स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरमा उम्मेदवारी दर्ता गरे
काठमाडौं। मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ का लागि आइतबार उम्मेदवारी दर्ता गरिएको छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा हुने उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरिएको हो । देशका विभिन्न स्थानमा पालिकाका प्रमुख र उपप्रमुख एक-एक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् ।
दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि रिक्त छन् । पालिका केन्द्रमा नौ र वडा केन्द्रमा २९ गरी ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । बिभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले आयोगले तोकेको स्थानमा पुगेर मनोनयन दर्ता गराएका छन् ।
सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने तालिका रहेको छ ।
यसैबीच निर्वाचन आयोगले उपनिर्वाचनका लागि आइतबारदेखि नै आचारसंहिता लागु गरेको छ । आयोगले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र तोकिएका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु हुने जनाएको छ ।
आचारसंहिता उपनिर्वाचन हुने जिल्लाभित्र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय र सो निकायका पदाधिकारीलगायतलाई लागु हुने आयोगले जानकारी दिएको छ ।
Facebook Comment