लघु कथा : जँड्याहा
ओहो! सरहरु नमस्कार,
रेष्टुरेन्ट छिर्ने बित्तिकैको पहिलो स्वागत रेस्टुरेन्ट सञ्चालकले गरे काउन्टरबाट नै। प्रायः जाने ठाउँ भएर नै राम्रो चिनजान थियो। चिनजान यति थियो कि कहिलेकाँही त उधारो समेत दिन टाउको कनाउनथेनन् साहुजी।
कान्छा ए कान्छा ….
निकै ठूलो स्वरमा बोलाए कान्छालाई, कान्छा अर्थात् उनको रेष्टुरेन्ट” मनकामना रेष्टुरेन्टमा काम गर्ने कामदार, अन्दाजी १३/१४ बर्षको हिस्सी परेको, गालामा सिगानकै टाटो भएपनि पुक्क पुक्क गाला र पेटमा प्वाल परेको गन्जी लगाएको एउटा बालक।
ल सरहरु बस्ने कटेज साफ गरिदे, साहुजीकाे आदेशलाई चुपचाप सुनेर टाउको हल्लाउँदै लाग्यो कान्छा हामी बस्ने कटेज तिर र कान्छालाई पच्छाउँदै हामी।
सर सफाइ झ्याप झुप गरिहाल्यो कान्छाले, के ल्याउँ सर उसको पहिलो वाक्य यही थियो।
पहिले दुइटा सिखर आइस र एउटा् सूर्य चुरोट ल्याउ बाँकी पछि भनाैंला, नारायणले अर्डर गरे।
एकैछिनमा चुरोट पनि ल्याइहाल्यो कान्छाले र बाकी अडर दिए सागरले, १ बोत्तल खुकुरी रम, एउटा चाउचाउ साँधेको र दुई ठाउँ भुटुवा ल्याउ न अहिलेलाई अरु मगाउँदै गरौंला।
सागरको अडर सुनेर मुकेशले असहमति जनाउँदै भने, त्यत्रो खान सकिएला र?
समीप बोल्यो: ह्या सकिन्छ हौ किन तर्सिएको?
समिपको कुरा हाम्रो टिममा कसैले काट्नै सक्थेनन् यहाँसम्म कि मैले पनि। मुकेशले जबर्जस्ति नै भएपनि सहमति जनाउँदै उसोभए एउटा अण्डा चाउमिन पनि ल्याउ भनेर थप अर्डर दिए। मुकेश भेजिटेरियन थिए तर अण्डा चाहिँ खान्थे यसैकारण प्रत्येक बसाईमा उनी मजाकको पात्र हुने गर्थे त्यसदिन पनि त्यही नै भयो।
म मोबाइलमै व्यस्त थिए खै कसको फोन आएको थियो कुन्नि, उमेरले सबैको दाइ भएपनि संगत व्यवहारमा हामी साथी जस्तै थियौं।
समीपले झर्किँदै भन्यो-ह्या दाइ कति मोबाइलमा व्यस्त हो के हजुर जतिबेला पनि कहिलेकाँही त मोबाइल अफ गरेरै भाइहरुसँग गफगाफ गरेपनि हुन्छ है।
मैले हस् भन्दै मोबाइल फ्लाइट मोडमा राखेँ र हामी पिउन थाल्यौं। एक बोत्तल रित्तिँनै लाग्दा समीपले अर्को आधा बोतल पनि मगाउन कान्छालाई बोलायो, नारायणले घरबाट फोन आयो हुँदैन हिंड्नुपर्छ अब भन्दै असहमति जनाउँदै थिए।
मैले जवाफ दिनै परेन। समीपले नारायणलाई चुप बनाइहाल्यो र मलाई पनि पुनः पिउन सहमत गराइ छाड्यो, सागर र मुकेशले कुनै धारणा व्यक्त गरेनन्। नारायण बोल्यो-धेरै नपिलाउ दाइलाइ त्यत्रो टाढा जानु छ, गाडी चलाउने दाइले नै हो, मापसेमा परिएला फेरि।
नारायणलाई यसपाली समीपले जवाफ दिनै परेन-दाइलाई समात्ने हिम्मत कसैले राख्दछ र यार यो क्षेत्रमा? दाइ हिरो र डन सबथोक हो, हाम्रो दाइ अल इन वान हो” भन्दै हात अगाडि बढायो, हात मिलाउन, मैले जुठै हात मिलाइदिए मुकेशसँग।
उसलाई चढिसकेको थियो। प्राय मान्छेले नशा चढेपछि नै आफूलाई सर्वशक्तिमान ठान्ने गर्छ भन्ने कुरा लगभग प्रमाणित भैसकेको थियो। नारायणले पुन जवाफ दिए-मापसे नपरेपनी एकातिर लगेर ठोकदिन्छ्न् अनि थाहा पाउँछौ सुड्डो, समीपलाई नारायणले बेलाबेला सुड्डो भनेर सम्बोधन गर्ने गर्थे खासमा पिएको बेला, मातेको बेला, डाइलग समीपलाई थियो तर डाइलग फर्काए सागरले-ह्या बरु दाइले नखाएको बेला ठोक्नु होला तर खाएको बेला त मैले भगवान् आएर भनेपनि पत्ताउदिन ठोक्नुहुन्छ भनेर”
