अर्थतन्त्रलाई तीव्रतर ढंगले बिकास गर्न सरकार प्रतिवद्ध : मन्त्री भण्डारी
काठमाडाैं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्रलाई तीव्रतर ढंगले बिकास गर्नका लागि वर्तमान सरकार अघि बढेको बताएका छन्।
प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा बिहीबारबाट भृकुटीमण्डपमा सुरु भएको चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी उद्घाटन गर्दै मन्त्री भण्डारीले पहिलेको तुलनामा मुलुकको अर्थतन्त्र केहि अघि बढेपनि सन्तोष गर्ने ठाँउ नरहेकाले तीव्रतर ढंगले अर्थतन्त्र बिकास गर्नका लागि वर्तमान सरकार अघि बढेको बताएका हुन्।
उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय विज्ञ सम्मिलित समिति गठन गर्दै अर्थतन्त्र सुधारका कार्ययोजना तयार गरेको र त्यसमा नीजि क्षेत्रलाई पनि सहभागीता गराइएको जानकारी दिए।
उनले नेपालको पूँजीबजारमा निजी क्षेत्रको उपस्थितिलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको जिकिर गरे। सरकारको छुट्टै योजना नभइ सवै मिलेर राष्ट्रिय चुनौतीहरुलाई सम्भावनामा बदल्न सरकार क्रियाशिल रहेको उनको भनाइ छ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको सुझाव अनुसार सरकारले आर्थिक सुधार आयोग गठन गरेर नीजि क्षेत्रलाई सहभागी गराउनु सकारात्मक रहेको बताए।
उनले उद्योगीहरुको समस्याहरु समाधानका लागि आएका सुझावहरुका आधारमा कानूनहरु परिवर्तन गर्न सके सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।
मंसिर १५ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन-औजार-उपकरणहरु राखिएका छन्। मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता लगाएतको सहभागीता रहेको छ।
Facebook Comment