उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गरेका छन्।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।
‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो । नेपालको कूल ग्राहस्थ उत्पादनमा ह्रास भइरहेको छ। यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमा हामीहरुले जोड दिनुपर्ने हुन्छ’ उपप्रधानमन्त्री सिंहले भने।
अहिले क्लिन इनर्जीको आवश्यक्ता बढ्दै गएको भन्दै उनले उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनुपर्नेमा जोड दिए। त्यसमा नेपालमै बनेको सामाग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उनले बताए।
नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिररहेको भन्दै उपप्रधानमन्त्री सिंहले उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतका निजी क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको पनि बताए।
‘निजी क्षेत्रले उठाएका कुरालाई सरकारले ध्यान दिएको छ। यसको सकारात्मक परिणाम केही समयपछि सबैले देख्नेनैछन् भन्न चाहन्छु,’ उपप्रधानमन्त्री सिंहले भने, ‘ तपाईंहरुले एक्जिबिसन हलको कुरा गर्नुभयो। आर्थीक गतिविधि बढ्दै गएपछि एक्जिबिसन गर्ने हल त चाहियो नि। आवश्यक्ता अनुसार आधुनिक एक्जिबिसन हल बनाउन के गर्दा सकिन्छ, तपाईंहरुसँग सल्लाह गरेर अगाडी बढाउँछौं।’
आजबाट शुरुभएको ‘फिन इलेक्ट्रो टेक २०२४’ मंसिर २ गतेसम्म चल्नेछ। प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स,सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवद्र्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदान–प्रदान गरिने छ। प्रदर्शनीमा २८ वटा स्टलहरू र हल बाहिर पनि २६ स्टलहरू रहने छन्।
Facebook Comment