सागरले यसरी ग्यारेन्टी लिए मानौं उनले भबिष्य देखिसकेका छ्न्। म केवल उनीहरुको कुरामा हाँसिरहे, पिएर सकिसक्दा लगभग ११ बजिसकेको थियो। रेष्टुरेन्टको मुल गेट बन्द भैसकेको थियो र हामी बाहेक रेष्टुरेन्टमा अरु ग्राहक पनि थिएनन्।
हिसाबकिताब मिलाएर हामी साइड गल्लीबाट बाहिर निस्कियौं, मुकेश र नारायणलाई उनीहरुको घरसम्म पुर्याइदिए, सागरलाई घरसम्म छोड्न जानु परेन समीपको घर मेरै घर जाने बाटोमा पर्थ्यो। सागर समीपको घरमा बसे, म आफ्नो घरतिर लागेँ। घर पुगेर सुत्दा रातको लगभग १२ बजेको थियो। कतिबेला निदाएछु पत्तै पाएन।
विहान ६ बजेतिर श्रीमती उठेर कचकच गर्दै चिया ल्याएर बेडको माथिपट्टी राखिदिँदा थाहा पाए बिहान भैसकेको रहेछ। सधैंको कचकच नौलो थिएन उही थियो सधैं जस्तै। रक्सी पिउने राति ढिलो आउने आदतप्रतिको असन्तुष्टि।
उनको कचकच चियाको चुस्कीसँगै पिउँदै थिए। चिया पिएर सकेपछि घर अगाडिको धारामा हातमुख धुन निस्केँ, मेरो आदत म सधैं हातमुख घर अगाडिको धारामै धुन्छु नुहाउन बाथरुम गएपनि।
धारामा गएर ब्रस गर्दा थाहा पाए मैले हिजो हातमा लगाएको लगभग दुई तोलाको सुनको ब्रास्लेट कता खसालेंछु। कसैलाई केही भनिन। भित्र आएर बिस्तारमा हेरेँ छैन, कोठाको कुना कुना, दराज, लकर सबैतिर हेरिसके तर ब्रास्लेट भेटिएन।
गाडी भित्र गएर पनि हेरे कत्तै थिएन त्यसपछि कसैलाई केहि नभनी हिजो राति जुन बाटो फर्किएको थिए त्यही बाटो पुनः पुगे मनकामना रेष्टुरेन्टमा कतै उहीँ पो छोडेँ कि भन्ने आशले। काउन्टरमा साहुजी नै थिए। एकाबिहानै म पिउन गएको थिएन यत्ति कुरा साहुजीलाई पनि थाहा थियो।
त्यसैले होला हिजो साझ हामीलाई परैबाट नमस्कार गरेका मान्छेले म नजिकै पुग्दासम्म केही बोलेनन्। मैले नमस्कार गर्दै सोधेँ-साहुजी, हिजो राति हामीले यहाँ केही समान छोड्यौँ र? मेरो प्रश्न नसकिँदै उत्तर आयो साहुजीकाे-नाइ सर केही छोड्नु भएन, के भयो र सर? हाम्रो कुरा काउन्टरदेखि यस्सो अगाडि पट्टीको दाहिनेतर्फ पर्ने किचनको जुठेल्नामा भाडा मस्काइरहेको कान्छाले सुनेको रहेछ।
हिजो नै लगाएको उही भुडीमा प्वाल परेको टिसर्ट लगाएको थियो। जुठै हात मेरो नजिक आएर आफ्नो देब्रे खल्तीबाट मेरो ब्रास्लेट निकाल्दै भन्यो-लिनुस् दाइ मैले भेटाएको थिएँ हिजो, पक्कै आउनुहुन्छ भनेर साहुजीलाई पनि खबर नगरी राखिदिएको थिएँ।
उसको हातबाट ब्रास्लेट लिँदै मैले मेरो खल्तीबाट पर्स निकालेँ, जम्माजम्मी १६७५ रुपैयाँ रहेछ १५०० रुपैयाँ कान्छालाई दिएँ। लौ कान्छा राख यो पैसा” पैसा नै चाहिएको भए यो ब्रास्लेट किन फिर्ता गर्थेँ र?” यत्ति भन्दै कान्छाले मैले दिएको पैसालाई छुँदापनि नछोइ, जुठो हात गन्जीमा पुस्दै छिर्यो किचन तिर नै।
म स्तब्ध भए एक्छिन केही सोच्नै सकिन, गाडी स्टार्ट गरे र फर्के घरतिर। रेस्टुरेन्ट र घरबीचको लगभग २५ किलोमीटरको दूरीभरी सुनिरहे। ” दिनेश गौतमले गाएको “पैसा कसले बनायो बोलको गीत, दोहोराउँदै।”
देवदह ( हाल कतार)
Facebook Comment