उपनिर्वाचनमा माओवादीले जित्नु भ्रष्टाचारविरुद्ध सुशासनकाे जित हो: नेता तामाङ
नुवाकोट। नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १६ गतेको निर्वाचनमा विजय प्राप्त गर्नु नै भ्रष्टाचार र बेथितिविरुद्ध सुशासनको पक्षमा सिंगो मुलुकको जित हुने दाबी गरेको छ।
नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ को उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको क्रममा बोल्दै पूर्वमन्त्री हितबहादुर तामाङले माओवादी नेतृत्वको सरकारले सुरु गरेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियानले सार्थकता पाउन माओवादी केन्द्रले जित्नुपर्ने आवश्यकता बढेर गएको बताएका हुन्। उनले माओवादी केन्द्रले जितेमात्रै नेपाल राष्ट्रले खोजेको सामाजिक न्याय र सम्मृद्धिको सपना पुरा हुने दाबी गरे।
माओवादी केन्द्रका केन्द्रीय नेतासमेत रहेका तामाङले अहिलेको कांग्रेससमेत सम्मिलित एमाले नेतृत्वको सरकारले भ्रष्टाचारी, अपराधी र माफियाहरु जोगाउने संरक्षक मात्र बनिरहेको दृष्टान्त उल्लेख गर्दै नेपाली जनताले उनीहरूको विकल्पमा माओवादी नै खोजिरहेको ठोकुवा गरे।
आफू निर्वाचित भएको संघीय निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रहेको उक्त वडामा माओवादी केन्द्रबाट उम्मेदवार रहेका कृष्ण घिमिरे (मिलन)ले निर्वाचन जित्ने आधारहरु समेत प्रस्तुत गर्दै नेता तामाङले ककनी क्षेत्रको पर्यटकीय वृहत्तर विकासको लागि पनि आफ्नो पार्टीको जित अनिवार्य रहेको उनको जिकिर थियो।
ककनी गाउँपालिका २०७४ र २०७९ को दुवै स्थानीय निर्वाचन माओवादीले नै जित हासिल गरेको पालिका हो। यसअन्तर्गत माओवादीले वडा नं. २ मा ७४ को निर्वाचन जितेकोमा २०७९ को स्थानीय निर्वाचनमा भने नेपाली कांग्रेसका तिलक लामाले ८ सय ८८ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण घिमिरेले ७ सय ३४ मत ल्याएका थिए।
तर, उनको डेढवर्ष अघि मृत्यु भएपछि अध्यक्ष पद रिक्त रहँदै आएको छ। १ सय ५३ मतान्तरले पराजित माओवादीका उनै घिमिरे पुन: यस उपनिर्वाचनमा पनि उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन्।
घिमिरेसहित विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र गरी ११ उम्मेदवारले वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट सुर्य तामाङ, नेकपा एमालेका यमबहादुर लामा, राप्रपाबाट खेमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलसिद्धी लामा तामाङ, नेपाल मजदुर किसान पार्टीका माइलीमाया तामाङ, नेकपा (एकीकृत समाजवादी)का मिनबहादुर लामा तामाङ, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङ, नेशनल मंगोल अर्गनाइजेसन पार्टीबाट किरण तामाङ, स्वतन्त्र उम्मेदवारहरु रमेश पुडासैनी र सोनु तामाङले उम्मेदवारी दर्ता गराएको ककनी वडा नं. २ का सहायक निर्वाचन अधिकृत सुनिल आचार्यले जानकारी दिए।
Facebook Comment