चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तुको आयात-निर्यात घट्यो

डिसी नेपाल
४ मंसिर २०८१ १८:५०

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटेको छ। राष्ट्र बैंकले मंगलबार सार्बजनिक गरेको तीन महिनाको आँकडा अनुसार कुल बस्तुको निर्यात घटेको हो।

तीन महिनामा कुल बस्तुको निर्यात ३८ अर्ब ३८ करोड रहेको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने जिंक शिट, पाम तेल, अलैंची, जुस, तयारी पोशाकलगायत वस्तुको निर्यात घटेको छ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी ३९० अर्ब ७५ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७९ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन, लसुन, तेलहनलगायत वस्तुको आयात बढेको छ भने सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, कच्चा पाम तेल, एम.एस. विलेट लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ विराटनगर, कैलाली, कृष्णनगर, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ जलेश्वर, कैलाली, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

आर्थिक वर्ष २०८१ / ८२ को तीन महिनामा कुल वस्तु व्यापार घाटामा ४० प्रतिशतले कमी आई रु. ३५२ अर्ब ३७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.१ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ४४ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४५ अर्ब ५८ करोड बराबरको भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *