हाकिम र ब्रिजेशको र्याप गीत ‘चिसो चिसो हावाले’ बजारमा
काठमाडौं । र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतीमा र्याप गीत ‘चिसो चिसो हावाले’ बजारमा ल्याएका छन्।
बिहीबार काठमाडौंस्थित जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको गीतको अडियो गायक श्रेष्ठले नै तयार पारेका हुन्। गीतको भिडियोमा गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतको अभिनय छ।
गीतको माध्यमबाट त्रिकोणात्मक प्रेमलाई दर्शाउन खोजिएको श्रेष्ठले बताए। उनले भने, ‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ। केही समयको अन्तरालमा ल्याइएको गीत मध्यरातमा फुरेको थियो। हाकिम दाइसँग यसको अडियो तयार गरेपछि नेस स्टुडियो र फुजी स्टुडियोले भिडियो परिकल्पना गरेका हुन्। अडियो झैं भिडियो पनि सशक्त हुनुपर्छ भन्ने लागेर हामीले मेहनत गरेका छौं।’
गीत सार्वजनिक समारोहमा उपस्थित र्यापर गिरिश खतिवडाले र्यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए।
‘यसरी र्यापर अगाडी आएर आफूलाई चिनाउँदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ। यस गीतको अडियो र भिडियो पनि राम्रो बनेको छ। यस्तै कार्यक्रम गरेर यस्ता गतिविधि बढाउनुपर्छ। अहिलेको नयाँ पुस्ताले समेत र्यापलाई राम्रोसँग अगाडी बढाएको देख्दा खुसी छु’, खतिवडाले भने।
र्यापर हाकिमले र्यापरको भेटघाटका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, ‘हामीले सधैँ कभर भिडियो बनाएर गीत सार्वजनिक गर्ने गरेका छौं। आर्थिक अनुकूलता नहुँदा पनि त्यस्तो भएको पाइन्छ। तर, यसरी सानै भए पनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मीयता बढ्छ। एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ।’
कार्यक्रममा शुभकामना दिन र्यापर मानस घले पनि उपस्थित थिए। विवेक मगरको छायांकन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ। र्यापर हाकिमको ‘राक्षस’,‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रंग’, ‘ओ मैचा’,‘डल्ली’ लगायत गीत लोकप्रिय छन्।
Facebook Comment