लघुकथाको बाढी कि मूल ?

खेमराज पोखरेल
८ मंसिर २०८१ ७:१२

(सन्दर्भ : २०८१ साल भदौ ३ गते काठमाडौँको अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा २५ लघुकथाकारका २५ ओटा लघुकथासङ्ग्रह एकै साथ विमोचन भयो। सो विमोचनमा म खेमराज पोखरेलले सभापतिको भूमिकामा दिएको छोटो मन्तव्यमा आधारित आलेख)

आदरणीय प्रमुख अतिथि वरिष्ट लघुकथाकार तथा लघुकथाका अभियन्ता श्रीओम श्रेष्ठ रोदनज्यू,
विशिष्ट अतिथि अनेसासका पूर्व अध्यक्ष तथा साहित्यका अभियन्ता श्री राधेश्याम लेकालीज्यू,
हाम्रो निम्तोलाई स्विकार गरेर कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरू, सवैकाप्रति हार्दिक नमन गर्दै आभार टक्य्राउँछु।

सर्वप्रथम म व्यक्तिलाई पत्याएर यो लघुकथाको महायज्ञमा आफ्ना कृतिलिएर उपस्थित हुन आउनु भएका पच्चीस लघुकथाकृतिका कृतिकारहरू सवैमा विशेष कृतज्ञ छु। मेरा प्रयत्नलाई नपत्याएर वा पर्याप्त अुनकुल नमिलेका कारणले यस लघुकथाको यज्ञमा पुस्तक समावेश नगर्नु भएका सवैप्रति पनि उत्तिकै आदरसहित नमन गर्छु।

यो कार्यक्रमलाई व्यवस्थित गर्न विशेष भूमिका खेल्नु भएकी लघुकथाकार ममता मृदुलमा विशेष धन्यवाद अर्पण गर्दछु। कार्यक्रममा सहभागी हुन आउनु भएका डिसी नेपाललगायत अन्य पत्रकार मित्रहरू, साहित्यकार तथा गैर साहित्यकार सवैमा एकमुष्ट नमन गर्छु।

साहित्यमा लघुकथाको विशिष्ट स्थान छ। महत्त्व छ। वर्तमान युग नानो युग हो। समयको सोपानबाट समय नचोरी सक्कली पाठक बन्न पनि गाह्रो छ। ८६ बर्सीय छन्दविज्ञ महाकाव्यकार प्रा. पीताम्वर दाहालले ‘बुढ्यौलीको विस्मृति क्षणमा उपन्यासको स्वाद पढ्न लघुकथा नै चाहिने रहेछ’ भन्नुभएको कुरा सम्झेको छु।

लघुकथाका विविध सञ्जाल, लघुकथाकै काम गर्न खुलेका दर्ता-अदर्तावाल संस्थाहरूको भूमिकालाई उच्च मूल्याङ्कन गरेको छु। ती सवै संस्थाप्रति लघुकथा सिकारु भएका नाताले नमन गर्छु।

लघुकथाको उन्नयन तथा कृति प्रकाशनको वर्तमान अवस्थामाथि टिप्पणी गर्दै वरिष्ट साहित्यकारहरूबाट ‘बाढी’ भन्ने शब्द प्रयोग गर्ने गरिन्छ। यदाकदा लघुकथाकार आफैँ पनि ‘लघुकथाको बाढी आयो’ भन्ने गर्नु हुन्छ। आफूले लघुकथाकै कृति प्रकाशन गरिसकेपछि अरूले कृति प्रकाशन गर्दा ‘बाढी’ भन्नु भिड बसमा चढेपछि अरू यात्रु नचढून् भन्ने मनोविज्ञान हो। यसलाई म लघुत्वबोध पनि भन्छु। लघुकथाकै लागि लागिरहेको म भने बाढी भन्न मन पराउन्नँ। किनभने बाढी भन्नु नकारात्मकता हो। विध्वङ्सको प्रतीक हो।

नेपाली लघुकथाको सन्दर्भमा अग्रज लघुकथाकारहरूले धेरै वर्ष मिहिनेत गरेर निर्माण गरेको गोरेँटो छ। त्यसैमा वर्तमान लघुकथाको जग बसेको छ। सोही जगमा नयाँ पुस्ताका लघुकथाकारहरूले लघुकथाहरू सिर्जना गर्दै आएका छन्। सामाजिक सञ्जालले यसलाई पन्पाउन भरमग्दुर प्रयत्न गरेका छन्। प्लेटफर्म दिएका छन्।

‘क’ वर्गका लालमोहरिया कागजी पत्रिका तथा अनलाइन मेडियाको कार्टेलिङको चक्रब्यूहमा नपरीकन पनि अस्तित्व बनाइ राख्न यिनै सामाजिक सञ्जालले भूमिका खेलेका छन्। त्यसैले साहित्यका अन्य विधामा जस्तै लघुकथा लेखनमा बढोत्तरी आएको हो। समाज द्वन्द्वले बनेको छ।

द्वन्द्वमा टिक्ने अस्तित्वमा रहन्छन्। नटिक्ने समयका गर्तमा विलीन हुन्छन्। यो कुरा समयको निर्मम न्याय हो। त्यसैले लघुकथाको बाढी आएको होइन, मूल फुटाउन गरिएको प्रयत्न हो भन्ने मेरो धारणा छ। मूल फुटनु भनेको पउल सकारात्मकता हो।

यद्यपि मूल पनि पर्याप्त संरक्षण भएन भने सुक्ने यथार्थलाई पनि बिर्सन हुन्न। त्यसैले लघुकथाको मूललाई जोगाउन लघुकथा नलेखेकाले लेखौँ, लेखेकाले स्तरीय लेखौँ भन्ने मेरो आग्रह हो।

वर्तमान नेपालको हरेक क्षेत्रमा नकारात्मकता प्रवल छ। साहित्य चिन्तकमा पनि यही नकारात्मकता छ। यो कुरा म स्विकार्छु। नेपालीहरू चाहे विज्ञ हुन् वा अविज्ञ प्राय सवै नकारात्मकतामा रमाउँछन्। सर्जक वा पाठक दुवै नकारात्मकतामा रमाउँछन्। यसो भन्दा मलाई हर्षबोध भएको छैन।

नेपाली साहित्य जगत्ले लघुकथाको स्तरीयतामाथि प्रश्न उठाइरहेको छ। सङ्ख्यामा बृद्धि र गुणमा ह्रास भयो भन्ने चिन्ता अभिव्यक्त गरिरहेको छ। यो चिन्ता भने सोहै आना जायज हो। यसतर्फ लघुकथाकार संयमित, सकारात्मक, सक्रिय तथा संवेदनशील हुन जरुरी छ। छोटो आख्यान लेखेर लघुकथा लेखेँ भन्ने धङधङीबाट मुक्त हुन जरुरी छ।

लघुकथामा उल्लेख हुने विषय, घटना र प्रस्तुति माथि सर्जक आफैँले निर्मम समीक्षा गर्नुपर्ने कुरामा म अर्को मत भिडाउदिनँ। यद्यपि स्तरीयताको मापनको जेनिथ कहिले पनि टुङ्गिदैन। तर पनि स्तरीय लघुकथा लेखन लघुकथाकारको चुनौती हो। दायित्व हो। कर्तव्य हो।

प्रिय लघुकथाकार साथीहरू !

कि त राडीमा सातु नमुछ्नु, मुछ्न खोज्नु हुन्छ भने खाने हिम्मत गर्नुस्। यसलाई स्विकार गर्न लघुकथाकारहरूले पानको बिडा चपाउनु पर्छ। चुनौती बोक्नु पर्छ। किनकि स्तरीय लघुकथा लेख्न सकिएन भने विज्ञ समाजले लघुकथाको विकासमाथि लगाइरहेको अप्टी जायज ठहर्न सक्छ।

साहित्य जगत्मा सिर्जना र सिद्धान्तका बारेमा बहस भइरहन्छ। अर्थात् अन्त्यहीन बहस। सर्जक आफ्ना लेखनीमा स्वतन्त्र हुन्छ भन्ने सिद्धान्त अकाट्य हो। सर्जक सिर्जनाको वैचारिक पक्षमा स्वतन्त्र हुन्छ। अर्थात् सर्जकको विचारमाथि कसैले हस्तक्षेप वा नियन्त्रण गर्न सक्दैन। तर स्वरूपगत् पक्ष शास्त्रीय हुन्छ।

यही स्वरूपगत् पक्ष भन्नु नै सिद्धान्त हो। मेरा विचारमा सिद्धान्त भन्नु सिर्जनाका लागि सहयोगी हो, समस्या होइन। किनभने जसरी जसरी सिर्जनाले विधाभञ्जन गर्दै जान्छ र त्यसले सामाजिक मान्यता पाउँछ, त्यसै दिन सिद्धान्तमा पनि सुधार आउँछ। तर यति कुरा भने पक्का हो कि सिद्धान्तलाई थोरै मात्र हेक्का राखियो भने लघुकथा लेखन अकबरी सुनको शिल्पयुक्त गहना हुन्छ।

साहित्य संसारका केही विज्ञ÷अविज्ञहरूले पुस्तक प्रकाशनलाई कागजको सत्यानास भनी हियाएको पनि देखिन्छ। म भन्छु, यसो नभनौँ। कृति प्रकाशन गर्दा लेखकको इमोस्नल कुरा जोडिएको हुन्छ। इमोसनसँग खेलबाड पनि नगरौँ। कसैले कमजोर सिर्जना गर्यो भने पनि त्यो अपराध होइन।

सिर्जना हुनु भनेको पहिलो र ज्यादै महत्त्वपूर्ण कुरा हो। यो कार्यक्रममा झापादेखि धरानहुँदै रोल्पासम्मका लघुकथाकारहरू आफ्ना लघुकथाका कृति लिएर हर्षका साथ परिवार लिएर उपस्थित हुनु भएको छ। जिन्दगीका आँगनमा यो हर्ष चानचुने कुरा होइन। किनकि कृतिकारका सन्तानले ती कृति देखेर गौरवबोध गर्ने अवस्था हुन्छ।

भौतिक रूपले भन्ने हो भने पनि कागजको व्यापार चल्छ। प्रेस चल्छ। सम्पादन, प्रकाशन व्यवसाय पनि चल्छ। ती पुस्तक नछापिए पनि त्यसको लागत दान दिइँदैन। अर्कोतिर सङ्ख्याको बढोत्तरी भएको अवस्थाले स्तरीय लेख्ने लेखकलाई लेख्न छेक्दैन।

लघुकथाको सन्दर्भमा मानिएका-ठानिएका विज्ञहरू वर्तमानमा प्रकाशन भएका लघुकथाका कृति नपढीकन पूर्व मान्यता बनाउँछन् र लघुकथाको स्तर खस्केको कुरा गर्छन्। या त पूर्णप्रसाद ब्राह्मणको झिल्कालाई मानक बनाएर लघुकथालाई अथ्र्याउँछन्। तर समय बोकेको समाज फेरिएको छ। सन्दर्भ फेरिएको छ।

समाजको स्वरूप तथा मान्यता फेरिएको छ। फेरिनु यथार्थ र वैज्ञानिक कुरा हो। समाज नफेरिइ बस्न सक्दैन। र जसरी जसरी समाजका मान्यताहरू फेरिन्छन्, त्यसरी नै साहित्यको स्वरूप फेरिन्छ। विषयका अन्तरवस्तु फेरिन्छन्। फेरिएका अन्तरवस्तुलाई पुरानो मानकका चस्माले हेर्‍याे भने यथार्थमा पुग्न सकिन्न।

त्यसैले विज्ञहरूसँग मेरो आग्रह छ कि पुस्तक पढेर मात्र स्तरीयता मापन गर्नुस्। असल कमसल छुट्याउनु होस्। असल भए के कारणले असल, कमसल भए के कारणले कमसल भन्ने कारण पनि बताइदिनु होस्। किनकि तपाइँ विज्ञको बोलीले बनाएको क्षितिज निकै प्रभावकारी हुन्छ।

तर विज्ञको ‘मेरो गोरुको बाह्रै टक्का’ फर्मुलाले नकारात्मकता मात्र फैलाउँछ। स्तर उन्नति हुने होइन। युगसँग हिँड्न नसक्ने युगबाटै विलुप्त हुने कुरा वैज्ञानिक हो। यथार्थ हो। यद्यपि पुस्तक पढ्ने भनेको कुरा गाह्रो काम हो। पुस्तक प्रकाशन, वितरण, व्यवस्थापन एउटा जटिल काम हो।

पुस्तकलाई पाठकसमक्ष पुर्याउन फलामका च्यूरा चपाउनु पर्छ। पुस्तकले नतानी पाठकले पढ्न पनि सक्दैनन्। त्यसैले यो वृत्तमा सहभागी भएर मात्र पुस्तक तथा विधाका बारेमा बोलौँ भन्ने मेरो आशय रहेको छ।

पुस्तक प्रकाशनसँग जोडिएर आउने हरेक तहमा समस्याहरू छन्। लेखकमा गहन अध्ययन, चिन्तन तथा मनन गर्ने प्रवृत्ति कमजोर भएको छ। गम्भीर लेखकको उपस्थिति न्यून छ। यो कुरा म स्विकार्छु। प्रकाशकाका आफ्नै समस्या छन्।

साझा प्रकाशन जस्तो अद्र्धसरकारी प्रकाशन गृहले त लेखकसँग पैसा नलिई पुस्तक नछाप्ने नीति लिएको छ भने व्यक्तिगत प्रकाशन गृह त नाफा कमाउन नै जन्मेका हुन्। तिनले त लेखकलाई चक्रव्युहमा पारेर नाफा कमाइ छाड्छन्। फेरि पिल्सिन्छन् निरीह लेखक।

फेरि अर्कोतिर साहित्यका पुस्तक पठन संस्कृति पनि पातलिएको छ। प्रविधिले कागजको पुस्तक पठनमा ह्रास ल्याएको छ। अर्थात् पठन पनि समस्याका रूपमा छ। आफ्नो ब्रान्ड बनाइसकेका, पहुँचवाला, ग्रुपवाला लेखकहरू पुस्तक छाप्न सहज हनुहोला भन्ने अनुमान गरेको छु।

किनभने ब्रान्डवाला लेखकका स्तरविहीन पुस्तक पनि बजारमा बिक्छन्। नयाँ तथा नाम नचलेका लेखकका पुस्तक जतिसुकै स्तरीय भए पनि प्रकाशक छाप्न तयार हुन्नन्। लेखक आफैँले प्रकाशन गरेका पुस्तकले त बजारमा वितरण हुन पाउनु भनेको ‘आकाशको फल, आँखा तरी मर’ भनेझैँ हो। वितरण व्यवस्था नै नभए पछि पाठकका हातमा ती पुस्तक पर्ने सम्भावना नै हुन्न। नपढिएपछि ती पुस्तक के स्तरीय के स्तरविहीन !

त्यसो भएकाले कृतिकारले कृति नै यति दर्बिलो निकाल्नु पर्छ कि समयकालमा ती पुस्तकले मन तानोस् र पाठक बाध्य भएर बजार पुगोस्। स्तरीय लेख्न सकिएन भने पुस्तक घर तथा आफन्तका बिचमा सीमित हुन्छ। किनकि वर्तमान विश्व एक गाउँ, एक बजार, एक पाठक भएको छ।

नेपाली साहित्यले विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नु पर्छ। ब्रान्ड, पहुँच, पैसा तथा गु्रपका खेलमा प्रकाशन भएका पुस्तकले विश्व साहित्यको निम्छरो हारमा पनि प्रवेश पाउन गाह्रो हुन्छ । सेटिङ मिलाएर पुरस्कार पाएका पुस्तक पनि द्वन्द्वात्मक प्रक्रियामा विलीन भएर गएका तथ्य हाम्रा सामूमा नै छ।

जेजस्तो भए पनि सभाको सभापतिको हैसियतमा भन्दा यो कार्यक्रममा पुस्तक लिएर सहभागी हुनुभएका लघुकथाकारको तर्फबाट कृतिहरू पढिदिन अनुरोध गर्दछु। तथापि मलाई थाहा छ, पुस्तक पढिदिनु भन्नेबित्तिकै पुस्तकले नतानेसम्म कहाँ पढ्न सकिन्छ र ? जहाँसम्म मेरो प्रश्न छ, याने मेरो लघुकथाको सातौँ पुस्तक ‘एकालाप’ को सन्दर्भ छ, त्यसमा यहाँहरूको आलोचनात्मक, यथार्थ तथा खरो प्रतिक्रियाको आस गरेको छु। गाली ताली दुवै स्विकार्य छ। यस्ता प्रतिक्रियाले लेखकले खारिने अवसर पाउने कुरामा म हर्षका साथ पूर्ण विश्वास राख्छु।

म फेरि भन्छु, लघुकथाको बाढी आएको होइन, मूल फुटेको हो। यो मूललाई सवैले आआफ्ना ठाउँबाट संरक्षण गरौँ। जगेर्ना गरौँ। मूलमा ऐँजेरु पलाए सफा पारौँ र अघि बढौँ।

र, अन्त्यमा हाम्रो निम्तोलाई स्विकार गरेर कार्यक्रममा विविध भूमिकामा सहभागी हुनु भएका सम्पूर्णमा फेरि पनि नमन गर्दै यो कार्यक्रम समापन भएको ब्योहोरा अनुरोध गर्दछु।
जय लघुकथा
धन्यवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *