झाँसी मेडिकल कलेजमा आगलागीमा १० नवजात शिशुको मृत्यु भएको मामिलामा प्रिन्सिपल बर्खास्त

डिसी नेपाल
१३ मंसिर २०८१ ११:००

काठमाडौं । झाँसीको सरकारी मेडिकल कलेजको एनआईसीयूमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको घटनामा कलेजका प्रिन्सिपल नरेन्द्र सिंह सेंगरलाई बर्खास्त गरिएको छ । यसबाहेक थप तीन जनालाई निलम्बन गरिएको छ ।

उक्त घटनामा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको थियो भने यस घटनामा उद्धार गरिएका आठ बालबालिकाको पनि मृत्यु भएको थियो । तर, ती बालबालिकाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

सरकारले गठित समितिको प्रतिवेदनपछि उपमुख्यमन्त्री ब्रजेश पाठकले यस्तो कारबाही गरेका हुन् ।

कारबाहीका सम्बन्धमा उपमुख्यमन्त्री ब्रजेश पाठकले भने, ‘अनुसन्धान प्रतिवेदनको गहन समीक्षापछि घटनामा दोषी अधिकारीलाई कडा कारबाही गरिएको छ । जनताको पीडा हाम्रो दुख हो र सरकार सधैं साथमा छ ।”

मेडिकल कलेजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सचिन महोरविरुद्ध पनि आरोपपत्र दायर भएको छ ।

यसबाहेक थप ३ जना अधिकृतलाई निलम्बन गरिएको छ । कलेजको विद्युतीय विभागका जुनियर इन्जिनियर सञ्जित कुमार, एनआईसीयू वार्डकी नर्सिङ इन्चार्ज सन्ध्या राई र प्रमुख अधीक्षक सुनिता राठौरलाई पनि निलम्बन गरिएको छ ।

यस आगलागीको छानबिन गर्न सरकारले चिकित्सा निर्देशक शिक्षा किञ्जल सिंहको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको थियो ।

यसका साथै सरकारले झाँसीका डिभिजनल कमिश्नरलाई थप अनुसन्धानको जिम्मा दिएको छ ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सचिन महोरे, कलेजका बालरोग विभागका प्रमुख डा ओमशंकर चौरसिया, शल्य चिकित्सा विभागका सहप्राध्यापक डा कुलदीप चन्देल र अधिकृत विद्युतको भूमिका छानबिन गर्न डिभिजनल कमिश्नर नियुक्त गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *