लघुकथा : राष्ट्रियता
‘अंकल डीभी नभर्ने?’ घुम्ती काउण्टर खोलेर बसेको एउटा भाइले मलाई प्रश्न गर्यो। डीभी भर्ने र भराउने घुम्ती काउण्टरहरु इटहरीमा मात्रै ८-१० वटा देखें। त्यहाँ मानिसहरु लाम लागेर डीभी भरिरहेका थिए।
म अलि हतारमा थिएँ। प्रेसको काम थियो। ‘नभर्ने। मान्छे पलायन हुने व्यापार नगर है भाइ।’ मैले जवाफ फर्काएँ। ‘डलर खेलाउनु परेन, डलर। नेपाली नोटको के महत्व छ र अंकल?’ उसले जोड दिँदै भन्यो।
उ त एउटा एजेन्ट न हो। उसको मालिक कस्तो होला? यस्ता काउण्टर देश भरि कति होलान्? अमेरिकाको सपना देखेर मान्छे आँधिएर डीभी भरेका भरै छन्। मलाई डीभी भर्नु पर्छ भन्ने सोच आएन। कति आफ्ना नाता गोता अमेरिकामा नै छन्।
अमेरिका आउने हैन भनी बेला बेलामा जिस्क्याइ रहन्छन्। म भन्छु “अमेरिकामा मान्छे मर्छ कि मर्दैन? अमेरिकामा खाना खानु पर्छ कि पर्दैन? अमेरिकामा मान्छे विरामी पर्छ कि पर्दैन? के अमेरिकामा काम नगर्दा पनि हुन्छ?” यावत प्रश्नहरुले आफन्तलाई चिट चिट पसिना आउने त बनाउँछु नै। तर उनीहरु भन्छन्, “अमेरिकाको लाइफ स्ट्यान्डर अर्कै छ के। एक चोटी आएर त हेर।”
तर मैले अमेरिका जाने सोच बनाएकै छैन। आर्थिक अवस्था कमजोर छ। अनि कहाँ जान्छ? भन्दा हुन मान्छेहरु। आर्थिक अवस्थाको कुरा होइन। यो त सोचको कुरा हो। जानै परे बल, छल, कल गरेर भए पनि जाइन्छ।
अमेरिकामा पनि मरिन्छ भने, किन जाने अमेरिका? अजम्बरी त हैन रहेछ। कमसे कम आफ्नै देशमा मरुँ न। मेरो कुरा मान्छेहरु मर्मै नबुझी हाँसोमा उडाउने प्रयत्न गर्छन्। आफ्नो आमा भनेको आफ्नै आमा हो नि। सौतेनी आमाले जति सुकै प्यारो गरे पनि आमाको काख जस्तो कहाँ हुन्छ र?
बेरोजगार शिक्षित युवाहरु भौतारिनु बेग्लै कुरा हो। उच्च शिक्षाका लागि जानु बेग्लै कुरा हो। यहाँ त स्थायी जागिरेहरु, अधिकृत, सचिव, डक्टर, इन्जिनियर, पाइलट, नर्स, वकिल र प्राध्यापक समेत भौतारि रहेका छन्।
कहिले र कसरी अमेरिका जाने भनेर दौड धुपमा छन्। एक चोटी पनि लोक सेवा नदिइ रोजगारै पाइएन भन्नु न्याय संगत हुन्छ र? देशै छोडेर पलायन हुने, के यहि हो त हाम्रो राष्ट्रियता? के यहि हो त हाम्रो राष्ट्रबाद।
सुन्दरहरैंचा–६, दुलारी,मोरङ
Facebook Comment