भ्रष्टीकरण

कृष्ण बोहरा
४ मंसिर २०८१ ७:५२

हामी भ्रष्टाचारको बिरोध गर्दछौंं। नेताहरुको ठूला ठूला भ्रष्टाचारका काण्डहरु बाहिर आइरहेका छन्। यो थाहा पाएर हामी उनीहरुसँग आक्रोसित पनि हुन्छौं। सबैतिर भष्टाचारको बिरोध भैरहेको छ। सामाजिक संंञ्जालको भित्तो यही भ्रष्टाचारका कुराले रंंगिएको पाउँछौं।

तैपनि भ्रष्टाचार एक रत्ति घटेको छैन। किन होला? तपाईं हामी ठूला आलिशान महलमा बस्ने र प्रसस्त धन सम्पत्ति भएकालाई बिशेष सम्मान गर्दछौं। परिश्रम गर्ने तर झुपडीमा बस्नेलाई कसले गन्छ? सबैले सम्पत्ति भएकालाई नै गन्ने हुन। यसले गर्दा मानिसहरु जसरी हुन्छ धन कमाउन लालायित हुन्छन्।

धन भएपछि मान पाइन्छ, सान पाइन्छ, इज्जत पाइन्छ, सुख सुबिधा पाइन्छ भने त्यस्तो धन कमाउन मानिस किन पछि पर्दछ? तर अवसर पाउनुपर्‍यो कुरो त्यति हो। जब मानिस सत्ता र शक्तिमा पुग्छ त्यो अवसर पनि त्यतिखेर जुर्छ। हामीले देखेका छौ हिजोका गरिव नेताहरुपनि आजकल महलमा बस्न सक्ने भएका छन्।

उनीहरुको हैसियत मात्र बढेन बरु सम्पत्ति पनि बढयो। राजनीतिमा गरिबका कुरा देश हितका कुरा नगरी सत्ताको भर्‍याङ उक्लिन सक्किन्न भन्ने  कुरा ती चतुर मानिसहरुलाई थाहा नहुने कुरा भएन।

तिनकै  कुराहरु सुनेर हामी माथि उक्लिने लिस्नु भएको कुरा तपाई हामीलाई थाहा हुँदैन। हामी पनि कहाँ गतीलो छौंं त! चुनावमा कुनै नेताको पछि लागिसकेपछि मासु भात, बियरका सिसी त कती लडाउँछौं लडाउछौं।

यस्तै मोटरसाइकलमा पेट्रोल भर्ने खर्चपनि नेताले नै भराउनुपर्छ। यसो गर्नु भनेको नै आगामी पाँच बर्षको लागि तिमी जसरी कमाए पनि कमाउ भनि नेतालाई भ्रष्टाचार गर्न उत्साहित बनाउनु हो। हाम्रो अर्को स्वार्थ पनि छ। कुनै नेतालाई जिताइसकेपछि ठेक्का पाइएला, जागिर पाइएला वा यस्तै कुनै अर्थोपार्जनको अवसर मिल्ला भनेर नै सहयोग पुर्‍याएका हुन्छौंं।

चाहे त्यो कमाउने श्रोत जाहेज नाजायज वा बैध अबैध जेसुकै होस् आफूले कमाउने भएपछि त्यसको हामीले मतलव पनि गरेका हुँदैनौं। यसैले नेतादेखि जनतासम्म सबैमा भ्रष्ट संस्कार हाम्रो सामाजिक परम्परामा स्थापित छ। यसबाट राजनीतिक क्षेत्रमा मात्र हैन कि देशका सम्पूर्ण क्षेत्रमा व्यापक असर परेको छ। यसका केहि दृष्टान्त यहाँ दिने कोसिस गरिएको छ।

शिक्षा

देशको शिक्षा नीति घोकन्ते खालको छ। पढेर कण्ठ पारी परीक्षामा आएको प्रश्नको जवाफ हुबहु गुरुले लेखाइदिको नोटमा मिल्ने गरी लेखेपछि पास भइन्छ। पढेका कुरा व्यबहारमा आवस नआवस यसको मतलब हुँदैन। प्रयोगात्मक शिक्षा वा व्यबसायिक शिक्षालाई महत्व दिइँदैन।

यसले गर्दा बिद्यार्थी र अभिवाबकमा पढेपछि काम गर्नुहुँदैन भन्ने मानसिकताले घर गरेको छ। पढेनौं भने हलो जोत्न पर्छ भनि सानै देखि केटाकेटीहरुलाई हलो नजोत्न उत्प्रेरित गरिन्छ। पढेपछि काम नगर्ने जनशक्ति हाम्रो देशको शिक्षाले नै उत्पादन गरिरहेको छ।

