एनपीएलको प्रसारण स्टारस्पोर्ट्समा किन हुनु हुँदैन ?

डिसी नेपाल
२९ कार्तिक २०८१ २०:२६

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को प्रशारण भारतीय टिभी नेटवर्क स्टार स्पोर्ट्समा गर्ने चर्चा चलिरहेको छ।

मङ्सिर १५ गतेदेखि टियु मैदानमा शुरु हुने एनपीएलको पहिलो संस्करणप्रति नेपाली क्रिकेट प्रेमीको उत्साह देखिएको छ। साथै एनपीएलमा सहभागी हुने विदेशी खेलाडीको सूचीले पनि फ्यानहरुमा थप उत्साह थापिरहेको छ।

यसैबीच एनपीएलको प्रशारण स्टार स्पोर्ट्सबाट हुने समाचारले त्यो उत्साहलाई थप बढाएको अवस्था पनि छ। तर नेपाल क्रिकेट संघ (क्यान) ले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रशारण गर्दैमा मात्र यसको अन्तर्राष्टियकरण हुने हो त?

सबैभन्दा पहिला अहिले एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट क्यानले ठूलो रकम तिरेर गर्न खोजिएको भनिएको छ। एनपीएल ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्न र विश्व क्रिकेटलाई नेपालको लिग देखाउन यसो गर्न लागिएको क्यानको दलिल छ।

सामान्यतया क्रिकेटको खेल प्रसारणको लागि टिभी च्यानलहरुले ठूलो रकम तिर्ने गर्दछन् र च्यानल वा एजेन्सीले विज्ञापन उठाएर राम्रो नाफा पनि गर्दछन्। तर क्यान भने उल्टो बाटोमा गएको जस्तो देखिएको छ।

एनपीएलका खेल स्टार स्पोर्ट्समा करोडौं तिरेर प्रशारण गर्दा त्यसले नेपाली टेलिभिजन र स्थानीय विज्ञापन एजेन्सी तथा स्थानीय विज्ञापनदाताको उपेक्षा गरेको देखिएको छ।

स्टारस्पोर्ट्सले एनपीएल प्रशारण गर्ने भएमा स्थानीय विज्ञापनदाताले विज्ञापन गर्न सक्ने अवस्था नै नहुने एक विज्ञापन एजेन्सीका संचालक बताउछन्।

स्टार स्पोर्ट्समा विज्ञापनदर महँगो हुने र उसले प्रसारणबापत पैसा पाउने हुनाले विज्ञापनप्रति कुनै चासो नै नलिने दाबि नेपाली विज्ञापन एजेन्सीहरुको दाबी रहेको छ।

एनपीएल हुने खबरले नेपालमा क्रिकेटको क्रेजलाई क्यास गर्न विज्ञापन क्षेत्र पनि उत्साहित भइरहेको अवस्थामा क्यानले स्टारस्पोर्ट्सको विषय ल्याएर सबैलाई निरुत्साहित गरेको विज्ञापन क्षेत्रको बुझाइ छ।

नेपाली क्रिकेटलाई अहिलेसम्म सहयोग र समर्थन गरिरहेको नेपाली विज्ञापन क्षेत्रका लागि एनपीएलमा अवसर गुमेमा दुर्भाग्य हुने बताउछन्।

तर अहिलेसम्म क्यानले स्टार स्पोर्ट्ससँग हुनसक्ने डिल बारे स्पष्ट भने पारेको छैन।

नेपालमै प्राय अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेलहरुको खासगरि, हिमालयन र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको र गुणस्तरमा पनि पछिल्लो समय व्यापक सुधार गरेको अवस्थामा विदेशी च्यानलमा किन जान लागियो भन्ने प्रश्न व्यवसायीहरुले उठाएका छन्।

अर्कोतर्फ स्टार स्पोर्ट्सलाई क्यानले करोडौं दिएर प्रसारण गराउने सन्दर्भ कानुनी रुपमा पनि नमिल्ने देखिन्छ। नेपालको खरिद नियमावली अनुसार १० लाख भन्दा बढी रकम खर्च गर्दा ग्लोबल टेन्डर गर्नुपर्ने व्यवस्था क्यानलाई पनि लागू हुने हुनाले यो नमिल्ने देखिएको हो ।

तर यस सन्दर्भमा क्यानले एनपीएलको कमर्सियल राइट्स ब्रान्ड लजिक प्रालिलाई बेचेको हुनाले स्टार स्पोर्ट्ससँग कसरी क्यानले सम्झौता गर्छ यो हेर्न बाँकी नै छ। ब्रान्ड लजिकले ५ करोड ९२ लाखमा एनपीएलको कमर्सीयल राइट्स खरिद गरेको छ।

त्यसैगरी नेपालमा हाल क्लीन फिड लागु रहेकाले स्टार स्पोर्ट्सले यस प्रशारणमा आफ्नो विज्ञापन समेत बजाउन पाउँदैन।

अहिलेसम्म एनपीएलको तयारी, फ्रेन्चाईजीको छनौट र खेलाडी अक्सन हुँदै हाल विदेशी खेलाडी भित्रिँदै गर्दा एनपीएल विवादरहित बनेको छ तर स्टार स्पोर्ट्समा ठूलो रकम तिरेर प्रसारण गर्न खोजेको विषय विवादित हुने देखिएको छ। यस्तो सम्झौता भएमा क्यान र यसका पदाधिकारीलाई कानुनी झमेलामा समेत पार्ने देखिन्छ।

एकातिर प्रसारण गर्ने नेपाली च्यानल हुँदा हुँदै विदेशी ताक्नुले ठूलो रकम विदेशिने मात्र होइन नेपाली च्यानल र दक्षतालाई क्यानले उपेक्षा गरेको अर्थ लाग्ने विज्ञापन क्षेत्रका विज्ञको धारणा रहेको छ।

तसर्थ क्यानले रकम तिरेर स्टार स्पोर्ट्समा जानु भन्दा स्थानीय च्यानल र स्थानीय विज्ञापनदाताको सहयोग लिएर गुणस्तरीय प्रसारण गर्नेतर्फ ध्यानकेन्द्रित गर्नु नै नेपाली क्रिकेटको दीर्घकालिन हितमा हुने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *