प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन्।
आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए तर देउवा र भट्टराई भने अनुपस्थित भएका छन्।
सत्ताका प्रमुख सहयोगी देउवा धनुषा पुगेका छन भने भट्टराई गृह जिल्ला गोरखा गएकाले उनीहरु उपस्थित हुन नसकेका हुन्। दुवैको पूर्वनिर्धारित कार्यक्रम थियो।
बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायत भने उपस्थित रहेका छन्।
आगामी मंसिर १७ बाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल भने सिंहदरबारमा जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन्।
Facebook Comment