दासचाहि निकै विवादित एसएसपी हुन्। देउवा, रेग्मी र दास कार्यक्षमता, चरित्र र स्वाभाव र आर्थिक मामिलामा निकै कमजोर एसएसपीहरु हुन्।
Facebook Comment