‘प्रदेशका नीति तथा प्राथमिकतामा स्थिरता आवश्यक’

डिसी नेपाल
२६ कार्तिक २०८१ २३:३२

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था र प्राथमिकतामा स्थिरता आवश्यक रहेको बताएका छन्। उनले अल्पमत र बहुमतका आधारमा कार्यपालिका परिवर्तन हुने शासकीय प्रणाली रहेकाले सरकारको दृष्टि, उद्देश्य र लक्ष्य प्राप्तिका लागि स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र क्रियाशील हुनुपर्ने उल्लेख गरे।

सुशासन र संघीयता कार्यान्वयनमा मधेस प्रदेशको अवस्थाबारे हाम्रो भिजन मिडियाले गरेको अध्ययनको सारसंक्षेप प्रस्तुतीकरण कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा बोल्दै उनले भने, ‘एउटा सार्थक र परिमाणयुक्त गन्तव्यमा सरकार पुग्नुपर्छ। त्यसक्रममा मैले के गरेँ र ती काम गरिरहँदा आत्मसन्तुष्टि भयो कि भएन भन्ने कुराको समीक्षा राजनीतिक नेतृत्वसँगै कर्मचारीले पनि गर्नुपर्छ।’

उनले अध्ययनका क्रममा देखिएका कमीकमजोरीबारे समीक्षा गरी तिनलाई सच्याउन विभिन्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन्। मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने भन्दै भूगोललाई नभई जनसङ्ख्यालाई सेवा पुर्‍याउनुपर्ने बताए।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनसिंह कोइरी, विभिन्न मन्त्रालयका सचिवलगायतले आआफ्ना धारणा राखेका थिए। अध्ययन प्रतिवेदनमा प्रदेशको समृद्धिका लागि राजनीतिक एकता, नीतिगत स्थिरता, सामूहिक प्रतिबद्धता, कर्मचारीहरूमा उच्च उत्प्रेरणा र इच्छाशक्ति, आवश्यकताका आधारमा कार्यक्रम निर्माण गरिनुपर्ने लगायतका सुझाव दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *