अलिखित : एक प्रेमपत्र

हृषीकेश ढकाल
१५ मंसिर २०८१ ७:५०

उपक्षेप :

मंसिर !

मंसिर महिनाको पारिलो घाममा ‘अर्बन’ कोलाहलबाट केही टाढा, थोरै लामो यात्रा -राजमार्गै राजमार्ग। राजमार्ग तल, निकै तल, शान्त नदी शालीन बगिनैरहेकी, एक सहयात्री झैँ छोड्नै नचाहने दुःखको घुमाउरो साँघुरोमा या सुखको फराकिलो चौडा राजमार्गमा।

शालिनी सहयात्री ती नदीसँगसँगै पर्वतका बिच उनको रोमाञ्चमय नागबेली रमणको अदाकारीमा एक हुँदै मग्न बही गुडिरहँदा, घरी घरी बाइक पछाडिबाट प्वाक्क बिचाँ ‘दाइ’ भन्दै अनेक उटुङ्ग्याहा प्रसंग निकालेर स्वस्फूर्त प्रणित मेरो र ती नदीबिच प्रणयी माहौल भताभुंग बिगार्दिने एक ‘चङ्खे’ भाइ – सामीप्यसँग आज ‘चङ्खिन’ यात्रारत।

तर, ऊ आज बोलेको थिएन ! मोटरसाइकल चढेको एक घण्टा बढी भो ! अहँ ! चुइँक्क बोलेन ! पटक्कै बोलेन ! आज ऊ नबोल्दा मेरो बहाव बरु बिग्रिएको भान हुन लाग्यो ! उसको मौनताले मलाई खिच्यो ! हाँकिरहेँ ! पुरै ध्यान अगाडि लाउन खोजिरहेको छु तर उसको अकस्मात् आश्चर्ययुक्त मौनताले हँकाइ तर्फको ध्यान बरु भंग गर्न भरमग्दुर प्रयास गरिरह्यो; ऊ तिर ध्यान फुत्त गइहाल्थ्यो तर फेरि ध्यान फर्काएर अगाडि लाउँथेँ।

चकमन्न मौनता नै चाहिने त्यस शालिनी नदीको शान्त बहावसँग बहन चाहने मेरो बहावलाई खै उसको मौनताले उल्टो आज खुब बिथोलेको थियो। भर्खरै मायाँमा जो परेको छ ऊ ! तर, पनि बोलेन ! फुरुङ्ङ छ ऊ अचेल ! अहँ बोलेन ! भुइँमा खुट्टा छैन अचेल, केटोको ! बोलेन ! बोल्या बोलै गर्न पर्ने ऊ ! तर पनि बोलेन !

‘ब्याक भ्यु मिररमा’ उसलाई हेरेँ- उसको सामु केही मञ्चन भए झैँ, उसले कसैलाई अगाडि हेरिरहे झैँ – दुवै हात बाँधी चुपचाप अगाडि बाटो एकटक हेरिनैरहेको छ केटो ! म चकित भएँ ! आज किन बोलेन ?! म घोर अचम्मित थिएँ। मायाँको ‘क्लाउड नाइन’मा बसाइँ जो सरेको छ ऊ अचेल ! तर पनि बोलेन।

ऊ अक्सर त्यतै बस्छ अचेल ऊ ! पिरतीको बादलमा ! ऊ बोल्दैन ! त्यता त प्रणयाकाशको विचरणमा प्रेमित शब्दका हुरी आउँदा हुन् ! ऊ बोलेन। अगाडि हिमाल झलल, तल धरामा फूलैफूलको इन्द्रेणी बहार सरर। ऊ बोलेन। अचेल ऊ पिरतीको बताससँगै बगेको छ। तर पनि ऊ बोल्दैन ! सायद पिरतीको गाम्भीर्य बतास लाग्यो कसो !

बाइक चल्दा खेरि बतासकै एकोहोरो बगाई हेल्मेटमा ठोक्किईनैरहेको एकोहोरै सुसाहटले मेरा श्रवणक्षेत्र घेरिँदा पछाडिबाट उसले बोलेको पनि के सुनियोस् र ?! पहिले यात्रारत हुँदा उसको पारा सम्झेँ – ऊ एक प्रसंगको कुरो गर्थ्यो, मेरो कानसम्म आइनपुग्दै पछाडि दिशा तिर हावाले आफ्नो बेजोड बहावमा उतै फर्काइहाल्ने उसको अस्पष्ट बोली मैले “अँ ! हो ! त्यै त !”, भनेर भन्दिँदा मुख अमिल्याउँदै बिगार्थ्यो होला – “यी दाइलाई आज के भो ?!”, सोच्थ्यो होला ! अनि केही छिन चुप लाग्थ्यो, अनि फेरि प्वाक्क -“दाइ !…” जति भन्दा पनि नलागे पछि हाँक्न तिर ध्यान लगाइराख्नका लागि उसका कुरा छोट्याइदिन म अक्सर “त्यै त ! अँ ! हो !”, मा मिलिक्क मुन्टो ऊ तिर ध्यान दिएको जस्तो गरी बटार्ने र फेरि तुरुन्तै फर्केर अगाडि हँकाइमा केन्द्रित हुन्थेँ। तर, आज ऊ बोलेन !

सायद ‘इरिटेसन’ पनि प्रेमको एक आयाम हो ! हरपल नगिचै रहने कसैको ‘इरिटेसन’ पनि एक्कासी हराउँदा खट्किन्छ ! मलाई पनि आज त्यही नै भैरहेको थियो। सधैँ समीपै रहने आफ्नो अति प्रिय भाइको मौनता मलाई पनि खट्किरहेको थियो।

म अक्सर भनिरहेकै हुन्छु उसलाई !

प्रत्येक चोटी ऊसँग यात्रा सुरु हुनु अघि म उसलाई भनिरहन्थेँ र अगी यात्रा सुरु हुनु अगावै पनि फेरि पनि दोहोर्‍याएको थिएँ – “हाँक्या बेला नबोल है !” “हुन्छ दाइ ! कहाँ हाँक्या बेला ‘डिस्टर्ब’ गर्नु !”, मेरो बोली खस्नु अगावै उसको जवाफ हुन्थ्यो ! अनि बाइक चढेर अलिक पर पुग्नासाथ फेरि सकसक हुँदो हो, सुरु गरी हाल्ने ! “दाइ !…” अनि जवाफमा “अँ ! हो ! त्यै त !”, विचरालाई ‘साइको’ पर्दो हो – प्रश्न एकातिर, जवाफ मास्तिर !

घरी घरी प्रश्न नि गर्थ्यो होला अघिल्ला यात्राहरूमा – “दाइ आज तरकारी के खानु भो ?” “अँ ! हो ! त्यै त !” भन्ने जवाफमा ऊ ठीस हुँदो हो र पहिले सुरु मै “हाँक्या बेला नबोल है !” भन्ने आदेश सम्झँदै आफ्नो हठात् जवाफ पनि “कहाँ डिस्टर्ब गर्नु दाइ हाँक्या बेला !” भन्ने सम्झिन्थ्यो होला र कुरो बुझेर चुप लाग्थ्यो होला। अनि फेरि बिर्सेर एकछिनमा – “दाइ !…” यो चक्र प्रायशः चलिनैरहने ऊसँग हुँदा, गन्तव्य नपुगुन्जेल अनवरत ! तर, आज ऊ बोलेन !

“हाँक्या बेला नबोल है !” भन्ने कडा आदेशमा आज पनि त्यही जवाफ उसले दोहोर्याएको थियो – “हुन्छ दाइ ! कहाँ हाँक्या बेला ‘डिस्टर्ब’ गर्नु !” मैले उसलाई अटेरी नै सम्झी, पारा उही हो केटोको भन्ने सोचेको थिएँ तर अचम्मै ! ऊ आज बोलेको छैन !

खैर !

बिदाको दिन, जाडाको दिन ! ओह्हो ! के बयाँ गरुँ र खै ?! कसो गरी कहाँबाट बयाँ गरुँ ! जाडाको घाम मायाँको न्यानो अंकमाल हो। कठ्याङ्ग्रिने संसारी ‘चिसोमा’ मायाँको तातो, दनदन आगो, दन्काउने जाडो यामको घाम हो ! बिदाको दिन सिङ्गो माहौल नै मर्त्यलोकबाट रूपान्तरित स्वर्गलोक- सांसारिक दुःख रहित मानवलोक झैँ, सखैसुखको मदालसी स्वरूपानन्द मग्नतामा लट्ठिए झैँ ! एक मानव स्वर्गलोक !

यस्तो लाग्ने जस्तो जन्मजरामरण अनि त्यसबिचको कष्ट बिदाको दिनमा सूर्यरश्मिको मायाँको न्यानो अङ्कमालबाट पग्लिएर वाष्प स्वरूपमा वाष्पिकरण भैरहेको छ, सो चित्रित छ – स्पष्ट र चारैतिर आनन्द बर्सिरहेको छ; हृदयमा पनि र हृद् देखि बाह्य दृश्यजगत् भरी !

शास्त्रले बताइएको यस मर्त्यलोकमा दुःखालयरूपी पुनर्जन्मको कष्टको पहाड़ पगाल्दिएर एक झिनो नै भएपनि ज्योति बलेको छ र अगाडिको दृश्यजगत् यस मिहिन ज्योतिको उज्यालो चहकमा धपक्क बलेर उठेको छ ! मैनबत्तीको बातोमा ज्योति जागृत गरेपछि कष्टको अँधेरो मैन पगालेर अग्र वातावरण यस ज्योतिको उज्यालोमा उठे झैँ !

हाँकिरहेकै पट्टि ‘हाइवे’ छेवैको एक शान्त स्थानमा दूरदर्शनबाटै बुझिएको एक ढावामा मैले बाइक साइड लाउन सोचीओरी हुलेँ। रोक्न पाउँदा नपाउँदै सामीप्यले बुर्कुसी मारिसकेछ ! “अरे यार ! कमसेकम बाइक राम्रोसँग रोक्न त देउ !”, भन्दै ओर्लन लागेँ।

ऊ अगिनै ढावा भित्र छिरीवरी चिया अर्डर गर्न पुगिसकेछ ! “दिदी ! एउटा रंग कडा-चिनी कडा सेतो चिया। अनि अर्को बिना मरीच-बिना चियामसला, रङ्ग कम, चिनी हल्का कडा, एक कालो चिया।”, ऊ धमाधम अर्डर लाउँदै थियो। साहुनी थप्छिन्; “अनि पानी ?” सामीप्यले जवाफ फर्कायो; “अरे दिदी चिनीचियापत्ती भुट्ने भन्या हो र ?!” साहुनी “हा…हा…” दिन लागिन्।

मरीचसँग मेरो दुश्मनी पुरानै हो ! अनि खै किन चियामसालामा सुद्ध कहाँबाट मरिचे पिरो टप्किने होला ! त्यै भएर अचेल मरीचसँगको दुश्मनी बढेर उसको जिग्री – चियामसलासम्म पनि पुगेको छ !

कालो चियामा “मरीच नहाल्नु” भन्न छुटाउला कि भनेर सामीप्यको पछिपछि गएर ‘कन्फर्म’ गर्न उभिएको म चिया मसलासँगको मेरो दुश्मनी पनि उसले त्यहाँ जाहेर गर्न नभुलेपछि, उसको अघिअघि फर्किएर अक्सर गोलो प्लास्टिकको टेबल घेरेर बस्ने एक प्लास्टिकको कुर्सीमा आइ बसेँ। मेरो छेवैको कुर्सीमा ऊ बस्यो।

आफ्नी रानीको प्रेममा सबै राजा !

मैले ‘सार्क्यास्टिक’ हाँसोसँगै कुरा छेडिहालेँ – “के हो अचेल राजा ‘मदन’लाई खुसीको सिमा छैन ! रानी ‘मुना’सँग टाँका ‘इन्टरलक’ – भएपछि !” “हा !..हा !..”, दाइ पनि नहँसाउनुन, मख्खिँदै केटोले जवाफ फर्कायो। मैले थपेँ; “अब त हाम्लाई नि चिन्दैन होला भन्ने लाग्या थ्यो, तर कस्सो भुली चैँ हाल्या रैनछ !” “हा !..हा !.. दाइ ! कहाँ भुल्नु ! यस्सो हल्का जिन्दगीको मिठास !”

“हो। मायाँ त मिठो हो …” भनेर मैले भन्न नपाउँदै उसले थपिगो … म तत्क्षण चुप भई सुन्न लागेँ …हठात् मोबाइल निकालेँ र अडियो रेकर्डर खोलेँ ! अनि इसारै इसारामा अडियो रेकर्डिङ्गको अनुमति माग्न मोबाइलको स्क्रीन उसतर्फ उठाएर देखाएँ। उसले अनुमति दिँदै आँखीभौँ मिलिक्क उचाल्यो। मैले रेकर्डिङ्ग अन गरी उसको नगिचै टेबलमा मोबाइल राखेँ …

मञ्चन :

“राम्री दाइ ! साह्रै राम्री ! असाध्यै राम्री ! केही घुम्रेका थिए उनका केशपाश, कैला थिए रंग। खुला छाडेकी थिइन् तिनलाई ! खुला छाडेर तिनलाई उनले यसरी रोमाञ्चको बहार पोखेकी थिइन् जसरी प्रकृतिले यस धरामा हृदय रित्त्याएर सुन्दरताको रंगीबिरंगी इन्द्रेणीबहार पोखेकी छन्।

ती सुनकेश्रा केशराशी छिचोलेर यस चन्द्रमाको चन्द्रकान्ती युक्त हिमवर्णी मुहार झुल्किँदा यस्तो लाग्थ्यो पूर्णिमाकी त्यस चन्द्रमा आफ्ना सुवर्णरश्मिले रङ्गिएका बादल छिचोलेर भर्खरै यस धराको एक रसिक द्रष्टालाई दर्शन दिएकी छन्।

उस शुक्लवर्णी पूर्णचन्द्रको काञ्चन किरणबाट सुवर्णमय रंगिएका ती बादल झैँ उनका मुलायम-रेशमी केशरश्मि त्यो सुकोमल चन्द्रमुहारसँग लुकामारी खेल्दैछ। धपक्कै बलेको उज्यालो मुखाकृति उनको केशराशीमा लुक्ता मुटुको धड्कन केही राहत ठान्दथ्यो, अनि केशका पर्दा छिचोली झुलुक्क-झुलुक्क दर्शन हुँदा धड्किएर मुटु छिटोछिटो छाती फोडी निस्कौं-भागौं, यस्तै ठान्दथ्यो !

मैले सामीप्यलाई बिचैमा हाँस्दै प्वाक्क डिस्टर्ब गर्दिएँ-–

म त मायाँको गहराईमा गहकिएको मान्छे
म त भावानाको बहकाईमा बहकिएको मान्छे

चल्दा उनी इन्द्रकमल डाली झुले झैँ
झुल्दा उनका केशराशी पिरतीको सुवास हरर
म त बास्नाको महकाईमा महकिएको मान्छे
म त मायाँको गहराईमा गहकिएको मान्छे..

“हा ! .. हा !” दाइ ! ऊ दिलबाटै प्रफुल्लित – दिल खोलेरै हाँस्यो। “प्लिज कन्टिन्यु !”भनेर मैले हातको पञ्जाले अघि बढ्न अनुरोध गरेँ।
ऊ बढ्यो-

“मैले उनलाई कागजको एक चिरकटो थमाएँ दाइ ! एक फेर पट्याएको चिरकटोमा, एक ‘हरफ’ थियो त्यसमा। पट्टिएकै अवस्थामा दुई औँलामा उनले च्यापिन् र सोधिन्; “के हो यो ?”

” ‘लभ लेटर’ नै चैँ हैन।”, मैले भनेँ। उनी हाँसिन्। भएभरको सबै औँसी झैँ जिन्दगी यो अनि पूर्णिमा झैँ मलाई धपक्क बाल्दिने जुनेली मुस्कान उनको !
यही मुस्कान दर्शन खातिर, कसरत अनेक लाख मेरो ! यिनै अनेक कसरतबाट निस्कने उनको मुस्कान देखेर मेरो अनुहार खुसीमा उठेर नाच्दथियो।

“तर, त्यस्तै-त्यस्तै हो।”, मैले थपेँ। “के त्यस्तै त्यस्तै ?”, उनले थप फेरि सोधिन्। “त्यै क्या !”, मैले जवाफ फर्काएँ। “के त्यै ?”, उनले नबुझे झैँ गर्दिँदा सिङ्गो अस्तित्व नै – “हो उनले बुझिनन्। बुझा !” भनेर खडा भैदिने। अस्तित्वकै ताकत अघिल्तिर म बबुरोको के वश चल्दो हो।

हामी दुई अगाडि दृश्यमा विराट पर्वतमाला ! ओह्हो ! कतै ती पर्वतका वृक्षहरूमा सूर्यका किरणले हाम्फालेर आई अङ्कमाल गर्दा हरिया ती पातहरू पनि थरिथरिका देखिने ! अनि त्यो दैव्य अङ्कमाल देख्ता मैले पनि उनलाई हठात् अंकमाल गरी हालौँ ! नसोचेको होइन !

‘नर्भस’ हुँदाहुँदै पनि ‘नर्भसनेस’लाई खेदेर अंगालोमा बाँधिहालौँ उनलाई ! नकल्पेको होइन ! जान नदिउँ फुत्केर ! राखौँ सधैँ अंगालेर ! मायाँ मिठो सँगालेर ! आँटिहालौँ ?! आँटिहाल्न नचाहेको पनि होइन ! तर, हतार हुन्थ्यो कि ?! “धैर्यले सधैँ राम्रो मात्र नै सिकाउँछ”, सधैँ सुनेको ! आज यहाँ धैर्यले मलाई पनि धैर्य गर्नै सिकाउँदै थियो जस्तो लाग्यो !

अनि ती पर्वतमालाका वस्त्राभूषणरूप -वृक्षहरूका कोही पात रङ्गीचङ्गी ! उनका रेशमी केशरश्मि झैँ ! कतै डाँडा नीरा। कोही पर्वत अगाडि। कोही पछाडि। अनि बिचका पर्वत चिहाउँदै आफूआफू बिच कानेखुसीमा हामी दुईलाई जिस्क्याइरहेका !

“लभ लेटर !”, मैले आफ्नो ओठ ‘पाउट’ पारामा उनलाई थमाएको चिरकटो तिर सोझ्याएँ। उनका ‘पाउट’ पो त्यसै-त्यसै सुन्दर त ! ती नाजुक अधरका अबोध ‘पाउट’ ! पाउटराशी ! आफ्ना त केवल ओठ ! फगत ओठ ! उनका त अधर ! तिनकै पाशमा अल्झाइदिने अधरपाश !

आफ्ना त एक सराबीले नसामा धूत, चुच्याएको ओठ झैँ ‘पाउट’ ! उनका त स्वाभाविक ‘पाउट’ ! फेसबूकतिर सेल्फीमा उनका, ती ‘पाउट’ देख्दा, लाग्ने मैतिर सोझिएका हुन् ! ती पाउटपाश ! तर, तर म पनि त नसा मै त थिएँ ! उनको। उनको मायाँको। त्यै भएर मेरा पनि ओठ त्यसैत्यसै ‘पाउटिएका’ थिए। केही कुरा त्यसैत्यसै-आफैँआफैँ बाउँटिए झैँ ! ‘पाउटिएका’ ! ओठ ! मेरा ! मेरा फगत ओठ।

उनी फेरि हाँसिन्, अब चैँ अलिक मज्जैले ! ती अधरराशी देखि उनको पुरै चन्द्रमुहार खिलेको थियो ! उनका त्यो सङ्गीत भरे हाँसोमा नाच्न लागेको मेरो मन, यो मेरो मन शरीरमा उक्लेर रोमाञ्चक खुसीरूपमा नाच्न लाग्यो। एक रोमहर्षक रोमाञ्च ! उनले कागजको फेर खोलेर हेरिन्…
त्यसमा लेखिएको थियो – “नक्कली” ! मात्र। बस ! त्यत्ति नै !

एक शब्दमा एक प्रेमहरफ थियो मेरो !
जसरी उनी झैँ – एक व्यक्ति मै मेरो सारा संसार !
बाँकी त अदृश्य थिए शब्दहरू मेरा। जस्तै अदृश्य उनी प्रति प्रेमित भाव मेरा !
भाव झैँ – अदृश्य। अलिखित। प्रेम। अलिखित – एक प्रेम पत्र !
मायाँलाई लिखित कसले पो व्यक्त गर्न सक्यो र ?!
अलिखित मैले पनि लेखेको थिएँ – एक प्रेम पत्र !

लाडिएर ‘पाउटिँदा’ भुतुक्कै बनाउने ती नाजुक अधरराशी नखोली उनी मुसुक्क हाँसिन् ! मुसुक्क हाँसिन् र उनले मेरो पाखुरामा प्याट्ट ! हिर्काइन्। जवाफ आएको थियो ! अलिखित नै। जसरी उनी लक्षित मेरा अदृश्य, ‘प्रेमहरफ’ झैँ !
जसरी उनी प्रति अदृश्य मेरा भाव पहाड झैँ !
त्यसरी नै।

मैले आफ्ना औँला उनकामा ‘इन्टरलक’ गरेँ। औँलाहरू आखिर त्यसकै लागि त हुन् !

“चेन्ज द टपिक !”,
मैले जबर्जस्ति खोक्दै गरेजसो गरेर कमेडी थपिदिएँ र हाँसेँ। “हैट् ! कस्तो खोकी लाग्यो !”, थपेँ। भाइ सामीप्य पनि मरीमरी हाँस्न लाग्यो।

उपसंहार :

“वाह ! अरे बाफ्रे ! बाब्बा ! हैट् ! म त तिमीलाई उस्तै हाउडे नै सोचिरहेको ! तिमी त पुरा ट्युसन दिने गम्भीर ‘लभगुरु’ पो भै सकेछौ त ! मायाँमा के रूपान्तरण भएन हेर त ! बाब्बा ! ल ! जीवन पुरै यस्तै एक रसिक प्रणयी रहिरहनु आफ्नी प्रणयिनीको प्रणयमा”, मैले उसको सफलतामा हाँस्तै फुर्क्याएर बधाईवाला स्याबासी थपिदिएँ।

“कहाँ त्यति साह्रो ‘लभगुरु’ नै हुनु दाइ ! हैट् ! हा !..हा ! एस्सो ‘दु:ख’ शेयर गर्या नि दाइ !”, दिग्विजय गरेर आएको एकमात्र चक्रवर्ती सम्राट झैँ पारामा मख्खिँदै केटो अझ थप्छ। “ए ! मायाँमा खुसीको संसार जितेर आउने तिमी, अझ उल्टै ‘दु:ख’ पो शेयर गर्या !? ल ! आफ्नो पिरतीको संसारमा तिमी सम्राट भए तिम्री साम्राज्ञीसँगै !” अगि बधाई दिइसकेको उसलाई मैले उसको खुसीमा झन् खुसी हुँदै अझ शुभकामना थपिदिएँ। ऊ झन् मख्खियो। सायद आफ्नो पिरतीको मनोलोकी साम्राज्यको विशाल प्रेमगद्दीमा आफू दुई आसिन मनश्चित्र झललल उसले देख्यो !

अनायासै धेर मख्खिरहने त्यसै पनि ऊ, म उसलाई ‘मख्खे’ भनेर पनि जिस्क्याइरहन्छु ! आज त झन् उसको ‘मख्खाई’को कुनै सिमा ने छैन !

मंसिर !

मंसिरको पारिलो घाम ! पिरतीको मौसमवाला मधुर घाम, सामीप्यको ‘लभस्टोरी’को सुखद सुरुवातीवाला कहानी मञ्चनको समापनसँगै मञ्चको पर्दा झैँ क्रमशः डाँडापारीबाट तल झर्न लाग्दै थिए।

मैले भनेँ: “अब जाउँ ! परै पुग्नु पर्छ।” “हो दाइ। अब जानुपर्छ ! ढिलो हुन्छ।”, उसले जवाफ फर्कायो। सायद चाँडो घरपुगी उसको उनीसँग च्याटमा मख्खिन ऊ पनि हतारिएको थियो। “दाइ ! म हाँक्छु !”, नभन्दै एक्कासी ऊ कस्सियो ! “हैट् ! हुन्न ! अचेल तिम्रो खुसीको सिमा छैन। अगि त पुरै मौन थियौ सधैं त्यस्तै भए त राम्रो तर नानी देखि लाग्या बानी दोहोरियो भने ?! धेर खुसी हुँदा या धेर दुखी हुँदा न सवारीसाधन हाँक्नु न जिन्दगीको सवारी गर्नु रे !”, मैले जवाफ फर्काएँ।

“खुसीमा पनि दुखी हुँदामा पनि समभावमा रहनु ! यही समभावमा जिन्दगीको सवारी गर्नु रे ! कोही ब्रह्मवाणीहरू कतै सुनेको थिएँ।” मैले भनेँ। “त्यो त हो दाइ !”, यति भन्दै ऊ बाइक पछाडी चुपचाप बसेको थियो आउँदा खेरि झैँ, उसै गरी, दुवै हात बाँधी ! “राम्ररी बस है !”, मैले भनेँ। “ओक्के छ त दाइ !”, उसले जवाफ फर्काएको थियो। मैले बाइक अगाडि बढाएँ।

आदरणीय स्वरसम्राट हाम्रो नारायणगोपालज्यूका प्रायशः हर गीत कालजयी छन्, काल उपर जय भएर गुञ्जिरहेछन् अनवरत ! श्रीमहादेवी सरस्वती स्वयम् नै अवतरित गलामा उहाँको जो आसिन हुनुभएको थियो। त्यही भएर उहाँका गीत सुन्ने अहोभाग्य जबजब हुन्छन्, भक्कानाहरू फुट्दछन्, हृदय पग्लन्छन्, पग्लिएर हृदय भरिन्छन्, अनि आँखाबाट यसै-अनायासै पोखिदिन्छन् ! एक कालजयी गीत त्यस्तै उहाँको, मेरो पनि मानसपटलमा गुञ्जन लाग्यो –

“एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटाको साथीको साथले कति
फरक पर्दछ जिउनुमा ….”

hrisheekeshdhakal@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *