दरबारमार्गबाट प्रधानमन्त्री ओलीले दिन खोजेको सन्देश के हो?

डिसी नेपाल
७ मंसिर २०८१ २०:२०

काठमाडाैं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको समीकरणले पुरै समय काम गर्ने स्पष्ट पार्दैै कसैले चाहेर हल्लाउन नसक्ने दावी गरेका हुन्।

“म २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु। अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ। यसमा कुनै भ्रम नराखे हुन्छ।’

उनले अहिले सरकार कांग्रेस र एमालेले चलाएको र दुई पार्टी प्रतिस्पर्धी भए पनि देशलाई अप्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आउनुपरेको दाबी गरे।

उनलेअनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको जिकिर गरे।

प्रधानमन्त्री ओलीले अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए। उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने बताए।

ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूले कम्बोडियाको टेलिकममा अर्बौ लगानी गरेकोभन्दै सार्वजनिक गरेको फेक भिडियोबारे खण्डन गरे ।

उनले उक्त भिडियो प्रकरणप्रति लक्षित गर्दै अमेरिकाको बैंकमा भएको आधा सम्पत्तिपनि आफ्नै भएको ठट्टा गरे । उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !’ उनले भने ।

ओलीले नेपालबाट कम्बोडिया चार घण्टामा नै पुग्न सकिने भन्दै गएर हेर्न पनि विरोधीहरुलाई चेतावनी दिए। “चार घन्टाभित्र कम्बोडिया पुग्न सकिन्छ। बैंककबाट ४५ मिनेटको उडानमै त्यहाँ पुगिन्छ। त्यहाँ गएर हेर्दा सबै स्पष्ट हुन्छ। तर, यहाँ अनावश्यक भ्रम फैलाएर जनतालाई अलमल्याउन खोजिएको छ ।” उनले भने।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको चाइना कार्डको अभिव्यक्तिप्रति खण्डन गरेका छन् । केही दिन अघि प्रचण्डले भारतीय अनलाइनलाई अन्तवार्ता दिँदै ओलीले भारत चिड्याउन चाइना कार्ड खेलेको टिप्पणी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्ति एमालेले संस्थागत रुपमा नै खण्डन गरिसकेको छ । सो अभिव्यक्तिबारे ओलीले पनि टिप्पणी गरेका हुन् ।

‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के(केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो.. कस्तो हुन्छ परिपक्व भनेको ? कता जानुपर्नेरु धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन् !,’ प्रधानमन्त्री ओलीले भने।

नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको संकल्पलाई पुरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पारे।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताए।

देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताए। त्यस्तै प्रधानमन्त्री ओलीले कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने बताए। आफैं सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने प्रवृति सह्य नहुने उनको भनाइ छ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताए। उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए।

ओलीले देश बनाउने अभियानमा लाग्न र पार्टीभित्र कुनै गुटबन्दी नगरि अघि बढ्न एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *