सत्तामा रहेर दु:ख दिने सरकारले सडकमा गएरसमेत दु:ख दिन थाल्यो!
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले आज जागरणसभा भव्यताका साथ मनाइरहेको छ। काठमाडौंको भद्रकालीबाट एमालेको र्याली प्रारम्भ भइसकेको छ।
र्याली सहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने छ। र, सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले दिउँसो १:३० बजे सम्बोधन गर्नेछन्।
र्यालीको नेतृत्व एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले गरिरहेका छन्। जागरणसभाको संयोजकको जिम्मेवारी पाएका एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई कम्बोडिया पुगेपछि जिम्मेवारी ढुंगेलको काँधमा आएको हो।
र्यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक सहभागी छन्। एमालेले आजको सभामा एक लाखभन्दा बढी मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ। तर, आफैँ सत्ताको नेतृत्व गरिरहेको दलको यो तामझाम केका लागि भन्दै जनस्तरबाट चर्को विरोध भइरहेको छ।
एमालेले लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा नाम दिए पनि सत्ताको नेतृत्व आफैँले गरिरहेकाले कसलाई जागृत गर्न खोजेको हो भन्दै प्रश्न उठेको हो।
सामाजिक सञ्जाल प्रयोगकर्ता सौरभ कार्की सरकारले सत्ता र सडक दुवै ठाउँबाट जनतालाई दु:ख दिइरहेको आरोप लगाउँछन्। ‘क्या बब्बाल सरकार छ यार हाम्रो। सत्ताबाट पनि दु:ख दिन्छ। त्यतिले नपुगेर सडकबाट समेत दु:ख दिँदैछ,’ उनले लेखेका छन्।
पत्रकार प्रकाश तिमिल्सिनालाई एमालेको कार्यक्रम जागरण सभा जस्तो लाग्दैन। उनले डिफेन्सिभ सभाको रुपमा कार्यक्रमलाई बुझेको टिप्पणी गरेका छन्।
‘यो ‘जागरणसभा’ होइन, ‘डिफेन्सिभ सभा’ भनेर बुझेको छु। प्रम ओलीका नाममा हिजो हजारौं मान्छेहरू सडकमा आफैँ उत्रन्थे। तर, आज बोलाई बोलाई उर्दिलगाएर ल्याउनु परेको छ। यो अवस्था किन भयो र आयो? खासमा एमालेले आत्मसमीक्षा चाहिँ यसमा गर्नुपर्ने थियो। एक जना एमाले सांसदले भनेको सम्झन्छु, हाम्रो कुरा सुन्दैनन् तर तरिका चााहिँ उल्टो भइरहेको छ।’
आफैँ विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलन घोषणा गरेकोमा उनलाई टक्कर दिनेगरि एमालेले सभा गरेसँगै चर्को विरोध भएको हो।
कुनै बेला एमाले अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध रहेका प्रसाईं भने प्रहरी हिरासतमा छन्। सोमबार प्रसाईंले युट्युबरसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम स्मार्ट एक्जिएटा प्रालिमा लगानी गरेको दाबीसहित केही शंकास्पद कागजपत्र सार्वजनिक गरेका थिए। प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजात कीर्ते गरेर तयार पारिएको पाइएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन्।
विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा बुधबार काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर प्रहरीले प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ। यससँगै उनले गर्ने आन्दोलन तुहिएको छ।
Facebook Comment