उपचारका लागि कोठामा बोलाएर हनी ट्र्यापिङ

डिसी नेपाल
१३ मंसिर २०८१ ७:५६

काठमाडौं। ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीसमेतको मिलेमतोमा भएको ‘हनी ट्र्याप’ प्रकरणको घटना सेलाउन नपाउँदै फेरि काठमाडौं उपत्यकामा यस्तै प्रकृतिको अर्को घटना भएको छ । प्रहरी निरीक्षक शाही र विगतमा पनि हनी ट्र्यापलगायका आपराधिक घटनामा जोडिएका गिरोहलाई प्रहरीले आपराधिक लाभको कसुरमा मुद्दा दायर गरेकै दिनको सेरोफेरोमा अर्काे पनि घटना बाहिरिएको हो ।

प्रहरी निरीक्षक शाहीलगायतको हनी ट्र्यापमा ललितपुरका व्यवसायी इन्द्रकुमार राई परेकामा यस प्रकरणमा भने काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ बाँसबारीमा मेडिस्प्रा नाम गरेको फार्मेसी चलाउँदै आएका व्यक्ति परेका छन् । यद्यपि, प्रहरीले उनको नाम गोप्य राखेको छ ।

हनी ट्र्यापमा परेका ती व्यक्तिको उजुरीका आधारमा प्रहरीले वर्षा दर्जी, समृद्धि मगर र दीपेन्द्र दर्जीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान थालेको छ ।

कसरी परे हनी ट्र्यापमा ?
बाँसबारीस्थित मेडिस्प्रा नाम गरेको फार्मेसी सो क्षेत्रमा चर्चित छ । फार्मेसीमा औषधि बिक्री वितरणका अलावा सामान्य स्वास्थ्य चेकजाँच र घाउहरूमा ड्रेसिङसमेत गरिने गरिएको छ । यति मात्रै नभई फार्मेसी सञ्चालकले घरमै गएर पनि घाउको ड्रेसिङ गर्ने, अनलाइन औषधि डेलिभरी दिनेसम्मको सुविधा दिने गरेका छन् । त्यसैले पनि बाँसबारी क्षेत्रमा सो फार्मेसी चर्चित बनेको हो ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ स्थायी ठेगाना भएका ३३ वर्षीय ती सञ्चालकलाई केही दिनअघि आएको म्यासेज र उनले गरेको ‘व्यावसायिक डिल’कै कारण उनी हनी ट्र्यापमा परेका हुन् ।

एक साताअघि ६ मंसिरमा उनी फार्मेसीमै रहेको समयमा अनलाइनमा एउटा म्यासेज आएको थियो । म्यासेजमा ‘खुट्टामा घाउ भएकाले ड्रेसिङका लागि कोठामै आइदिनुप¥यो’ भनिएको थियो । बिरामी भएको बहानामा उनलाई म्यासेज गर्ने व्यक्ति हुन्, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई भक्तपुरको नयाँ ठिमीमा बस्ने गरेकी २५ वर्षीया वर्षा दर्जी ।

म्यासेजपछिको कुराकानीमा वर्षाले ती मेडिकल सञ्चालकलाई आफू आउन नसक्ने भन्दै कोठामै आवश्यक औषधिसहित ड्रेसिङका लागि आइदिन आग्रह गरिन् । त्यसपछि केही समय उनीहरूबीच ‘व्यावसायिक डिल’ भयो । ती सञ्चालकले ड्रेसिङ र औषधिबापत लाग्ने रकम र सर्भिस चार्जको कुरा गरे । ‘बिरामी’ वर्षाले उनको कुरामा सहमति जनाएपछि त्यसै दिन अपराह्न १ बजे फार्मेसी सञ्चालक उनको कोठातिर गए र ड्रेसिङ गरी लागेको रकम लिएर फर्किए ।

अनि आयो धम्कीपूर्ण फोन
मेडिकल सञ्चालक फार्मेसीमा फर्किएर आफ्नो काम गरिरहेका थिए, त्यसैबेला उनले सोच्दै नसोचेको धम्कीपूर्ण फोन आउन थाल्यो । सो फोनले उनी छाँगाबाट खसेसरह भए । उनलाई फोन गर्ने व्यक्ति थिए वर्षाका दाइ र भाउजू बताउने व्यक्ति । उनीहरूले ती मेडिकल सञ्चालकलाई भने, ‘कोही नभएको मौका पारी कोठामै गएर बलात्कार गर्ने ? कि हामीले भनेजति रकम दिनूस्, नभए प्रहरीमा केस गर्छाैं ।’

मेडिकल सञ्चालकले आफ्नो कुनै गल्ती नरहेको, युवतीले भनेबमोजिम ड्रेसिङ गरेर मात्रै फर्किएको बताए । उनले आफूले कुनै गल्ती नगरेकाले पैसा नदिने अड्डी लिए । त्यसपछि भने उनीहरू बाँसबारीस्थित उनको फार्मेसीमै गए । ग्राहकको आवत–जावत भइरहने फार्मेसीमा आएपछि भने उनी ‘नर्भस’ भए । आफ्नो इज्जत र व्यापारको चिन्ता हुन थाल्यो उनलाई । फार्मेसीमा आएकाहरूले आफूहरूसँग भिडियो फुटेजसमेत रहेको भन्दै धम्काएपछि उनी केही रकम दिएर मिलाउनतिर लागे । जब उनी रकम दिन तयार भए, त्यसपछि हनी ट्र्यापमा संलग्न व्यक्तिहरू बस्नेत थरका एक व्यक्ति र समृद्धिले आफूहरू वर्षाको दाइ र भाउजू भन्दै १८ लाख रुपैयाँ मागे । तर, उनले आफूसँग त्यति धेरै रकम नभएको बताएपछि बार्गेनिङ चल्यो । र, अन्तिममा ८ लाख रुपैयाँ दिए कुनै केस नगर्ने सहमति भयो ।

त्यसपछि ती मेडिकल सञ्चालकले भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा ११ मंसिर (मंगलबार) गई ५० हजार रुपैयाँ नगद र ७५ हजार रुपैयाँको चेक दिने र अन्य रकम शुक्रबारसम्म दिने बताए । यस कुरामा उनीहरूले पनि सहमति जनाए ।

सहमतिअनुसारको रकम लिन वर्षाले मंगलबार बिहान ११ बजे वेभ सेकुवा कर्नरमा इलामको साविक दानबारी गाविस–९ घर भई नयाँ ठिमी बस्दै आएका समृद्धि र बस्नेत थरका एक व्यक्तिलाई पठाइन् । समृद्धिले ती मेडिकल सञ्चालकसँग नगद २५ हजार रुपैयाँ लिइन् । ती व्यवसायीले अर्का आरोपित बस्नेतको सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ०२४२…९८० मा क्यूआर कोडमार्फत २५ हजार रुपैयाँ ट्रान्सफर गरे । सोही दिन अपराह्न ४ बजे वर्षाले आफ्ना दाइ दीपेन्द्र र समृद्धिलाई सोही सेकुवा कर्नरमा ७५ हजार रुपैयाँको चेक लिन पठाइन् । उनले एनआईसी एसिया बैंकमा रहेको खाताको ७५ हजार रुपैयाँको चेक पनि वर्षाको नाममा काटेर दिए ।

अनि प्रहरीको फन्दामा…
चेक लिएर निस्किएका समृद्धि र दीपेन्द्र वर्षा भएको ठाउँमा पुग्न पाएनन्, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक श्याम थापा नेतृत्वको टोलीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लियो । ती मेडिकल सञ्चालकले आफूले भोग्नुपरेको समस्या विस्तृत रूपमा सुनाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । क्यूआर कोडमार्फत बिहान २५ हजार रुपैयाँ लिने बस्नेत थरका व्यक्ति भने त्यसबेला आएका थिएनन् । समृद्धि र दीपेन्द्र पक्राउ परेको खबर पाएपछि वर्षा भने लगत्तै फरार भइन् । यद्यपि, बुधवार बिहान वर्षालाई समेत प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीले उनीहरूको साथबाट वर्षाको नाममा लिएको ७५ हजार रुपैयाँको चेक र समृद्धिसँग रहेको २० हजार ५ सय रुपैयाँ नगद बरामद गरिसकेको छ । उनीहरूको मोबाइल पनि प्रहरीले बरामद गरी अनुसन्धान थालेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले पक्राउ परेका वर्षा, समृद्धि र दीपेन्द्रलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान थालिएको बताए ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *