लोकप्रियताको नाममा कुलमानले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको महेश बस्नेतको आरोप

डिसी नेपाल
४ मंसिर २०८१ १८:२६

काठमाडौं। नेता बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति’ को रुपमा चित्रण गरेका छन्। आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पपुलिजमको आडमा घिसिङले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको आरोप लगाएका हुन्।

पाटन उच्च अदालतले कुलमानले २ अर्ब १५ करोड उनको ठेक्का प्रक्रिया अनियमित गरेको भनी फैसला गरिसकेको उनको दाबी छ। कुलमान प्राधिकरणको एमडी भएदेखि नै उनका दाजुभाइ संलग्न भएका कम्पनीले मात्रै प्राधिकरणका ठेक्का पाइरहेको उनको आरोप छ।

‘कुलमान घिसिङ लोकप्रियताको जगमा आफूलाई भ्रष्ट छवि बनाइरहेका व्यक्ति हुन्। यो कुरामा कुनै डाउट रहेन। यो कुरा हिजो भन्दा हामीमाथि साथीहरुले आलोचना गर्नुभएको थियो। आज पाटन उच्च अदालतले २ अर्ब १५ करोड उहाँको ठेक्का प्रक्रिया अनियमित हो भनेर फैसला गरेको स्थिति छ। उहाँ एमडी भएदेखि नै उहाँका दाजुभाइ जोडिएका कम्पनीबाहेक अरु कुनै पनि कम्पनीले ठेक्का प्राप्त गरेका छैनन्,’ नेता बस्नेतले भने।

विद्युत प्राधिकरणमा कार्यरत तलका हाकिमहरुलाई तार किन्ने, विद्युतको पोल गाड्ने र मर्मत गनेसम्मका अधिकार भएपनि कुलमानले केन्द्रीकृत गरेर सामुहिक रुपमा ठेक्का गरिरहेको नेता बस्नेतको आरोप छ। कुलमानको एक जना भाइले लामा कन्स्ट्रक्सनको ३० प्रतिशत शेयर किनेर साँगादेखि बनेपासम्मको ठेक्का लिएको नेता बस्नेतले बताए। साथै, कुलमानका राजनीतिक संरक्षकहरु तत्कालीन शासक प्रचण्डलगायतलाई उक्त ठेक्कावापत १४ करोड रकम बुझाइएको नेता बस्नेतको आरोप छ। कुलमानले ठेक्का प्रक्रियाका लागि ३५ वटा भन्दा बढी कम्पनी दर्ता गरेको, सोसल मिडिया र युट्युबहरुलाई आफ्नो पक्षमा परिचालन गरेको र आफ्नो दम्भको कुनै सीमा नै नराखी अराजकता मच्चाएको उनकाे आराेप छ।

कुलमानको यी विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिको विषय बनिसकेको उनले बताए। उनले कुलमान भ्रष्टाचारमा रमाइरहेको टिप्पणी गरे। ‘कुलमानजी पपुलरारिटीको आडमा नेपाली जनताको सम्पत्तिमाथि भ्रष्टाचार गरिरहेका छन् । अकुत सम्पत्ति कमाइरहेका छन्, गडबड गरिरहेका छन् । यो कुरा हामीले भन्न सक्नुपर्छ । यसलाई उजागर गर्नसक्नुपर्छ,’ नेता बस्नेतले भने।

साथै, डेडिकेटेड ट्रंक लाईनको बक्यौता विवादका सन्दर्भमा लाल आयोगको प्रतिवेदनअनुसार अगाडि बढ्नुपर्ने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *