पाकिस्तानमा प्रदर्शनकारीहरू विरुद्धको कारबाहीमा पारदर्शी छानबिन गर्न एम्नेस्टीको माग
काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि प्रहरी कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने बताएको छ । एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिएको छ।
एम्नेस्टीको विज्ञप्तिमा भनिएको छ , “पीटीआईसँग सम्बन्धित प्रदर्शनकारीहरू विरुद्ध ठूलो मात्रामा हिंसा, इन्टरनेट सेवाहरू निलम्बन र मानिसहरूलाई व्यापक थुनामा राखिनुले शान्तिपूर्ण राजनीतिक प्रदर्शनको स्वतन्त्रताप्रति असहिष्णुता प्रदर्शन गर्दछ।”
एम्नेस्टीले भनेको छ, “यस वर्ष बलुच र पश्तून प्रदर्शनकारीहरू विरुद्ध पनि यस्तै कारबाही भएको देखिन्छ।” मंगलबार पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीले पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि देशभर प्रदर्शन गरेको थियो।
यस क्रममा पाकिस्तान प्रहरी र रेन्जरको कारबाहीमा ठूलो मात्रामा हिंसा देखिएको थियो । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् ।
बीबीसी उर्दूका अनुसार पञ्जाब प्रहरीले प्रदर्शनकारीको आक्रमणमा एक प्रहरीको मृत्यु भएको र १७० भन्दा बढी घाइते भएको जनाएको छ।
इस्लामावादको डी चोकमा बसेका प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्दै पुलिस र सुरक्षा बलहरूले उक्त ठाउँ खाली गराए।
बिहीबार, पीटीआई प्रदर्शनकारीहरूले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन्।
इस्लामावादमा प्रहरीले फ्ल्याग मार्च निकाल्दै कानून हातमा लिनेलाई कडा कारबाही गरिने बताएको छ ।
बीबीसी उर्दूका अनुसार प्रहरीले ५०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
Facebook Comment