तीन किलो सुन लुटपाट प्रकरण : सशस्त्रका डिएसपी र प्रहरीका असई अनुसन्धानमा तानिए

डिसी नेपाल
११ मंसिर २०८१ १०:२९

काठमाडौं। केरुङ नाकाबाट तस्करीको तीन किलो सुन लुटपाट प्रकरणमा सशस्त्र प्रहरीका एक डिएसपी र नेपाल प्रहरीका एक असईलाई अनुसन्धानमा तानिएको छ।

कन्टेनरमा राखेर काठमाडौं आउँदै गरेका भरिया रामकृष्ण वाइबालाई गत २४ साउनमा धादिङको गल्छी-खानीखोलाआसपासमा चार हतियारधारीको समूहले लुटपाट गरेको घट्नामा सशस्त्र प्रहरीका डिएसपी सञ्जय अधिकारी र नेपाल प्रहरीका असई सविन तिवारीलाई अनुसन्धानमा तानिएको हो।

जसमा सशस्त्र प्रहरीका डिएसपी अधिकारी र नेपाल प्रहरीका असइ तिवारीको भूमिका नै शंकास्पद देखिएको भन्दै उनीहरुलाई अनुसन्धानमा तानिएको हो। उनीहरूको भूमिकासहित घटनाको अनुसन्धान गर्न प्रहरीले एसएसपी ईश्वर कार्कीको नेतृत्वमा समिति नै गठन गरेको छ।

लुटपाटमा सशस्त्र प्रहरीका दुई डिएसपी र नेपाल प्रहरीअन्तर्गत विशेष ब्युरोमा कार्यरत असइको शंकास्पद भूमिका देखिएको हो। त्यति वेला तस्कर समूहले भने लुटपाटमा संलग्न रहेको आशंकामा भरिया वाइबालाई नै अपहरण गरेको थियो। ‘लुटेको आशंकामा तस्करले सुन बोकेर आउने चालक वाइबालाई नै अपहरण गरेछन्।

तर, खासमा सुन लुट्ने धन्दामा वाइबा नभई सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका असइको संलग्नतातिर अनुसन्धानको सुई सोझिएको छ,’अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार सशस्त्र प्रहरीका एक डिएसपीले भने जागिर नै छाडेर हिसिकेकाले उनको हकमा के गर्ने भन्ने प्रश्न रहेको छ। उनी विदेशमा पुगिसकेका छन्।

साउन २४ मा केरुङबाट तस्कर समूहले कन्टेनरको चालक सिटभन्दा माथिको बत्तीमा सुन लुकाएर पठाएका हुन्। निमा छिरङले त्यसबारे असई तिवारीलाई भनेका थिए। तिवारीले राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी सञ्जय अधिकारीलाई जानकारी गराए।

सञ्जय अधिकारीको टोली काठमाडौँमा पर्खिरहेको थियो। तर, रामकृष्ण वाइबाले चलाएको कन्टेनर काठमाडौँ आइपुग्दा सुन लुटिइसकेको थियो। त्यसपछि तस्कर समूहले रामकृष्ण वाइबा र निमा छिरिङ तामाङलाई अपहरण गरेर बुढानिलकलण्ठस्थित शैलजा रिसोर्टमा लगेर बन्धक बनाएर कुटपिट गरेका थिए।

अपहरणमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा कांग्रेसका कोषाध्यक्ष नुर्पु सिंगी तामाङ सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ। असई तिवारीले सुन तस्करीको सूचना आफ्नो चेन अफ कमान्डमा रिपोर्ट नगरेर आचरण विपरीत काम गरेको हुनाले निलम्बन गरेर छानबिन थालिएको हो।

पक्राउ पर्नेमा नेपाली कांग्रेस रसुवाको जिल्ला कार्यसमितिका कोषाध्यक्ष नुर्पु सिंगी तामाङ, गोसाईंकुण्ड गाउँपालिका-१ थुमन घर भएका बुद्धि बहादुर तामाङ, गोसाईंकुण्ड-६ धुन्चे घर भएका टेम्पा नुर्पु तामाङ र कालिका गाउँपालिका-१ राम्चे घर भएका गोपाल तामाङ छन्।

उनीहरू नेपाली कांग्रेसमा आबद्ध रहेको भेटिएको छ। अपहरण गरेको घटनामा काठमाडौं प्रहरीले राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी सञ्जय अधिकारी र असई सविन तिवारीसँग बयान लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *