अब सबैको जन्मदिन मनाइन्छ ……
नतिले मेरो ह्याप्पाी बर्थ डे भोलि हो भनेपछि मैले आफ्नो बिगत सम्झें। जीवनका झण्डै पैंंतालीस वसन्त नकाटुन्जेल आफ्नो जन्मदिन कहिले आफूलाई अत्तोपत्तो केही थिएन। जन्मदिनको शुभकामना पनि कसैले भन्दैन थे थाहा भए पो भनुन्।
जुकर बर्गलाई यस अर्थमा धन्यवाद दिनुपर्दछ। उनैले गर्दा अचेल जन्मदिन आएको पनि पहिले नै थाहा हुन्छ। जन्मदिनका दिन आफूले स्ट्याटस हाल्नै पर्दैन जुकर बर्गको योगदानले गर्दा कैयौं साथीहरुले कसैले शब्दका माला त कसैले फूलका गुच्छा पठाएर दंग पारिदिएका हुन्छन्।
ती सब देखेर मेरी श्रीमती सपना मलाई भन्छिन् त्यत्रा मानिसले जन्मदिनको शुभकामना भनेर फूलगुच्छाहरु पठाएका छन् शब्दका उपहारहरु पठाएका छन्, सबैलाई लाइक गरी धन्यवाद दिन त बिर्सन हुँदैन नि।
अनि म उनको माथवर बनेर फेसबुक खोलेर मलाई ककसले शुभकामना पठाएका रहेछन् , कससले लाइक कमेन्ट गरेका रहेछन् भनेर हेर्छु। जन्मदिनमा शुभकामनाका पुष्प हार पठाएर शुभेच्छाका मीठा शब्दोपहार दिने आफन्त तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद लेख्ने गरेको छु।
हिजोआज भने मेरा नाति नातिनाको जन्मदिन आउनुभन्दा एक साता अगाडिदेखि घरमा तामझाम सुरु हुन्छ। जन्मदिनका लागि उपहार , केक र सजावट आदि विषयमा निकै छलफल हुने गरेको देख्छु।
मैले आफ्नो विगतलाई सम्झिएँ। हाम्रा घरमा हाम्रा बाआमाका हामी एक दर्जन छोराछोरी थियौं। दुईजना आमा र बा गरी तीनजना हाम्रा अभिभावक हुनुहुन्थ्यो।
आमाबालाई समेत हाम्रो जन्मदिन याद हुँदैन थियो जस्तो लागछ। कहिले आउँथ्यो कहिले जान्थ्यो , अत्तोपत्तो केही थिएन। अरुबेला हामी सानी आमा सबैका जन्ममिति फटाफट भन्ने गर्नुहुन्थ्यो।
एकदिन मैले सानी आमालाई सोधें “आमा , मेरो जन्ममिति तपाईंलाई थाहा छ ?”
“२०११ साल भदौ ३ गते बिहीबारको होस् तँ !” सानी आमाले त्यसैबेला प्वाक्क भन्नुभयो।
जन्मदिनका दिन अरु तामझाम केही हुँदैन थियो तर बाले पूजा गर्दा अष्टचिरञ्जिवीको पूजा गरिदिनुहुन्थ्यो रे आमाले भन्नुभएको। तर बत्ती बालेर झ्याप्प निभाउने , ह्याप्पी बर्थ डे टु यु भन्दै थपडी बजाएको, केक काट्नुपर्छ भन्ने कुरा त कहीँकतै सुनेको पनि थिएन त्यसबेला। न सपनामा थियो न बिपनामा।
अचेल समय परिवर्तन भएको छ , अचेल त हाम्री छयासी वर्षकी आमाको पनि जन्मदिन मनाइन्छ। आमाको फेस बुक छ। आमाको म्यासेन्जर र भाइबर छ। आमालाई आठ भाइ छोरा र चारजना छोरीका नातिनातिना र पनातिपनातिनाहरुले पनि सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामनाका गुच्छा चढाउँछन्।
आमा पनि जन्मदिनमा बिहानै उठी नुहाइधुवाई गरेर आफ्ना राज्जीको पूजा अर्चना गरी निदारमा टीका लगाएर हातमा मोबाइल बोकी शुभकामना दिनेहरुलाई आशीर्वाद दिने गर्नुहुन्छ। फेस बुक हेर्नुहुन्छ अंग्रेजीमा लेखिएको नाम पढ्न नसकेपनि फोटो हेरेर कसकसले शुभकामना दिए पढ्नुहुन्छ।
आफ्ना छोराछोरी नाति नातिना मध्ये कसैले शुभकामना लेखेनछन् भने , फलानाले केही लेखेनछ , उसलाई सन्च छैन कि भनेर सूर्ता मान्नुहुन्छ। सबैका शुभकामनाहरुलाई कमेन्ट नगरेपनि लाइक गर्नुहुन्छ। छयासी सतासी वर्षको उमेरमा पनि आमाले आधुनिक विज्ञानका नवीनतम् कोसेलीको को स्वाद चाख्न पाउनुभएको छ।
केही दिन अघि उहाँको जन्मदिन थियो, मैले अमेरिकाको टेक्सासबाट शुभकामना दिन म्यासेन्जरमा कल गरें। आमाले उठाउनु भयो। के भन्नुहुन्छ भनेर मैले पहिले आफ्नो अनुहार देखाएको थिइन।
आमाले भन्नुभयो “होइन तँलाई त देखिएन त बाबू, फेस टाइम गरौंन हो” आमाको आदेशपछि मैले भिडियो अन गरें, लाग्यो, आमा कति कुरा जान्ने हुनुभयो। जीवनभरि ढिकीजाँतो, घाँस, दाउरा, मेलापातले क्लान्त भएकी हाम्री आमा अचेल मोबाइलमा फेस टाइममा कम्यनिकेसन गर्नुहुन्छ।
मैले आमालाई जन्मदिनको शुभकामना दिएँ भने “आमालाई राज्जीले रक्षा गर्नुहोस् , प्रार्थना छ।” आमाका मनपरेका भगवानको नाम लिएकोमा आमा निकै खुसी हुनुभयो। आमाले भन्नुभयो “तिमीहरुलाई मेरो धेरै धेरै आशीर्वाद छ।
तिमीहरु सबैलाई राज्जीले रक्षा गर्नुहुन्छ। मेरा बाह्रजना छोराछोरी सबै उस्तै हुन्, मलाई सबैको बराबर मायाँ लाग्छ। हामी बाबुआमाले कहिले पनि कुनै छोराछोरीलाई काखापाखा गरेनौ। बाह्रजनामा माइला र मिठे गइहाले उनीहरुका ठाउँमा म पो जानुपर्ने थियो, भनेर नहुने रहेछ।”आमाले एकै सासमा धेरै कुरा भन्नुभयो।
मैले भने “त्यसो भनेर कहाँ हुन्छ , हाम्रा बा र आमा स्वर्ग गएपनि हामीलाई आशीर्वाद दिने तपाईं हुनुहुन्छ। तपाई पनि जानुभयो भने त्यसबेला हामी साँच्चैका टुहुरा भइहाल्छौं नि आमा, बाह्र जनामध्ये दसजना त तपाईंका छोराछोरी छँदैछौ नि, हामीलाई तपाईंको आशीर्वाद चहिरहन्छ। त्यसो नभन्नुहोस् आमा !”मैले आँखाभरि आँसु पारेर भने।
“ होइन , यो त रुन पो थाल्यो त, किन रुन्छस्, मलाई केही हुँदैन। नरो। ” आमाले कुराको प्रसंग बदल्दै भन्नुभयो “तेरो कपाल त निकै फुलेछ कि के हो ? सेतै देख्छु त। आमाले टेक्सासमा भएका मेरो कपाल फुलेको गछियाको बन्दकोठाबाट देख्नुभयो।
मैले भने “कपाल फुलेको छ नि आमा, तपाईंकी बुहारीले कालो लगाइदिन्छिन्, अचेलचाहिं लगाइदिन पाएकी छैनन्।”
आमा कति ख्याल गर्नुहुन्छ हाम्रो। कोही छोराछोरी, नातिनातिना बिरामी परेका खण्डमा उहाँ सपनामा देख्नुहुन्छ।
“तेरो अनुहार अलि अँध्यारो छ त कतै बिरामी त छैनस्?” भन्नुहुन्छ।
कति केयर गर्नुहुन्छ आमा , तब न आमा!
पहिले हाम्रा दुई जना आमा हुनुहुन्थ्यो। दुवैजनाले सबैलाई उत्तिनै माया गर्ने। हामी दुवै जना आमालाई आमा नै भन्थ्यौं।
आमाहरुले पनि हामी छोराछोरीलाई आफ्नो र बिरानो कहिले गर्नुभएन।
अरुका सौता सौता दिनहुँ झगडा गर्थे, कुटाकुट गर्थे, मारामार गर्थे। हाम्रा आमाहरु ज्यादै मिल्ती थियो। उहाँहरुमा मन मुटाव हामीले कहिले देखेनौ। दुवै आमा हस्नुहुन्थ्यो, रमाउनुहुन्थ्यो। घरका सबै काम गर्नुहुन्थ्यो। हामीलाई माया गर्नुहुन्थ्यो।
बिहान सबेरै उठेर हाम्री सानी आमा घर बढार कुँढार गर्ने गर्नुहुन्थ्यो। ढोका, अगेनो चुलो पोत्न, हुन्थ्यो। पँधेरा गएर पानी ल्याउनु हुन्थ्यो। ठुली आमाले खाना पकाउनु हुन्थ्यो। उहाँहरु पहिले हामी एक दर्जन छोराछोरी र बालाई खान दिनुहुन्थ्यो।
अनि मात्र दुवैजना आमा ओर्तिर पर्तिर बसेर गफ गर्दै खानुहुन्थ्यो। खाना खाइसकेपछि एकजना आमा भन्नुहुन्थ्यो “खाइयो है आज पनि।” अर्की आमा सही लगाउनु हुन्थ्यो “खाइयो , खाइयो।”
आमाहरुले त्यसबेला खाइयो आज पनि र खाइयो खाइयो भनेको कुरा झलक्क सम्झँदा त्यतिखेर खानैका लागि पनि अलि दुःखदुःखै पो रहेछ कि जस्तो लाग्छ। उहाँहरुको आफूले दुःख गरेपनि हामीलाई कहिले देखाउनु भएन। सायद त्यो उहाँहरुको महानता ।
खाना खाइसकेपछि ठुली आमा आफ्नो थाल उठाउन खोज्नुहुन्थ्यो , सानिआमा भन्नुहुन्थ्यो “छाडिदिनु न हो दिदी , म छँदै छु नि , भो छाडिदिनु।” उहाँका कुरा सुनेर ठुली आमा जुरुक्क उठेर बाहिर चुठ्न जानुहुन्थ्यो।
सानी आमाले सबै जुठा भाँडाकुँडा भेला पार्नुहुन्थ्यो , माझ्नु हुन्थ्यो। गोठबाट गाईको गोबर ल्याएर भान्समा लोटाउनु हुन्थ्यो। चुलो पोत्नुहुन्थ्यो। माझेर राखेको भाँडा कुँडा थान्कोमुन्को गर्नुहुन्थ्यो।
घर धन्दा सकेर काँइयो, थाक्रो, एैना र सिम्रिकको बट्टा बोकेर बाहिर बरण्डामा निस्किनुहुन्थ्यो। उहाँले ठुली आमाको कपालबाट धागो फुकाएर कपालमा पहिले थाक्रो लगाउनु हुन्थ्यो, अनि काइँयाले कोरी बाटी गरेर रिमिक्क परिदिनिुहुन्थ्यो। निदारमा सिउँदामा सिम्रिक पनि लगाइसकेपछि पहिले सानी आमाले ऐना देखाइदिनुहुन्थ्यो।
अनि ठूली आमाका दुवै गोडा जोडेर आफ्नो टाउको निहुराएर गोडामा ढोगिदिनुहुन्थ्यो। त्यसबेला ठूली आमाले आशीर्वाद दिनुहुन्थ्यो “शौभाग्यवती भएस।”
त्यसपछि सानी आमा आफैं आफ्नो कपालमा थाक्रो लगाउने, काइँयोले कोर्ने गर्नुहुन्थ्यो। आफूले आफैंलाई कोरीबाटी गरेर सिन्दुर, टीका लगाउनु हुन्थ्यो। यो उहाँहरुको दिनचर्या नै थियो।
गाई भैंसी थुप्रै पालेका थिए। घाँस काट्न जानुपर्दथ्यो। सानीआमा आफैं दुइवटा डोका खप्टिएर बोक्नुहुन्थ्यो, मेलामा घाँस काटिसकेपछि ठुली आमालाई पहिले भारी बोकाइदिनुहुन्थ्यो। अनिमात्र आफू बोक्नुहुन्थ्यो।
साँझमा पनि दुवैजना आमाहरु मिलेर सब्जी केलाईकुलाई गर्नुहुन्थ्यो। अनि सानीआमा भित्र पसेर चामल केलाईकुलाई गरेर, दाल चामल पखालपुखुल पारेपछि चुलामा आगो जोरेपछि ठुली आमा भित्र पसेर पकाउनु हुन्थ्यो।
बेलुकाको खाना खाइसकेपछि सुत्ने तरखर हुन्थ्यो। सानी आमा धन्दापात सकेर भित्र पस्नुहुन्थ्यो अनि मालीमा तोरीको तेल लिएर खाटमा सुतिरहेकी ठुली आमाका गोडा पट्टि बसेर गोडामा चिल्लो लगाइदिनुहुन्थ्यो, बल निकालेर गोडा मिच्नुहुन्थ्यो, एक एक गर्दै गोडाका औंला पड्काइदिनुहुन्थ्यो।
ठूली आमा भन्नुहुन्थ्यो “ए भयो , भयो , कति दुःख गर्छेस बजिनी, जा सुत, थकाइ लागिसक्यो तँलाई पनि।”
‘अब सक्न आँटें,’ यति भनेर सानी आमा ठुली आमाका दुवै गोडा जोडर आफ्नो निदारलाई ती गोडामा छुवाएर ढोग गर्नुहुन्थ्यो। उहाँको यो नित्य कर्म थियो।
बा कतै जानु पर्यो भने पनि एकजना आमालाईमात्रै लिएर हिंड्नुहुन्न थियो। दुवैजना आमालाई रातो सारी, रातै चोलो, सिंदुर टिका गरेर बाका अघिपछि लगाएर हिंड्नुहुन्थ्यो। हुन त दुवै जना आमा सौता सौता हुनुहुन्थ्यो।
तर शिशिरवसन्त कथामा बर्णन गरेजस्ता, कुनै कथाका सौता सौताजस्तो उहाँहरुको सम्बन्ध थिएन। नाता सौता सौता नै भएपनि उहाँहरु सँच्चै मिलेका सासूबुहारीको जस्तो ममतामयी नाता सम्बन्धका जुइनाले बाँधिनुभएको थियो।
कान्छी पत्नी बिहा गरेपछि जेठीलाई धेरै लोग्नेहरुले हेला गरेर घरका न घाटका बनाएको कैयौं उदाहरण देखिएका छन्। हाम्रा बाबाट त्यस्तो व्यवहार भएको हामीलाई कहिले महसुस भएन।
बाले लुगाफाटो किनिदिंदा पनि सानीआमालाई भन्दा ठुलीआमालाई पाँच दस रुपियाँ बढी नै महंगो र सानी आमालाई अलि सस्तो किनिदिने गर्नु हुन्थ्यो। यस कुरामा पनि सानिआमाको गुनासो कहिले सुनिएन। सानी र ठुली आमाबीचको प्रेम वरपर छरछिमेकमा पनि चर्चाको विषय हुन्थ्यो। मानिसहरु भन्थे “पण्डित धरणीधरले दुवैजना श्रीमतीलाई कसरी मिलाएर राखेका होलान्।”
सानी आमाका माइतीहरु नजिकै थिए। ठूली आमाका माइती पहाड धनकुटामा थिए। सानी आमा माइत जाँदा पनि ठुली आमालाई समेत लिएर जानुहुन्थ्यो उहाँका माइतमा सानीआमाले भन्दा ठुली आमाले बढी इज्जत र सम्मान पाउनुहुन्थ्यो।
एक पटक तीजको दरखाने दिन थियो। ठुला कान्छा मामा दर खान जाउँ भनेर लिन आउनु भयो। ठुली आमालाई त्यसदिन त्यति सन्चो नभएको हुनाले उहाँले भन्नुभयो “गीताकी आमा, आज मलाई सन्च छैन, तँ मात्रै जा है, म जान्न।” ठुलाकान्छा मामा र सानी आमाले कर गरेपनि ठुली आमा जानुभएन।
ठूलाकान्छा मामाले सानी आमालाई लिएर जानुभयो। एकैछिन पछि सानी आमा फर्केर आउनुभयो।
‘दरै नखाई पो फर्केर आइस् त गीताकी आमा?’ ठूली आमाले सोध्नुभयो।
“मलाई मात्रै देखेर बाआमा दुवैले खोई त ठुली पंडितिनी ? उनलाई सँगै ल्याउँदिनस् भने भो तँ पनि नआइज, जा, कि ठूली पंडितिनीलाई पनि सँगै लिएर आइज भनेर बाआमा दुवैले मलाई त फर्काउनु भयो है।”
सानी आमाका कुरा सुनेर ठुली आमा पनि माइत दरखान जान तयार हुनुभयो। उहाँले बालाई भन्नुभयो “दर पकाएर तयार पारेर राखेको छ, केटाकेटीलाई पनि दिनु आफू पनि खानु, हामी दुईजना त हिँड्यौं है माइततिर।”
यति भनेर दुवैजना आमाहरु रिमिक्क परेर माइत हिंड्नुभएको थियो।
हाम्रा आमाहरुको मेलमिलाप देखेर धेरैले डाहा गर्दथे भन्ने त्यसैबेला सुन्थें। हाम्रा बाका काका नाता पर्ने विद्यानाथ पोख्रेल हाम्रा घरमा आइरहनुहुन्थ्यो। उहाँको औधी ठट्टा गर्ने बानी थियो। उहाँले एकदिन दुवैजना आमालाई जिस्काउँदै भन्नुभयो “ए केटीहो तिमीहरुलाई हामी त सौता सौता , खुव लड्नुपर्छ झगडा गर्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन?”
दुवै आमाले एकस्वरमा भन्नुभयो “लाग्दैन काका, किन झगडा गर्नु!”
उहाँले आमाहरुलाई सोध्नुभयो “तिमीहरुका बुढाले तिमेरलाई पोइसा दिन्छ कि दिंदैन कहिलेकर्हीं? ” उहाँले ठट्यौलो पारामा सोध्नुभयो।
सानी आमाले भन्नुभयो “चाहिएको सामान किनेर ल्याइहाल्नुहुन्छ। हामीलाई दिनुहुन्न।”
“ए त्यो केटाले तिमीहरु दुबैलाई पोइसा दिँदैन? त्यसो भए भरे ऊ आउँछ नि अनि उसलाई तिमीहरु दुवैले पोइसाले, पोइसाले! भन्नुहै।”
“काकाको ठट्टा गर्ने बानी पनि कहिले नजाने भयो।” यति भनेर उहाँहरु दुवैजना आमा मजाले हाँस्नुभएको थियो।
काम नभएका बेला दुवैजना आमा बसेर मजाले गफ गर्नुहुन्थ्यो।
गफका सिलसिलामा एकजना मानिसको घर बिग्रेको कुरा आयो सानी आमाले भन्नुभयो “लोग्नेमान्छे मुलाङ्खरे भनेको त केहो र हौ? बारको काठ त हो नि, घरको थान्कोमुन्को, जतन जगेडा, व्यवहार, लेनदेन सबै महिलाले गर्नुपर्छ, नत्र त घर बिग्रिहाल्छ नि।”
आमाहरुले भन्ने गरेको बारको काठको अझै मलाई रहस्योद्घाटन हुन सकेको छैन।
म विगतका सुन्तला केस्रे सम्झनाहरुलाई एकएक गरी कोट्याउँदै थिएँ।
त्यही बेला मेरो छ वर्षको नाति आविस दैडिएर मेरा नजिकै आयो र भन्यो “हजुरबा, हजुरबा, भोलि के हो थाहा छ?”
“अहँ मलाई त केही थाहा छैन। केहो भोलि?”
“ मेरो ह्याप्पी बर्थ डे हो नि!” उसले आनन्दित हुँदै भन्यो।
अनि म आफू सानै छँदाका विविध कुराहरु केलाउन थालें।
(पूर्व प्रबन्ध सम्पादक गोरखापत्र दैनिक , पूर्व सम्पादक मधुपर्क , मुना , नवऋचा शमी आदि , पूर्व आंशिक प्राध्यापक आरआर क्याम्पस , काठमाडौं )
Facebook Comment