उपनिर्वाचनमा दलहरूबीच तालमेलको प्रयास
काठमाडौं। आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि राजनीतिक दलहरू आन्तरिक रणनीतिमा व्यस्त छन्।
दलहरूको उपनिर्वाचन केन्द्रित गतिविधिले चुनावी सरगर्मी बढाएको छ। २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनदेखि सुरु भएको नेपाली राजनीतिमा चुनावी तालमेलको सिलसिलाले यसपटकको स्थानीय तह उपचुनावमा पनि निरन्तरता पाउने देखिएको छ।
एक्लाएक्लै चुनाव लड्ने घोषणा गरे पनि उपनिर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू फेरि चुनावी तालमेलतिरै उन्मुख देखिएका छन्। सत्तारूढ कांग्रेस र एमालेले पूर्वी रुकुमको पुथा उत्तरगंगामा हुने उपनिर्वाचनमा तालमेलका लागि संवाद थालेका छन्।
मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षका लागि निर्वाचन हुन लागेको छ। उपाध्यक्ष पदका लागि एमालेले केशकुमारी तुलाचन र वडा नम्बर २ को अध्यक्षमा जीवन रोकामगरलाई अघि सारेको छ।
तुलाचन जिल्ला उपसचिव र रोकामगर जिल्ला कमिटी सदस्य हुन्। कांग्रेसले भने उम्मेदवार तय गरिसकेको छैन। दुई दलबीच तालमेल बारेमा छलफल जारी रहेकाले कांग्रेसको उम्मेदवार टुंगिन बाँकी रहेको केन्द्रीय सदस्य मानबहादुर नेपालीले जानकारी दिए।
एक्लाएक्लै लड्दा कांग्रेस र एमालेका उम्मेदवारले जित्न कठिन रहेकाले तालमेलका लागि संवाद जारी रहेको दुवै दलका नेताहरूको भनाइ छ। गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित ११ वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए।
एउटा वडामा कांग्रेस र एमालेबाट दुई वडाध्यक्ष निर्वाचित भएका थिए। माओवादी केन्द्रबाट उपाध्यक्ष निर्वाचित भूपेन्द्रा बुढाले चार हजार ५९ मत प्राप्त गरेका थिए। दोस्रो स्थानमा कांग्रेस उम्मेदवार कमलाकुमारी मल्ल र तेस्रो स्थानमा एमाले उम्मेदवार धर्म घर्ती बुढामगर रहेका थिए।
कांग्रेस र एमाले बीचमा चुनावी तालमेल छलफलकै क्रममा रहेको पूर्वी रुकुमका एमाले इञ्चार्ज खेममान खड्काले जानकारी दिए। दुवै दलले उपाध्यक्षमा आफ्नो उम्मेदवार हुनुपर्ने दाबी गरेका छन्।
चुनावको तयारी र पार्टी संगठनको काम लिएर दुवै दलका केन्द्रीय नेताहरू पूर्वी रुकुम पुगेका छन्। एमाले सचिव पद्मा अर्याल र कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पूर्वी रुकुमका नेताहरूसँग संवादमा रहेका दुवै दलले जानकारी दिएका छन्। गत भदौमा दुर्घटनामा परेर उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएका कारणले उपनिर्वाचन हुन लागेको हो ।
नेकपा एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकताअनुसार सहकार्य गर्ने भएको छ ।
समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरूबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो संगठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा सांगठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो ।
पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रूपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए। नेकपा माओवादी केन्द्रलगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुंगो लगाइनेछ ।
नेकपा एकीकृत समाजवादीमा कीर्तिपुरको मेयरमा माओवादीलाई सघाउने गरी छलफल अघि बढेको छ । दुवै दलले आवश्यकताअनुसार सत्तारूढ दलबाहेक विपक्षी दलसँग सहकार्य गर्ने नीति अख्तियार गरेपछि छलफल चलेको हो ।
मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षका लागि पनि चुनाव हुँदै छ । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठले माओवादीसँग छलफल चलिरहे पनि अहिलेसम्म कुरा नटुंगिएको जानकारी दिए। कीर्तिपुर-४ मा माओवादीले आफ्नो पार्टीलाई सहयोग गरे मेयरमा उम्मेदवारी नदिने उनको भनाइ छ ।
नेकपा एसले वडा ४ मा रीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयर र वडा १ मा अझै टुंग्याएको छैन । नेकपा एसले मेयरमा सघाउन सर्त राखे पनि माओवादीले तीन पदको उम्मेदवार घोषणा गरिसकेको छ ।
बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मेयरमा प्राडा. शिवशरण महर्जन, वडा नम्बर १ अध्यक्ष उम्मेदवार अष्टमान महर्जन र ४ अध्यक्ष उम्मेद्वार इञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ ।
स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ । आगामी मंसिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
Facebook Comment