इजरायलले नेटो सदस्य देश टर्कीमाथि पनि आक्रमण गर्न सक्ने !

डिसी नेपाल
३० कार्तिक २०८१ १६:००

काठमाडौं । टर्कीका रक्षामन्त्री यासर गुलरले इजरायलले टर्कीमा आक्रमण गर्न सक्ने बताएका छन् । यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई टर्कीका लागि प्रत्यक्ष खतरा भएको बताएका थिए ।

अहिले इजरायलले टर्कीमा आक्रमण गर्न सक्ने देशका रक्षामन्त्रीले बताएका छन् । गुलेरले जुनसुकै बेला तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने बताएका छन् ।

टर्कीको एक न्यूज च्यानलको प्रत्यक्ष प्रसारणमा बोल्दै रक्षामन्त्री गुलरले भने, ‘इजरायल आक्रामक देश हो। उसले हामीलाई आक्रमण गर्न सक्छ। यस क्रममा गुलेरले टर्की कुनै पनि परिस्थितिका लागि तयार रहनुपर्नेमा जोड दिए ।’

उनले भने, ‘हाम्रा राष्ट्रपतिले हाम्रा जनतालाई चेतावनी दिएका छन् किनभने उनले यो खतरा देखेका छन्। यदि राष्ट्रपतिले इजरायलबाट कुनै सम्भावित खतरा देखेका छैनन् भने उनले त्यस्ता चिन्ताहरू उठाउनु पर्दैनथ्यो ।’

गुलेरले यसअघिका विश्वयुद्ध सानातिना घटनाबाट मात्र सुरु भएको बताए । साथै, उनले अचानक द्वन्द्व सुरु भएर तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने चेतावनी दिए । मन्त्रीले थप भने, ‘अवश्य पनि हामी युद्ध चाहँदैनौं, तर सधैं तयार हुनुपर्छ।

रक्षा मन्त्रीले टर्कीको प्राथमिकता शान्ति कायम राख्नु भएकोमा जोड दिए तर उनले देशको सुरक्षा बलले कुनै पनि सम्भावित खतराबाट बच्न विस्तृत योजना बनाएको बताए। गुलेरको टिप्पणी यस्तो समयमा आएको हो जब गाजा र लेबनानमा इजरायलको सैन्य कारबाही जारी छ र सम्पूर्ण मध्यपूर्व ठूलो तनावबाट गुज्रिरहेको छ।

टर्कीका स्थानीय मिडियाका अनुसार राष्ट्रपति एर्दोगानले टर्कीले इजरायलसँगको सबै आधिकारिक सम्बन्ध तोडेको बताएका छन् ।

मिडिया एजका अनुसार एर्दोगानले भने, ‘एक देशको रूपमा टर्कीले इजरायलसँगको सबै सम्बन्ध तोडेको छ। यस समयमा इजरायलसँग हाम्रो कुनै सम्बन्ध छैन।’ मध्यपूर्वमा जारी द्वन्द्वको सन्दर्भमा एर्दोगानले तत्काल युद्धविराम हुनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *