रविको सहकारी ठगी जालो बढ्दै
काठमाडौं। एउटा पूर्व संचारकर्मी र एउटा अमेरिकामा बसेर आएको व्यक्तिले राजनीति गरेपछि पक्कै फरक शक्तिको धार लिएर नै आएको हुनुपर्छ भन्ने अनुमान सबैमा थियो। किनकि अमेरिका सपनाको देश हो।
जीवन सिकाइका लागि विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालय हो। सबैभन्दा ठूलो सपना साकार हुने देश हो। अनि अझ त्यसमा थपिएको संचारकर्मले झन् फराकिलो बनाएको हुन सक्ने आँकलन हुने नै भयो। तर तिनै आईए पढेका रवि लामिछाने भने वास्तवमै ठगको कित्तामा उभिएका छन्।
उनले थाहा नपाउने गरी साम, दाम, दण्ड, भेदको प्रयोग गरेको खुल्दै आएको छ। अमेरिकामा छँदा बैंकहरुको ठगीदेखि लिएर अनेक महिलासँग जोडिएका श्रृंखला, गरेका केही बिहेको चर्तिकला, दोहोरो नागरिकता, दोहोरो राहदानीसँगै नेपालमा जब संचारकर्ममा होमिए तब साहु बनेर चलाउन हुटुटीले उनी थुप्रै प्रकरणमा तानिएका छन्। अझ पार्टी नै खोलेपछि त यिनका कर्तुत झन् छताछुल्ल हुँदै आएका छन्।
तिनै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने अहिले सहकारी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुछिएका छन्। उनीमाथि अहिले चार ओटा जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरिसकेका छन्।
उनीसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चौथो जिल्लामा पक्राउ पुर्जी जारी भएको छ। गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा रहेका छवि र कार्तिक २ गतेदेखि हिरासतमा रहेका रविविरुद्ध चौथो जिल्ला चितवनमा पनि पक्राउ पुर्जी जारी भएको हो। गत शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले पक्राउ पुर्जीजारीका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
रवि र छविसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा बचतकर्ताले रवि र छविसहित १० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।
साहाराबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। यसअघि असोज ८ गते साहारासहकारीका बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ।
यसअघि कास्की, रुपन्दही र काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो। रवि र छवि दुवै जना कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। शुरुआतमा पोखराको सूर्यदर्शन सहकारी ठगीमा उहीहरु पक्राउ परेका थिए। दुवैले रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान दिएका थिए।
बुटवलस्थित सुप्रिम सहकारी ठगीमा बयान लिन उनीहरुलाई रुपन्देही पुर्याइएको थियो। त्यस्तै छविले काठमाडौँमा बयान दिएका छन्। उनलाई शुक्रबार काठमाडौँबाट बयान लिएर कास्की फर्काइएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन पाखराबाट काठमाडाैं ल्याइएका छविको बयान सकिएपछि पोखरा फर्काइएको हो। छविलाई गत मंगलबार कास्कीबाट काठमाडौँ ल्याइएको थियो।
अब रविलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। छविलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबार र बिहीबार बयान लिएको थियो। बयान सकिएसँगै उनलाई शुक्रबार पोखरा फिर्ता पठाइएको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरीले पोखराबाट अब रविलाई झिकाउने तयारी गरेको छ। उनलाई आइतबार कास्की जिल्ला अदालतले हिरासतमा रहने समय थपेसँगै काठमाडौँ ल्याइने प्रहरी स्रोतले बताएको छ।
रवि र छविसमेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन्। सहकारी ठगीका मुख्य आरोपी ग्यालक्सीका सञ्चालक गितेन्द्र राई (जीबी) भने अझै फरार छन्। रविलाई काठमाडौं ल्याएर बयान गराएर पाखरा फर्काइ फेरि त्यसका केही दिनमै चितवन पनि बयानका लागि लगिने बताइएको छ।
रविको नागरिकता काण्ड मिलिसकेको भए पनि राहदानी काण्ड अझै मिलेको छैन। अब उनलाई त्यसमा पनि धकेल्न बाँकी छ।
जनभावना साप्ताहिकबाट
Facebook Comment