हिउँदमा किन ज्यानमारा बन्छ काठमाडौंको वायु, कसरी जोगिने?
काठमाडौं। काठमाडौं उपत्यकासहित मंसिर लागेसँगै देशैभर चिसो घट्दो क्रममा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ८:४५ मा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको थियो। यो यस वर्षको हालसम्मकै न्यूनतम तापक्रम हो।
यसअघि हिजो मंसिर ५ गते उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने अघिल्लो दिन मंसिर ४ गते ९.९ डिग्री सेल्सियस थियो। यसैगरी मंसिर ३ गते उपत्यकाको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो। त्यसयता उपत्यकाको न्यूनतम तापक्रम लगातार घटिरहेको छ।
काठमाडौंमा चिसो मात्र होइन, प्रदूषणको तह पनि बढ्दै गएको छ। हिउँद लागेसँगै मौसम धुम्म हुने र हावा पनि कम चल्ने भएकाले वायु प्रदूषणको तह बढ्दै जाने मौसमविद् बताउँछन्।
काठमाडौं उपत्यकामा मानिसको अधिक चाप छ। मानवीय गतिविधिले पनि काठमाडौं उपत्यकालाई प्रदूषणको उच्च विन्दुमा पुर्याउने गरेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, वायु प्रदूषण र मानवीय गतिविधि नै प्रदूषण बढाउने कारण हुन्।
यसरी धुम्मिएको मौसममा पानी नपरेसम्म सुधार नदेखिने मौसमविद्को भनाइ छ। यस्तो अवस्थामा माटोका कण र प्रदूषण मिश्रित हावा बायुमण्डलको सतहमा तैरिएर रहने भएकाले यसलाई पखाल्न पानी पर्नुपर्ने वा उडाउन ठूलो हावा चल्नु पर्ने हुन्छ। तर, तत्काल यी दुवै सम्भावना नरहेकाले उपत्यकाको मौसम थप धुमिल बन्दै जाने उनीहरूको भनाइ छ।
आज बिहान प्रदूषण सूचीमा १५ नम्बरमा रहेको काठमाडौं उपत्यकामा घाम लाग्दै गएसँगै यो समाचार तयार पार्दासम्म २२औं स्थानमा छ। केही दिन पहिले काठमाडौं उपत्यका प्रदूषणको चौथो नम्बरमा उक्लिएको थियो।
वायुको स्वच्छता मापन गर्ने स्वीस कम्पनी आइक्यूएअरका अनुसार काठमाडौं उपत्यकामा प्रदूषण उच्च रहने सम्भावना कायमै छ। अहिले काठमाडौंको हावा संवेदनशील उमेर समूहका लागि अस्वस्थकर छ।
अघिल्ला वर्षहरूमै काठमाडौंको वायुस्तर सबै रेकर्ड तोड्दै विश्वकै सबैभन्दा खतरनाक तहमा पुगेको थियो। गत वर्ष काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा उक्लिएको थियो। आजभोली पनि बिहान बेलुकी उपत्यकाको आकाशमा प्रदूषित तुवाँलोको बाक्लो तह देख्ने गरिएको छ।
काठमाडौं उपत्यकामा मानिसको अधिक चाप छ। मानवीय गतिविधिले पनि काठमाडौं उपत्यकालाई प्रदूषणको उच्च विन्दुमा पुर्याउने गरेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, वायु प्रदूषण र मानवीय गतिविधि नै प्रदूषण बढाउने कारण हुन्।
आज भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहरको शीर्ष स्थानमा छ। दिल्लीमा एक्यूआईको मान ३१२ छ। जबकी डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ। ४००-५०० पुग्दा भने गम्भीर ठानिन्छ।
पाकिस्तानको लाहोर दोस्रो प्रदूषित सहर बन्दा भारतकै कोलकाता तेस्रो स्थानमा छ। इजिप्टको काइरो चौथो र भारतकै बुम्बै पाँचौ स्थानमा छन्।
यी सहरमा वायु गुणस्तर संसारकै अस्वस्थकर अवस्थामा पुगेको छ। प्रदूषक र जैविक इन्धनको अतिप्रयोग तथा ठूलो भूभागका खेतबारीमा पराललगायत वनस्पति जलाउँदा निस्कने धुवाँले यी देशमा हरेक वर्ष वायु प्रदूषणले रेकर्ड राख्ने गर्छ।
चिसो भएपछि गह्रौं हुन्छ र त्यसले वायुमण्डलमा रहेको धुवाँधुलोका साना कणलाई पनि जमाएर तल्लो तहमै ल्याइपुर्याउँछ। पृथ्वीको सतहबाट उडेको धुवाँधुलोका कण पनि वायुमण्डलको तल्लो तहमा रहने त्यही गह्रुँगो चिसो पश्चिमी वायुमा जमेर बस्छ। फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम (हट एण्ड ड्राइ समर सिजन) का बेला त प्रदूषणस्तर झनै माथि पुग्छ।
जनस्वास्थ्यविद्हरूका अनुसार वायु प्रदूषणले फोक्सो हुँदै स्वासप्रश्वास प्रणालीमा सबैभन्दा बढी असर पुर्याउँछ। यही प्रदूषणका कारण अस्वस्थ हुँदा शरीरका विभिन्न अंगमा एकसाथ चिसोले आक्रमण गर्छ।
प्रदूषण व्याप्त हुने जाडो याममा हातखुट्टादेखि आँखा सुन्निनेसम्मका समस्या निम्तिन्छन्। वायु प्रदूषणयुक्त स्थानमा बस्दा हृदयघात हुने सम्भावना गुणात्मक बढ्छ। वायु प्रदूषण हुँदा स्वासप्रस्वास, आँखा र छालाका विरामीको संख्या ह्वात्तै बढ्ने गरेको छ।
हिउँद यामको प्रदूषित चिसो हावामा रहेको विषाक्त धुवाँधुलोका कण फोक्सोभित्र पस्न नदिन चिकित्सकले मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन्। डब्ल्यूएचओले कमजोर वायु गुणस्तरले गर्भमै भ्रूणको मृत्यु हुने, समय नपुगी बच्चा जन्मिने अनि संत्मक दुर्बलता र विस्मृतिजस्ता स्नायुप्रणालीसम्बन्धी समस्या उत्पन्न गराउँछ।
त्यसैले यसको जोखिमबाट जोगिनु नै उत्तम विकल्प हो। वायुप्रदूषणको जोखिमबाट जोगिन मास्क प्रयोग गर्ने, अनावश्यक बाहिर ननिस्कने, बिहान-बेलुकीको समयमा काम पर्दा मात्र निस्कने, शरीरलाई न्यानो राख्ने गर्नुपर्छ।
Facebook Comment