पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झन्डा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाकाे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन्।
सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए। ‘नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ’, उनले भने।
यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुंगानाले भूमिका खेल्नुभएको स्मरण गर्दै उनको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताए। “उनको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवाले भने।
दिवंगत ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।
त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु उनीप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन्।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्रद्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
राजनीति क्षेत्रमा देखिएका विकृति र विसंगतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए। विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए। नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको उल्लेखनीय योगदान छ।
Facebook Comment