नियात्रा : कालिञ्चोक भगवती

भूमिका गैरे, तिमिल्सिना
८ मंसिर २०८१ ७:१४

” मार्गशीर्ष शुभे मासि यादाद्यात्रा महीपति ” यस भनाइबाट यो स्पष्ट हुन्छ कि यात्राको अर्थ गति हो। नियात्रा यात्राको क्रममा देखिएका, भोगिएका राम्रा-नराम्रा अनुभवहरुलाई जस्ताको तस्तै वर्णन गरिन्छ। हामीले कुनै पनि कुरा प्रत्यक्ष देखेर, छोएर, अवलोकन गरेर नियात्रा तयार गरिन्छ।

अनुभवहरु संकलन गर्न, व्यवहारिक ज्ञान प्राप्त गर्न यात्रा अनिवार्य हुन्छ। पढेका कुरा बिर्सन सकिन्छ तर प्रत्यक्ष देखेका, अनुभव गरेका कुरा हाम्रो मनसपटलमा सदा ताजा रहिरहने हुनाले पनि यात्रा गर्नुपर्ने हुन्छ।

मानिसलाई व्यस्त जीवन, दिनरातको काम गरिरहँदा कहिलेकसो यात्राले पनि पुन: ताजापन आउँने हुनाले पनि यात्राको महत्त्वपूर्ण भूमिका रहन्छ। कुनै पनि ठाउँको धार्मिक, सांस्कृतिक, प्राकृतिक, पौराणिक, ऐतिहासिक महत्त्व बुझ्न त्यस ठाउँको भाषा, धर्म, संस्कृति, रहनसहन, जीवनशैली, चालचलन नजिकैबाट नियाल्न यात्रा आवश्यक हुन्छ। यात्राबाट हामीले प्रत्यक्ष रुपमा धेरै तितामिठा अनुभवहरु संकलन गर्छौं।

हामी शिक्षकसाथीहरु नेपालको दोलखा जिल्लामा अवस्थित कालीञ्चोक भगवतीको थानमा जाने निर्णय गर्‍याैं। त्यसका लागि पौष २८ र २९ गतेलाई रोज्यौं। हामी २० जना शिक्षकसाथीहरु बिहानको ५:०० बजे हाइसमा चढ्यौं।

जसमा कमल तिवारी, तुलसी प्रसाद सापकोटा, रविन भट्टराई, भूमिका गैरे, तिमिल्सिना, सावित्री अर्जेल, सापकोटा, विकास श्रेष्ठ, भावना पण्डित, सुरज भण्डारी, सागर अधिकारी, दिपेन्द्र पौडेल, राजेन्द्र सापकोटा, कपिल लामिछाने, मुरारी तिमिल्सिना , सरिता आचार्य , देवकी केसी, गोमा लुइटेल, सबिता खनाल, सामना शर्मा, दीक्षा सिम्खडा, आरती पराजुली हुनुहुन्थ्यो।

नारायणगढ, मुग्लिनको सडकखण्ड हुँदै हाम्रो यात्रा अगाडि बढ्यो। हामी बिहान ११:०० बजे कलंकी पुग्यौं र खाना खायौं। त्यसपछि हाम्रो यात्रा बनेपा, धुलीखेल, पाँचखाल , दोलालघाट सिन्धुपाल्चोक , सुकुटे, जलबिरे, खाडीचौर, सुनकोशी हुँदै अगाडि बढ्यौँ।

सिलढुंगा, मुडेमा खाजा खाई खरीढुंगा, गोच, मकैबारी हुँदै चरिकोटसम्म पुग्यौं त्यहाँ पुग्दा बेलुकाको ८: ०० बजेको थियो। त्यहाँ किनमेल गरेपछि चरिकोटबाट अलिकति अगाडिबाट कुरीगाउँ जानका लागि छुट्टै वलेरो जीप र हाइसमा दश-दशजना गरी गर्‍याैं।

१८ किलोमिटरको पहाडी घुमाउरो, साघुँरो बाटो रहेछ। कहीँ कच्ची त कहीँ पक्की बाटो हुँदै हामी उकालो चढ्दै गयौं। रातिको समय जंगगली जनावरहरुको डर, दुबैतर्फ घना जंगलका बीच साघुँरो बाटो हुँदै हामी उकालो लाग्यौं। हामी कुरी गाउँ ९:३० मा पुग्यौं। त्यहाँ गएर हामी होमस्टेमा बस्यौं।

अत्यन्तै चिसो , हिउँ पर्ने ठाउँ रहेछ कुरी गाउँ। होमस्टेका दाजुले दुईटा मकलमा आगो बालिदिनु भयो। हामी चिया पिउँदै त्यहीँ आगोको नजिक गोलो भएर बस्यौं। झिरमा, जालीमा मासु पोल्दै खाँदै गयौँ। दिनभरिका यात्राका लगाएत अन्य विषयमा गफ गर्दै रमाइलो गर्‍याैं। रातिको ११:३० बजे खाना खायौं। त्यसपछि केही साथीहरू हिउँ परेको हेर्न जानुभयो। राति १:०० बजे सुत्यौं।

भोलिपल्ट बिहान ५:०० बजे हामी सबैजना उठ्यौं। बिहानको नित्य कर्म सकेर हामी कालिञ्चोक भगवतीको थानतर्फ लाग्यौं। नेपालको दोलखा जिल्लामा रहेको समुन्द्री सतहदेखि करिब ३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको थानतर्फ प्रस्थान गर्‍याैं।

हामी जाँदै गर्दा कोही साथी पैदल हिँडेर त कोही साथी केवलकारबाट गयौं। हामी ५:०० मिनेटमा केवलकारबाट डाँडामा पुग्यौं। त्यहाँबाट चारैतिर देखिने हिमश्रृखला, मनोरम प्राकृतिक दृश्यले सबैको मन लोभ्यायो। त्यहाँबाट देखिने कञ्चनजंघा , जुगल, गणेश, गौरीशंकर लगाएतका अन्य हिमाली दृश्य अत्यन्तै मनमोहक पायौं।

त्यहाँ नजिकै सेल्फी डाँडा रहेछ। त्यहाँबाट देखिने चारैतिर पहाड बीचमा झुरुप्प कुरी गाउँ, जसमा एकै किसिमका घरहरुले पनि सबैको ध्यान खिचिरहेको थियो। प्राकृतिक, धार्मिक, सांस्कृतिक, पौराणिक विविधताले भरिएको उक्त ठाउँले स्वर्गीय, अलौकिक आनन्दको अनुभूती गरायो।

जसको कोही हुँदैन त्यसको कालिञ्चोक भगवती हुन्छिन् भन्ने जनविश्वास रहेको पायौं। भगवतीको थानमा एउटामात्र वरदान मागेमा सो वरदान पूरा हुने जनविश्वास रहेको पायौं। लामो लाइन मानिसहरूको उत्तिकै भिड थियो। भगवतीको थानमा विशेषगरी त्रिशूल र घन्टी चढाइने रहेछ।

त्यहाँ मंगलबार र शनिबार भक्तजनहरुको भिड हुँने कुरा मन्दिरका पुजारी भिम थापाबाट जानकारी पायौं। त्यहाँ विशेष गरेर नयाँवर्ष, वडादशैं, चैतेदशैं , जनैपूर्णिमा लगाएतका पर्वहरुमा बढी भिड हुने पनि जानकारी पायौं।

हामी करिब ८:३० बजेतिर त्यहाँबाट फर्कियौं। सबैजनाले खाना खाई ९:३० मा जीप चढी तल झर्‍याैं। साह्रै मनमोहक दृश्य, हिमाल, पहाड, वरिपरिको बजार सबै देखिने हुँदा रमाइलो अनुभव गर्‍याैं। बाटो साघुँरो भएपनि त्यहाँबाट देखिने दृश्य अत्यन्तै सुन्दर थियो।

करिब ११:३० मा हामी दोलखा, चरिकोटको भीमेश्वर मन्दिर दर्शन गर्न पुग्यौं। मन्दिर पुग्नुभन्दा केही अगाडिबाट ढुंगाले छापेको साघुँरो बाटो रहेछ। मन्दिरमा बिहान, दिउँसो गरी विशेषत: तीन अवतारको पूजा गरिने कुरा जानकारी पायौं। देशमा ठूलै अनिष्ट हुनु पूर्व भीमेश्वर महादेवको मूर्तिमा पसिना आउँने कुराको जानकारी पायौं।

शाहवंशीय राजा बीरेन्द्रको वंशनाश हुनु पूर्व, २०७२ सालको भूकम्प जानु पूर्व मूर्तिमा पसिना आएको जानकारी पायौं। मूर्तिमा पसिना आएदेखि देशमा ठूलै अनिष्ट घटना घट्न सक्ने संकेत हो भनि स्थानीय बासिन्दाहरुले विशेष किसिमको पूजा गर्ने गर्दा रहेछन् भन्ने जानकारी मन्दिरका पुजारीबाट पायौं।

धार्मिक मान्यता, व्यापारिक दृष्टिकोणले पनि भीमेश्वर मन्दिर चिनिने रहेछ। कालिञ्चोक भगवतीको थानमा दर्शन गरेपश्चात भीमेश्वर मन्दिरको दर्शन गरेपछि मात्र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पनि मन्दिर पुजारीबाट जानकारी पायौं।

हामी सबैजना १:०० बजे त्यहाँबाट फर्कियौँ । करिब ३:०० बजे मुडेमा खाजा खायौँ । सिन्धुपाल्चोकको खाडीचौरबाट लामोसाँघु हुँदै हामी अगाडि बढ्यौं। हामीले बाटो वरिपरिको प्राकृतिक स्रोत एवम् कृतिम संरचना हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो। बाह्रबिसे, राम्चे, भोटेकोशीमा रहेको ठूला-ठूला सुरुङहरु हेर्दै गयौं। तातोपानी हुँदै नेपाल र चीनको संगम स्थल खासासम्म पुग्यौं। त्यहाँ पुग्दा बेलुकाको ५:२० भएको थियो।

करिब ७:०० बजे हामी त्यहाँबाट पुन: फर्कियौं। हाम्रो घर फर्कने रात्रीकालीन यात्रा शुरु भयो। राति ११:०० काठमाडौंको कलंकी आएर खाना खायौं। १२:२० मा हामी त्यहाँबाट हिड्यौं। धादिङमा चिया पियौं। पुन: हामी त्यहाँबाट फर्कँदै गर्दा हामीसबै निदाएका थियौं। समय २:४० भएको थियो।

बेनीघाटमा आइपुग्दा मुग्लिनबाट जाँदै गरेको बस र हामी चढेको हाइस करिब १० मिटरको बीच दूरी थियो। एक्कासी! माथिबाट ढुंगासहितको सुख्खा पहिरो खस्यो। दुबै गाडी टक्क रोकियो। हामी चढेको हाइसमा ठूलै ढुंगाले लाग्यो। हाइस अगाडिको भागमा क्षति भयो। सबैजना हतासियौं र डरायौँ पनि।

हाइस व्याक गर्दा पछाडि जीपमा नराम्रोसित ठोकियो। पछाडि जाम परी सकेको रहेछ। सबैजना अतालिदै ओर्लिनु भयो। मभने अगाडि थिए। हाइसको ढोका खुलेन सायद! आत्तिएर होला। यसो पछाडि हेर्दा त सबै निस्किसक्नु भएको रहेछ। यसो हेर्दा त सुरज सर र ड्राइभर दाजु पनि निस्किसक्नु भएको रहेछ।

अनि त झन आत्तिँदै ड्राइभरको साइडबाट निस्किए। पहिरो खस्ने क्रम जारी रह्यो। सबैजना स्तब्ध भयौं। एक-अर्काको मुखमा टुलुटुलु हेरिरह्यौं। हातगोडा थरथर कापिरहेका थिए। आज! ठूलै कालले बाँचियो भन्यौं भगवान् सम्झियौं। त्यहाँ जीप र हाइस बीचमा विवाद सृजना हुन थाल्यो।

अनुकुल समय हेरेर हामी बाटो कट्यौं। केही अगाडि बेनीघाटको अस्थायी प्रहरी क्याम्पमा आयौं। विवादले ठूलै रुप लियो। हाइस र जीप बीच कानुनी प्रक्रियाबाट सहमति भयो। हामी बिहान ४:२० मा पुन : त्यहाँबाट नारायणगढतर्फ अगाडि बढ्यौं। यसरी बिहान ६:३० बजे सकुसल घरमा आइपुयौं।

नेपालमा सडकको अवस्था अत्यन्तै नाजुक छ। कति बेला कहाँ के हुने हो, थाहा छैन? यस्तो स्थितिमा आन्तरिक पर्यटक लगाएत अन्यलाई पनि अत्यन्त जोखिम छ। पहाडि बाटो डोजर चलेपछिको खुकुलो माटो कतिखेर खस्ने हो थाहै छैन? आफनो ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपर्ने कस्तो बाध्यता?

यसमा सम्बन्धित निकायको ध्यानाकर्षण होस्। आन्तरिक पर्यटकलाई प्रवर्द्धन गराउँन सकेमा हाम्रो देशमा विभिन्न ठाउँका कुनाकाप्चामा रहेका स्वर्गीय आनन्द महसुस गराउँने यस्ता कैयौं ठाउँहरु छन्। जुन हामीले नजिकैबाट देख्न, बुझ्न र जान्न जरुरी छ।

हामी विदेशका झिलमिलदेखि रमाउँन खोज्छौं तर आफ्नै देशको बारेमा खासै चासो राख्दैनौं। पहिला आफ्नै देशका विभिन्न ठाउँको बारेमा अध्ययन, अवलोकन, भ्रमण गरी जानकार रहनुपर्छ।

जसले गर्दा नेपालमा रहेका विभिन्न जात, विभिन्न भाषा, विभिन्न संस्कृति, रहनसहन, चालचलन, दिनचर्या, भौगोलिक पर्यावरण, जनजीवन, परम्परालाई नजिकैबाट अध्ययन गर्न सकिन्छ। नेपालका विभिन्न आस्था बोकेका धार्मिक स्थलहरुको पनि जानकारी हुन्छ। नेपाल क्षेत्रफलमा सानो भएता पनि यहाँ विभिन्न भाषा, जात, धर्म, संस्कृति , परम्परा अटेकाले यो आफैंमा विशाल छ।

गैंडाकोट : ४, नवलपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *