आइसिसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण

डिसी नेपाल
११ मंसिर २०८१ २१:५७

कास्की। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिले पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानको आज निरीक्षण गरेका छन्।

आइसिसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलपमेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम ‌छन्।

आइसिसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालनका लागि रहे पनि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिबद्धता खोजेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए।

उनले भने, “पोखरा महिला विश्वकप क्रिकेटका लागि योग्य रहे पनि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा उहाँहरूको जोड रहेको छ । खेल पूर्वाधार निर्माण गर्न सकेमा पोखरामा विश्वकप सम्भव हुन्छ भन्नुभएको छ ।” सो टोलीले आजनै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापासँग भेट गरेका छन्। भेटमा मन्त्री थापाले प्रदेश सरकार विश्वकपको खेल पोखरामा गर्न आतुर रहेको जनाउँदै सरकारकोतर्फबाट सहयोग गर्ने बताए।

पोखरा महानगर प्रमुख धनराज आचार्यले महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिबद्धता जनाए। प्रमुख आचार्यले आइसिसीका प्रतिनिधिलाई विश्वकपका लागि के–के पूर्वाधारको आवश्यकता पर्ने हो त्यसबारेमा जानकारी गराउनसमेत आग्रह गरे।

यसैगरी नेपाल प्रिमियर लिग (एनपिएल)को टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट संघलाई डकआउट (खेलाडी बस्ने ठाउँ) हस्तान्तरण गरेको छ। पोखरा क्रिकेट मैदानलाई घरेलु मैदानको रूपमा लिएको एभेन्जर्सले सो डकआउट हस्तान्तरण गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *