आज एमाले नेताहरूको विशेष टोली चीन जाँदै

डिसी नेपाल
२७ कार्तिक २०८१ ७:५०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै छ।

एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्व-उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय भ्रमण टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमाले नेताहरूको टोली चीन भ्रमण गर्न लागेको बताइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तामा जान लागेको एमाले टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी छन्। त्यस्तै, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसमेत भ्रमण दलमा छन्।

भ्रमण टोलीमा प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मीसमेत छन्।

आज चीन प्रस्थान गर्ने टोलीको पहिलो कार्यक्रममा नाम्जिङमा रहेको छ। सेकेण्ड ग्लोबल साउथ थिंक ट्यांक फोरममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको विदेश विभाग सदस्य श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार त्यसपछि बेइजिङमा उच्च भेटघाट हुनेछ। भ्रमण टोली करिब दुई सातापछि स्वदेश फर्किनेछ। प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको भ्रमण भए पनि यो कार्यक्रम भने पहिले नै तय भएको एमालेले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *