नियात्रा : ताङतिङको सुन्दरता
“मार्गशीर्ष शुभे मासी यायाद्धात्रा महीपति” मनुस्मृतिमा उल्लेख यस भनाइबाट के स्पष्ट हुन्छ भने यात्राको अर्थ गति हो। नियात्रालाई यात्रा साहित्य, यात्रा वृत्तान्त, यात्रा वर्णन, यात्रा संस्मरण भनेर पनि चिनिन्छ।
यात्राका क्रममा देखिएका तितामिठा, राम्रा नराम्रा, अनुभव, भोगाइलाई जस्ताको तस्तै वर्णन गरिएको हुन्छ। हामी मानिसलाई पुस्तकका कुराले मात्र पुग्दैन। त्यसबाट सिक्न थाल्यौं भने व्यवहारिक ज्ञान नहुने रहेछ।
हाम्रो जीवनलाई अनुभवमुखी, स्मरणीय बनाउनका लागि पनि यात्राका क्रममा देखिएका हरेक घटनाले सकारात्मक, मनोरञ्जन, दिएर कुनै पनि ठाउँको भाषाशैली, रहनसहन, भेषभुषा , जीवनशैली, संस्कृतिलाई नजिकैबाट बुझ्न पनि यात्राको महत्त्वपूर्ण भूमिका रहन्छ।
गण्डकी प्रदेशको कास्की जिल्लाको मादी गाउँपालिकको ताङतिङ “प्रकृति र संस्कृतिमा धनी ताङतिङ गाउँ” को अवलोकनीय भ्रमणमा जाने निर्णय गर्याैं। यात्राको लागि कालिगण्डकी कोरिडोरको बाटो हुँदै जाने निर्णय गर्याैं।
२०८० साल कार्तिक २ गते १९ जना शिक्षक साथीहरू बिहान ५:३० मा गाडी चढी यात्राका लागि प्रस्थान गर्याैं। गण्डकी प्रदेश, कास्कीको मादी गाउँपालिका वार्ड नं. २ को ‘ताङतिङ’ का लागि नव निर्मित सडक कालिगण्डकी कोरिडोर को पहाडी बाटो हुँदै उकालो लाग्यौं।
गैंडाकोट नगरपालिका हुँदै हामी ढोडेनी बाट अगाडि बड्यौं। त्यहाँको मुख्य अन्नबालीमा कोदो, मकै, फापर, अदुवा रहेछ। त्यसपछि हामी बुलिङटार गाउँपालिका अन्तर्गतको डेढगाउँमा रहेको अकला देवीको मन्दिर दर्शन गर्याैं। धार्मिक आस्था बोकेकी देवी जहाँ मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको पायौं।
अकला देवीको दर्शन पश्चात् चिया खाजा खाई पुन: यात्रालाई निरन्तरता दियौं। त्यहाँको मुख्य अन्नबालीमा धान खेती, कोदो, मकै, भटमास रहेछ। लहलहाउँदो धान खेतीले हाम्रो मननै लोभ्यायो। सिंचाइको राम्रो सुविधा भएकाले धान खेती राम्रो पायौं।
धान पाकेर पहेँलो भई सकेको थियो। पिच सडक, रमाइलो बस्ती , साना ठूला बाक्ला घरहरु थिए। यात्राकै क्रममा डेढगाउँको एउटा बाख्रा फामबाट एउटा पाठो किनी प्राकृतिक आनन्द लिँदै उकालो लाग्यौं। पहाडी घुमाउरो अत्यन्त साँघुरो बाटो उकाली ओराली गर्दै अगाडि बढ्यौं।
यात्राकै क्रममा घिरिङ गाउँपालिका जहाँ अत्यन्त पातलो बस्ती, न्यून जनसंख्या रहेको पायौं। कच्ची, साँघुरो, घुमाउरो बाटो थियो। बाटो छेउका घरहरुको भग्नावशेष मात्र थिए। धेरैजसो घरमा ताला मात्र झुन्डिएका थिए। त्यो देख्दा लाग्छ, विभिन्न असुविधाका कारण त्यहाँका मान्छेहरु घर छाडेर अन्यत्र बसाइँसराइ भई गइसकेका रहेछन् जस्तो आभास भयो।
त्यहाँको मुख्य अन्नबालीमा कोदो, मकै, मास, भटमास हुने रहेछ। त्यस ठाउँमा पानीको असुविधा रहेछ। यात्राकै क्रममा हामी भिमाद नगरपालिका पुग्यौं। भिमाद चाहिँ अलि विकसित त्यहाँका बाटो कहीँ पिच त कहीँ कच्ची रहेछ। घरहरु पनि वाक्ला, जनसंख्या पनि बढी रहेको पायौं।
पक्की घरहरु, विकसित परिवेश प्रकृतिको काखमा रहेको भिमाद अत्यन्तै मनमोहक पायौं। अन्नबालीमा मकै, कोदो अदुवा भटमास हुने रहेछ। उच्च पहाडी भेगमा अवस्थित भिमादले हामी सबैको मन लोभ्यायो। त्यहीँको एक होटलमा खाना खायौं त्यसपछि पोखरातर्फ अगाडि बढ्यौँ। पोखराको अमरसिंह चोकबाट सिधै माथि लाग्यौं।
बाटो बिराएर हामी पश्चिम तर्फ सिक्लेसतिर लागेको पत्तै पाएनौं। करिब ३० मिनेट उकालो चढेपछि हामी पुन: तल झर्याैं। पोखराको काहुँखोलाबाट बसमा करिब ४:०० घन्टाको ठाडो उकालो बाटो लाग्यौँ। पहाडी, घुमाउरो , कच्ची , एकतर्फी बाटो अत्यन्त साघुँरो बाटो रहेछ।
आफ्नो ज्यान लाई नै धरापमा राखेर अत्यन्तै जोखिमपूर्ण यात्रा गरी रह्यौं। कहीँ कहीँ स-साना घरहरु , बिचमा हाइड्रोपावर , एकातिर पहाड अर्कोतिर मादी खोला बगेकी छिन्। बेलुका ५:०० बजे बाट बसको यात्रा गरी राती ९:०० हामी ताङतिङ गाउँ पुग्यौं।
ताङतिङ गाउँको अर्थ नै रमाइलो गाउँ हुन्छ। कास्की जिल्लाको गुरुङ समुदाय रहेको त्यो गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबले अत्यन्त धनी गाउँ रहेछ। त्यहीँ गाउँ हुँदै पर्यटकहरु हिउँ खेल्न , लालीगुराँस हेर्न र प्रत्यक्ष हिमालसँग नजिक हुन नौचुडाँडा क्रबुडाँडा र चोरोडाँडा हुँदै घुम्ने रहेछन्।
हिमालको उज्यालो झलमल ताङतिङ गाउँ अत्यन्तै रमणीय छ। गण्डकी प्रदेशको कास्की जिल्लाको पहाडी क्षेत्र , मादी गाउँपालिका-२ मा अवस्थित समुद्री सतहबाट करिब १७०० मिटरको उचाइमा रहेको छ।
यसको पूर्वमा लमजुङ जिल्लाको क्लोहासाँथर र मस्र्याङ्दी गाउँपालिका पर्दछ। पश्चिममा सिक्लेस , पार्चे, खिलङ र ताप्राङ गाउँ पर्दछ। उत्तरमा मनाङ जिल्लाको चामे र निस्याङ भ्याली पर्दछ भने दक्षिणमा कास्कीका याङ्जाकोट , सैमराङ लगााएतका गाउँहरु पर्छन्।
ताङतिङमा २०० घरहरु छन भने जनसंख्या १००० रहेछ। ढुंगा र टिनका छाना भएका चिटिक्कका झुरुप्प सुन्दर बस्ती छ। त्यहाँ ९५ प्रतिशत गुरुङ बस्ती र बाँकी दलित मिलेर बसेका छन्। प्रकृति र संस्कृतिको सङ्गम गाउँ अत्यन्तै आकर्षक छ। ताङतिङको फेदीबाट मादी नदी बग्छिन्।
गाउँबाट अन्नपूर्ण , लमजुङ हिमाल छर्लंग देखिन्छन्। हिमालको हिउँ पहिरो, पारिपट्टि सिक्लेस गाउँको सिरानमा हिमाल मुस्कुराएको देख्दा आनन्द लाग्छ। त्यहाँका मानिसहरुपनि त्यस गाउँ जस्तै उज्याला, फरासिला , सहयोगी र राम्रो संस्कार भएका रहेछन्।
ग्रामीण जीवनशैली , गाउँलेको मुख्य पेशा कृषि , पशुपालन , वैदेशिक रोजगार र पर्यटन व्यवसाय रहेछ। घरायसी उत्पादनका सामग्रीहरु तयार गर्ने रहेछन्। सामुहिक भावना भएका मानिसहरु कोदो रोप्दा, दाउरा खोज्दा, विकासका काम मिलेर गर्दा रहेछन्।
गुरुङ भाषा , कला संस्कृति , परम्परा र रहनसहनका हिसाबले ताङतिङ एउटा खुल्ला सङ्ग्रालय रहेछ। आफ्नो संस्कृति झल्कने होटल, होमस्टेका आँगनमा मौलिक वेशभुषामा सजिएर घाटु नाच, झ्याउरे, सोरठी र ठेटर नाच देखाउने गर्दा रहेछन्। स्थानीय उत्पादनलाई खानामा विशेष जोड दिने रहेछन्।
हामी त्यहीँ गाउँका गणेश बहादुर गुरुङको होमस्टेमा बस्यौं। रात्रीको समयमा हामी शिक्षक साथीहरू आगो बालेर वरिपरि तापसँगै प्रकृतिको आनन्द लिदै बस्यौं। हामीले खाना ११:४५ मा खायौं र सुत्यौं। भोलिपल्ट बिहान ५:०० बजे सबैजना चिया नास्ता खाई कोही उकालो ट्रेकिङमा त कोही झर्ना हेर्न सेल्फी डाँडा तर्फ लाग्यौ।
हामी पदयात्राका क्रममा नौचुडाँडा तर्फ करिब २:०० घन्टाको ठाडो उकालो लाग्यौं। हामीलाई बाटो देखाउदै त्यहाँका विशेषताहरु बताउन गणेश दाइसँगै हुनुहुन्थ्यो। उहाँले हामीलाई हिँड्न सहज होस् भनि सबैलाई एक- एक ओटा लौरो काटिदिनु भयो।
गणेश दाइको पछि पछि हामीसबै ठाडो उकालो लाग्यौँ। चारैतिर घना जंगल बिचमा सानो साघुँरो खच्चड हिड्ने बाटो थियो। हामीहरु त्यहीँ बाटो उकालो लाग्यौं। चारैतिर लालीगुराँसका बोटहरु , सिलटिमुरका बोट लगाएत विभिन्न औषधिजन्य जडिबुटीका बोटहरुका बिच घुमाउरो बाटो, चराचुरुंगीका आवाज, किराहरुको आवाजको आन्नद लिदै, सुनसान जंगल तर्फ अगाडि बढ्यौं।
हामी नौचुडाँडा पुग्यौँ। त्यहाँबाट प्रत्यक्ष अन्नपूर्ण हिमाल , माछापुच्छ्रे हिमाल, हिमश्रृंखलाको अवलोकन गर्याैं प्रकृतिसँग केहीबेर रमायौँ। त्यो जंगलको ऐतिहासिक क्षेत्र, धार्मिक वन भएको मान्यता रहेछ। शिकारी चराहरु, ध्वाँसे चितुवा, थार आदि जंगली जनावरहरु त्यस जंगलमा हुने रहेछन्। हिमाललाई नजिकैबाट नियाली सकेपछि हामी केही तेर्सो उकालो बाटो लाग्यौं।
केही माथि पुगेपछि ढु्ङ्गाले बच्चा जन्माउने ठाउँमा पुग्यौँ। गणेश दाइको भनाइ अनुसार त्यहाँ पहिला जम्मा दुई ओटा ठूला ढुंगा थिए रे ? त्यसपछि क्रमशः एक पछि अर्को गर्दै अहिले साना ठूला गरी ४०/५० ओटा ढुंथा रहेको हामीले प्रत्यक्ष देख्यौं र सोही कुराको जानकारी पनि पायौं। त्यसपछि हामी अर्को बाटो ओरालो झर्दै होमस्टे तर्फ लाग्यौं। करिब १०:३० मा हामी होमस्टेमा आई खाना खायौं।
त्सपछि ११:०० बजे हामी गाडी चढी त्यहाँबाट पोखराको फेवाताल तर्फ लाग्यौँ। फेवातालको बिचमा रहेको तालबराही मन्दिरको दर्शन गर्न डुङ्गा चढी गयौँ। वराही मन्दिरको पुन: निर्माणको क्रममा काम भई रहेको रहेछ।
पुरानो मन्दिर भत्काएर नयाँ संरचनाका लागि आर्थिक संकलन , सहयोग , भौतिक संरचना निर्माण कार्य हुँदै थियो। हामीले देवी भगवतीको दर्शन गरी त्यहाँबाट करिब ४:०० बजे ताल बाहिर आयौं।
पोखरामा खाजा खाई करिब ६:०० बजे हामी घर तर्फ फर्कन मुग्लिनको बाटो हुँदै आयौं। बिच बाटोमा गाडी बिग्रेको कारणले केही ढिलो भयो। करिब ११:४५ मा खाना खाई हामी बिहान ३ : ०० बजे सकुशल घर आई पुग्यौँ।
नेपालमा भएका यस्ता नेपाली गौरव बोकेका संस्कृति एवम् प्रकृतिले भरिपूर्ण गाउँको सबैले अवलोकन गर्नु आवश्यक छ। अहिलेका विद्यार्थीहरुलाई प्रविधिमैत्री मात्र बनाउँनु हुदैन्। तिनीहरुलाई यस्ता संस्कार, संस्कृति र प्रकृतिसँग पनि परिचित गराउनु पर्छ।
खुल्ला प्रकृतिसँग रमाएर प्रत्यक्ष अनुभव गराई व्यवहारिक सिकाइ गराउनु पर्छ। अनि बल्ल भावी पिँढीको चौतर्फी विकास हुन्छ। तिनीहरुमा नेतृत्व विकास, संस्कृति र परम्परासँग गहिरो लगाव हुन्छ।
तिनीहरूलाई प्रविधिक ज्ञान सँगसँगै व्यहारिक ज्ञान दिनुपर्छ। नेपाल एक बहुधार्मिक, बहुसांसकृतिक, बहुभाषिक , बहुजातीय परम्पराले सुसस्जित एक समृद्ध मुलुक हो। यो सबैको साझा फूलबारी हो।
राज्यबाट यस्ता स्वदेशी पर्यटकीय स्थललाई प्रवर्द्धन र संरक्षण गर्नु आवश्यक छ। विकासका पूर्वाधारहारु पुन्याई स्वदेशी तथा विदेशी पर्यटनलाई आवतजावतमा सहजता प्रदान गर्नुपर्छ। जस्ले गर्दा आय आर्जन गर्न सकिन्छ। पक्की सडक , दोहोरो गाडी गुड्ने ,बाटो फराकिलो बनाउनु पर्छ।
सडक बिस्तारका लागि सरोकारवालाको ध्यान जानुपर्छ। नेपालका यस्ता पर्यटकीय , धार्मिक, सांस्कृतिक , ऐतिहासिक, प्राकृतिक महत्त्व बोकेका विभिन्न सम्पदा , गौरवलाई नेपालमा मात्र नभई विश्वका हरेक कुनामा पुन्याउन आवश्यक छ।
Facebook Comment