डोनाल्ड ट्रम्पको विजय र युद्ध संसारको आलोक

शंकरप्रसाद रिजाल
२९ कार्तिक २०८१ ७:२१

अमेरिकाका ४७ औं राष्ट्रपतिमा पुनः विजयी भएका डोनाल्ड ट्रम्पको विजय ऐतिहासिक पृष्ठभूमिको महत्वपूर्ण आयाम मानिन्छ।

किनकि उनी २०१६ मा राष्ट्रपति भई ४ बर्षको कार्यकाल समाप्त गरी २०२० को अर्को चुनाबमा जो बाइडेनसँग पराजित भई पुनः यो २०२४ को चुनाबमा अत्यधिक मत ल्याई राष्ट्रपतिका महिला उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई परजित गराई पुन राष्ट्रपति पदमा विजयी हुन सफल भए।

यसरी पुनः विजयी हुने अमेरिकाको झन्डै १३० वर्ष पछिको इतिहासमा पहिलो यही भएकोले यसलाई ऐतिहासिक विजयको रुपमा लिने गरिन्छ। उनको यो विजय पश्चात उनले आफ्नो भाषणमा हाल संसारमा चलिरहेको युद्धको संसारलाई अन्त्य गर्ने बलशाली घोषणा गरेका छन्।

साथमा अमेरिकी उत्पादनमा करको व्यापक कटौती गर्ने र देशभित्र रहेका साना बच्चाहरु र बृद्ध बाबुआमाहरुको राम्रो सेवा गर्ने संस्थाको पुनःस्थापना र पुनरुत्थान गर्ने अर्को उद्घोष गरेका छन्।

यसको साथै अमेरिका भित्र बर्षौंदेखि बिना भिसा लुकीलुकी अबैध रुपमा बस्ने करिब ३५-४० लाख आप्रबासी विदेशीहरुलाई देशबाट बाहिर धपाउने आर्को ठूलो कदम लिने कुरा पनि व्यक्त गरेका छन्।

तर, उनको विजयको साथसाथै उनीमाथि मडारिरहेको विश्व भूराजनीतिक परिस्थिति र आफ्नै देशभित्र चलिरहेको राजनैतिक र आर्थिक अवस्थासँग जुधेर जान उनलाई अहिलेको परिप्रेक्ष्यमा निकै कठिन हुने कुरा आंकलन गर्न सकिन्छ।

किनकि अमेरिकामा भित्री रुपमा नदेखिने एक अर्को ‘डीप स्टेट’ छ जसले समस्त अमेरिकाको राजनैतिक, आर्थिक र सामाजिक पक्षलाई बलियो पकडमा राखी अमेरिकाको नीति र नियमसँग बराबरी गरिरहेको देखिन्छ।

राष्ट्रपतिमा विजयी हुनुभन्दा अगाडि नै उनलाई सफाया गर्न पूर्व राष्ट्रपति जस्तो व्यक्तिलाई दुई पटक गोली हान्नु भनेको कुनै ठट्टाको कुरा होइन। यस्तो गहिरो कुरा थाहा पाएरै होला, उनको चुनाबी अभियानमा अरबौं डलरको साथ र सहयोग गर्ने अमेरिकाका एलन मस्कले पनि डोनाल्ड ट्रम्पको हार भएमा उनको जीवन असुरक्षित हुने कुरा पहिले नै व्यक्त गरिसकेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्प अलि फरक विचारधाराका भएकाले अमेरिकाको नशा नशामा फैलिएको ‘डीप स्टेट’का पक्षधरहरुले उनको काम कारवाही र अभियानमा निकै बाधा पुर्याई उनलाई वाक्क र दिक्क बनाउन पनि पछि नपर्ने आंकलन गर्न सकिन्छ।

आज अमेरिकामा लालकिल्ला निर्माण गरी सत्ताराज र आर्थिक मामिलामा रजगज जमाई बसेका यी डीप स्टेट समूहका जत्थाहरुसँग जुधेर अमेरिका बनाउन निकै कठिन छ भन्ने कुरा आंकलन गर्न सकिन्छ।

आज त्यही समूहमा फसेर राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो कार्यकालमा युद्ध चर्काउने, आर्थिक अवस्था तल झार्ने र जातीयता विभेद ल्याउने जस्ता कुराहरु गर्न लगाई अमेरिकाको स्तर उन्नतिमा ह्रास आउन दिएको कुरा प्रष्ट छ।

त्यसै कारण डोनाल्ड ट्रम्प बिग्रेको अमेरिकालाई पुनः निर्माण गरी अमेरिकालाई उच्च स्तरमा पुर्याई अमेरिकालाई सधैं प्रथम तहमा राख्नु पर्छ भन्ने अत्यन्त राष्ट्रप्रेमी भाषण र बाचा गरेका छन्।

यसका साथै उनले हाल अमेरिकाको नेतृत्व र सहयोगमा मिडिल इष्ट, इजरायल-लेबनान युद्ध, रसिया र युक्रेनको लामो युद्धले हजारौं संरचनाको सर्वनाश र जनधनको क्षति भएकोले यसलाई रोक्न ठूलो प्रयास हुने छ भनी आफ्नो विशेष भाषणमा व्यक्त गरेको कुरालाई आजको युद्ध ग्रसित देशहरु र युद्धप्रति घृणा प्रकट गर्ने विभिन्न युरोपका देशहरुले स्वागत गरेका छन्।

युरोपको बर्षौंदेखिको अत्यन्त राम्रो र हेर्न लायकको सहर र बाग बगैंचा युद्धले पुन खरानीमा परिवर्तन हुनेमा ती देशका राष्ट्र प्रमुखहरुको चिन्ता छ। उनीहरुको भनाई अनुसार अब अमेरिकाले विगतमा जस्तो युद्ध र आक्रमणलाइ लत्याई आफ्नो देशमा शान्ति र उन्नति आफैंले गर्नु पर्ने कुरामा जोड दिएका छन्।

आज अमेरिकाको सबै कुरामा कसको पकड रही आएको छ भन्ने कुरा खुल्दै आएको छ। समग्रमा डोनाल्ड ट्रम्पको विचारधारा अत्यन्त सारगर्भित भएता पनि अमेरिका भित्र मडारिरहेको डीपस्टेटको शक्तिशाली पकडले उनले गरेका वाचाहरु पूरा गर्न हम्मे-हम्मे नै पर्ने देखिन्छ।

अतः डोनाल्ड ट्रम्प बचामा कटिबद्ध रहे पनि कार्यान्वयन पक्षमा भने उतारचढाब आइरहने पक्का छ। किनकि यो संसारलामा सत्यले भन्दा असत्यले आधिपत्य जमाइरहेको प्रष्ट देखिन्छ।

यस्तो परिस्थितिमा विश्व ध्रुवीकरणको हुरीमा डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथिको सैनिक आक्रमण र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाइ आफ्नो साथमा ल्याई युद्ध शान्त गर्ने भन्ने कुरा भन्न सजिलो भएपनि गर्न अत्यन्त गाह्रो देखिन्छ।

यस्तो परिस्थितिमा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले जादुको छडीले जस्तो सम्पूर्ण युद्धलाई साम्य पार्न कुनै दैवी शक्तिको हात रहेमात्र सम्भव देखिन्छ। अन्यथा यो कुरा गाह्रो र सकसपूर्ण रहने कुरा निश्चय छ। उनलाई संसारलाई आफ्नो बशमा राख्न सकिन्न भन्ने कुरा पनि थाहा छ।

त्यसैले उनले आफ्नै देश अमेरिकालाई ‘अमेरिका फर्स्ट’ बनाई संसार हल्लाउने बाचा गरेका छन्। अतः अमेरिका पुनर्निर्माण गर्नु छ भने डोनाल्ड ट्रम्पले नेटो संगठन शक्तिलाई साम्य पार्ने, पुटिन र नेतन्याहुसँग राम्रो सम्बन्ध राखी मित्र भारत र चीनसँग पनि सुमधुर सम्बन्ध कायम गरी आजको संसारमा उदाहरणीय राष्ट्रपति बन्न सक्ने ठूलो मौका मिलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *