अमेरिका र रूसपछि तेस्रो परमाणु शक्ति युक्रेन अचानक गुहार माग्ने अवस्थामा कसरी पुग्यो ?
काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्धको १ हजार दिन पूरा भई अहिले गम्भीर चरणमा पुगेको छ । रुसले युक्रेनी सहर डिनिप्रोमा बिहीबार लामो दूरीको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम) आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।
यदि युक्रेनको दाबी सत्य साबित भयो भने यो इतिहासमा पहिलो पटक कुनै पनि देशले आणविक हतियार बोक्न सक्षम मानिने आईसीबीएम प्रयोग गरेको हुनेछ। तर, मस्कोले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
युक्रेनले बाइडेन प्रशासनबाट प्रयोगको स्वीकृति प्राप्त गरेपछि रसियामा अमेरिकी निर्मित छवटा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि यो घटना भएको हो। रुसले यसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले खिचेको रातो रेखा पार गरेको रूपमा अर्थ लगाएको छ । अहिले दुई देशबीचको वर्तमान बढ्दो तनावका कारण आणविक युद्धको खतरा पनि उत्तिकै देखिएको छ ।
अहिले विश्वका धेरै देशले आणविक हतियार हासिल गर्न खोजेका छन् र केही देशले गोप्य रूपमा त्यसो गर्न खोजिरहेका छन् । परमाणु युद्धका सन्दर्भमा विश्वको अवस्था अहिलेको जस्तो पहिले कहिल्यै थिएन। एक समय युक्रेनसँग रूस र अमेरिका पछि तेस्रो ठूलो आणविक हतियार भण्डार थियो। यो उसले सोभियत संघबाट विरासतमा प्राप्त गरेको थियो ।
सोभियत संघले रूस, बेलारुस र काजाकिस्तानसँगै युक्रेनमा पनि आफ्नो आणविक कार्यक्रम विस्तार गरेको थियो। एनटीआईका अनुसार आणविक हतियार मात्र नभई ५,५०० किलोमिटरसम्मको न्यूनतम दायराका १७६ आइसीबीएम मिसाइलहरू पनि युक्रेनसँग थिए। यसबाहेक युक्रेनसँग १० थर्मोन्यूक्लियर बम पनि थिए जुन हिरोसिमा र नागासाकीमा खसालेको आणविक बमभन्दा धेरै गुणा शक्तिशाली थिए ।
आज युक्रेनसँग कुनै आणविक हतियार छैन । अहिले युक्रेन रूससँग लड्न आफ्नो सैन्य आवश्यकताहरूको लागि अमेरिकामा धेरै निर्भर छ। “तथ्य यो हो कि युक्रेनसँग हतियारहरू थिए, उसले ती हतियार बुझायो र अब यस्तो अवस्थामा छ” हार्वर्ड विश्वविद्यालयकी युक्रेन विशेषज्ञ मारियाना बुडगेरिनले न्युयोर्क टाइम्सलाई बताइन्।
सोभियत भण्डारको हतियार परिचालनको नियन्त्रण सधैं रूसको साथमा रह्यो। मस्कोको हातमा ‘आणविक ब्रीफकेस’ थियो । आणविक ब्रिफकेस त्यो उपकरण हो जसबाट आणविक हतियार नियन्त्रण गरिन्छ । यद्यपि युक्रेनी वैज्ञानिकहरूले सोभियत आणविक कार्यक्रममा काम गरिरहेका थिए र युक्रेनसँग भण्डार सञ्चालन र मर्मत गर्ने वैज्ञानिक ज्ञान थियो।
१९९० को प्रारम्भमा युक्रेन अन्तर्राष्ट्रिय समुदायमा एक प्रसिद्ध नाम थिएन । भर्खरै सोभियत युनियनबाट अलग भएको नयाँ देश थियो र उसले स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्राप्त गर्न प्रतिष्ठा र पहिचान निर्माण गर्नु आवश्यक थियो।
युक्रेनले आफ्नो ५ हजार भन्दा बढी आणविक हतियारको भण्डारलाई बार्गेनिङ चिपको रूपमा प्रयोग गर्यो । हार्वर्डकी मारियाना बुड्जेरिनले एनपीआरलाई छुट्टै अन्तर्वार्तामा भनिन्, “यी हतियारहरू राख्दा युक्रेनका लागि आर्थिक र अन्तर्राष्ट्रिय राजनीतिक नतिजाहरूको सन्दर्भमा महत्त्वपूर्ण परिणाम हुने थियो। त्यसैले यो सजिलो निर्णय थिएन।”
सन् १९८६ मा युक्रेनी सहर चेर्नोबिलमा भएको आणविक प्रकोपले पनि आणविक शब्द मानिसका लागि अभिशाप बनेको थियो । सन् १९९३ देखि १९९८ सम्म युक्रेनका लागि अमेरिकी राजदूत रहेका विलियम मिलरका अनुसार सन् १९८६ मा उत्तरी युक्रेनमा भएको चेर्नोबिल प्रकोपले गर्दा युक्रेनले “आणविक हतियार हटाउन आवश्यक महसुस गरेको थियो।”
पूर्व आणविक बेस कमाण्डर र युक्रेनी संसद सदस्य भोलोडिमिर टोलिउबको सहित धेरै शीर्ष अधिकारीहरूले युक्रेनले आफ्नो आणविक भण्डारलाई कहिल्यै छोड्नु हुँदैन भनेर जोड दिएका थिए । तर, युक्रेनले १९९१ मा आफू स्वतन्त्र भएको घोषणा गर्यो र १९९४ मा आणविक अप्रसार सन्धि मा हस्ताक्षर गर्यो ।
यो सन्धि १९६८ देखि आणविक हतियारहरू विरुद्धको प्रमुख सम्झौता हो। त्यो सम्झौताले युक्रेनको सार्वभौमसत्ताको सुरक्षाको ग्यारेन्टी गर्यो । यसलाई बुडापेस्ट मेमोरेन्डम भनिन्छ। युक्रेनले जुन २, १९९६ सम्ममा आफ्नो आणविक हतियारहरू सबै रूसलाई बुझाएको थियो ।
Facebook Comment