यसबाट देशको उन्नती प्रगती कसरी होस्? व्यक्तिको भबिष्य पनि कसरी बनोस त? हामीले काम गर्न हैन भष्टाचार गर्न, उत्प्रेरित गरेर पठाएका नेता भष्टाचार गरी धन बटुल्न व्यस्त छन। हाम्रो देशको शिक्षा नीतिमा सुधार ल्याउन, शिक्षा नीति बदल्न कसरी नेताको ध्यान पुगोस्? यसकारण परम्परागत रुपमा चली आएको चलन जस्तो छ त्यस्तै रुपमा हाम्रो शिक्षा पनि गुज्रीरहेको छ।

कृषि

हाम्रो देश कृषि प्रधान देश हो भनिन्छ। कृषि परम्परागत पाराको छ। मल बिऊ र कुषि औजारमा कुनै सुधार छैन। कृषक आफैंले आजकल बिदेशबाट आएका धान, मकैका बिऊ लगाउन थालेका छन्।

जसबाट पुराना स्थानीय जातका बिऊहरु मासिइएको छ। बिदेशबाट आएका यस्ता बिऊहरु पनि राम्रोसँग फलेको देखिँदैन। किसानलाई खेती गर्न सिकाउने जेटिएहरु कतातिर सुतेर बसेका छन्, नाक मुख देखिँदैन।

किनकी उनीहरुलाई पनि पढेपछि काम गर्नुहुँदैन भन्ने प्रशिक्षण भएकाले नै होला बसेरै तलव पकाउन उनीहरु पनि खप्पिस छन्। यसमा सम्बन्धित निकायको ध्यान कहिल्यै पुग्नेछैन भन्ने कुरा पक्का छ। खेतीको समयमा मल पाइँदैन। मलमा हुने कमिसनको चक्करले समय गुज्रेपछि मल आउने गरेको धेरैपटक सार्बजनिक भैसकेको तथ्य हो। पशुपालनको अवस्था पनि उस्तै देखिन्छ।

मालपोत

मालपोतमा जनताको काम कसरी छिटोछरितो गरु भन्ने मनोभाव छैन। कसरी ढिला ढाला गर्ने र घुस रकम झार्ने मनस्थितिमा कर्मचारीहरु रहेको बुझिन्छ। सेवा भाव, हैन कमाउ भाव उनीहरुमा देखिन्छ। प्रायजसो सर्बसाधारण घुस दिएर नै आफ्नो काम सल्टाएर जान्छन्, भने यथेष्ट पैसा नहुनेहरुले पाउनु दुःख पाउदँछन्।

गाउँ गाउँमा चार पुस्ता अघिदेखिको आफ्नो पुर्खाको नाममा भएको जग्गाको लालपुर्जा नामसारी नभएको उपदाहरणहरु पनि छन। यही मालपोतमा हुने झन्जट र गरिवी नै यसको मुख्य कारण हो। यस्तै गणतन्त्र आएपछि जनताका गाउँ गाउँमा भएका पाखो वारीको पनि जग्गाको कर बढेर तिर्न नसक्ने हालतमा पुगेको छ। उ

त्पादन केही नहुने यस्ता जग्गाहरु बिक्री गर्दा पनि जग्गाको कर तिर्न नपुग्ने अवस्था बनेको छ। यस्ता जनताका समश्याहरुमा कसले ध्यान दिने? किनकी हामीले चुनेका नेताहरु पनि कमाउनकोलागि नै सत्तामा पठाएका हौं। उनीहरु उतै व्यस्त छन्।

भूसंरक्षण बिभाग

नेपालमा भूसंरक्षण बिभाग पनि छ। तर बर्षेनि हाम्रो देशको माटो बगेर बंगालको खाडीमा ठूला ठूला टापुहरु बनिरहेको छ। हाम्रा खेत बारीका मलिलो माटो कसरी जोगाउने? यसको लागि कुनै छलफल गोष्टी र कार्यक्रमहरु हुँदैन। भएपनि बिरलै हुन्छ।

नांगो जमिनमा बर्षामा पर्ने पानीको कारण बाढी पहिरो जस्तो बिपत्ति आइलाग्छन। यसैले नांगो जमिन कतै नदेख्ने गरी बिरुवा लगाउनुपर्छ भन्ने जानकारी जनमानसमा छैन। यस्तो प्रशिक्षणको अभावमा हाम्रा स्थानीय जनप्रतिधिहरुले पनि यसमा ध्यान पुर्‍याउँदैनन्।

यसैले बर्षा लागेपछि डोजर लगाई जताभावी मोटर बाटो खनेर बाढी र पहिरोको कारण आफैं बन्ने गरेका छन्। सडक वmुन समयमा खन्दा उपयुक्त हुन्छ भन्ने कुरा हाम्रा जनप्रतिनिधिहरुलाई जानकारी छैन।

खानेपानी संस्थान

“सित्तैमा ल्याएको पानी बेच्छ तैपनि खानेपानी संस्थान घाटामा छ भन्छ।” यो भनाइ मेरो हैन काठमाडौं माहानगरपालिकाको मेयर बालेन शाहको हो। खानेपानी जस्तो मानव जीवनको जिउने सवालमा जोडिएको संंस्थमा पनि भ्रष्टाचार हुुन्छ भन्नुपर्दा दुःख लाग्ने कुरा स्वभाविक हो।

तर यहाँ पनि सेवा भावले काम भएको देखिदैन। मेलम्ची जस्ता ठूला ठूला आयोजनामा सरकारका मन्त्री प्रधानमन्त्री जोडिनु सामान्य  कुरा हो। जिल्ला खानेपानी संंस्थाहरुले संंचालन गरेको खानेपानी आयोजनाहरुमा समेत खानेपानीका डिजी र अरु प्राबिधिकहरु तथा उपभोक्ता समिति समेत मिलाई औकात अनुसार रकम बाँडीचुडी गरी खानेगरेको देखिन्छ। यो उनीहरुको नियमित गरिने धन्दा र परम्परा हो। आयोजनाको ५० देखि ७५ प्रतिशत सम्म रकम भ्रष्टाचारमै सकिन्छ।

माथिका उदाहरणहरु थोरै मात्र यहाँ प्रस्तुत गरिएका हुन। सिंंगो देशको हालत यस्तै छ। अझ नेपालका भन्सार निकायहरुमा नियाल्ने हो भने भ्रष्टाचारका अनेक रुप देख्न सकिन्छ। नेपाल बायुसेवा निगम यसैकारण टाठ पल्टेको हो। हाम्रा मन्त्रीहरु सकेसम्म मालदार मन्त्रालय नै रोज्ने गर्दछन्।

कर्मचारीहरु भन्सार तिर सरुवा हुन खोज्दछन्। यसमा उनीहरुको भष्टाचार गर्ने सोच प्रष्ट देखिन्छ। जो पद र पावरमा छन्, अवसरको रस्वस्वादन उनीहरुले नै गर्न सक्छन्। जो तल्लो धरातलमा रहेका छन उनीहरुसँग कुनै अवसर हुँदैन तापनि उनीहरुको सोचमा पनि भ्रष्टाचार छ।

यसबाट के देखिन्छ भने पाए कोही पनि बाँकी राख्ने वाला छैन। किनकि हाम्रो सामाजिक वाताबरण नै यस्तो छ। हाम्रो सोच र संंंस्कारमा गम्भिर त्रुटी छ। यसैले त गरीवको पक्षमा र देश हितको पक्षमा बोल्ने हिजोका नेताहरु आज भ्रष्टाचारको आहालमा पौडी खेलिरहेका भेटिन्छन। देशमा परिवर्तन गर्न भनी क्रान्ति छेडेर आएका नेताहरु पनि चोखो त देखिएनन नि? यसैवाट प्रष्टिन्छ कि हाम्रो सामाजिक वातावरणमा संंस्कारगत त्रुटी अबश्य छ।

दलका नेताहरु सत्ताबाट बाहिरिएपछि भ्रष्टाचारको बिरोध चर्को रुपले गरेको देखिन्छ। तिनै नेताहरु बिरोध गरिसकेर सत्तामा पुग्दा पुःन भ्रष्टाचार गर्न थाल्छन्। भ्रष्टाचारको बिरोध गरेकोमा ताली बजाउने पनि त्यतिकै भेटिन्छन्। किन ताली बजाउनु र? जव कि आउने जाने र खाने पालोफेरो हो भन्ने बुज्दा बुज्दै।

के यस्तो सामाजिक संंस्कारलाई सच्याउन सकिँदैन अब? अवस्य सकिन्छ। यसको लागि भ्रष्टाचारको मुहान पत्ता लगाउनुपर्छ। यसमा पनि पानीको नियम लागु हुन्छ। सधैं पानीको मुहान माथितिर हुन्छ र पानीको सप्लाई तल तलसम्म हुन्छ।

यस्तै भ्रष्टाचारको मुहान पनि तल हैन माथितिर हुन्छ। मुहानलाई बन्द गर्न कार्यवाहीको निसाना माथि बनाइनुपर्छ। माथिबाट कार्यवाही गर्न सुरु गर्ने हो भने तलतिरका तहलाग्दै जानेछन्।

नभए अरु सम्पन्न देशको सिको गरेर निकै कडा र निर्मम बन्नुपर्नछ। यसोभयो भने केही मेहनत पछि यस्ता समस्याहरुको पनि सामाधान पक्कै हुने नै छ। तर यसकोलागि कोही न कोही त निस्कनु नै प¥यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *