प्यागोडा शैलीमा स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिँदै

डिसी नेपाल
४ मंसिर २०८१ २३:१७

स्वर्गद्वारी (प्यूठान)। प्यागोडा शैलीको वास्तुकला प्रयोग स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिन थालिएको छ। स्वर्गद्वारी आश्रमका संस्थापक हंशानन्द गिरी अर्थात् स्वर्गद्वारी महाप्रभुको समाधिस्थलमा सो मन्दिर निर्माण गर्न थालिएको हो।

स्वर्गद्वारी आश्रमको लगानीमा आश्रम परिसरमा रहेको पुरानो मन्दिर भएको स्थानमा नयाँ मन्दिरको स्थापना गर्न थालिएको आश्रमका मुख्य कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिए। निर्माणका लागि सोमबार भूमि पूजा गरी शिलान्यास गरिएको हो।

प्यागोडा शैलीमा निर्माण भएको पशुपति नाथको मन्दिरको शैलीमा मन्दिरको निर्माण हुनेछ। जसका लागि डिपिआरको काम भइरहेकोमा करिब रू १२ देखि १५ करोडको लागत अनुमान गरिएको न्यौपानेले बताए। ‘केही डिजाइन आएका छन् सोहीअनुसार निर्माण थालेका हौँ’, न्यौपानेले भने, ‘भक्तपुरे इँटा, सुर्की चुना, काठको पिल्लरको मात्रै प्रयोग हुनेछ।’ एक वर्षभित्र निर्माण सक्ने गरी मिस्त्री तयार गरी शिलान्यास गरिएको हो।

मन्दिर निर्माणका लागि आन्तरिक स्रोत तथा दाताहरू खोजिएको छ। रू एक लाख २५ हजारभन्दा बढी दान दिनेको नाम शिलालेखमा लेख्ने, सो रकमभन्दा कम दिनेलाई रसिद दिने गरी भवन निर्माणार्थ सहयोग उठिरहेको छ। पुरानो शैलीको मन्दिरले स्वर्गद्वारीको महत्त्व थप बढ्ने विश्वास लिइएको न्यौपानेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *