विकृति विसंगती नियन्त्रण गर्न सरकार दृढ संकल्पित: सञ्चारमन्त्री गुरुङ
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज र राजनीतिक क्षेत्रमा देखिएको भ्रष्टीकरण र अपराधीकरण रोक्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताएका छन्।
मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजि पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले समाजमा देखिएका गलत कार्यको रोकथाम तथा नियन्त्रण गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले भने, ‘हाम्रो समाज र राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सद्भावलाई भत्काउने, सामाजिक, सांस्कृतिक सहअस्तित्वलाई नकारात्मक असर तुल्याउने क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन।’
कोशी प्रदेशका कानूनमन्त्रीमाथि अघि बढाइएको कारबाही एउटा संकेत भएको बताउँदै मन्त्री गुरुङले अगाडि भने, ‘गलत क्रियाकलापमा संलग्न हुने जो कोही भए पनि छुट पाउँदैन। गल्ती गर्नेले सजाय पाउनैपर्छ। यस्ता गलत क्रियाकलाप विस्तारै अन्त्य हुन्छ।’
Facebook Comment