बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर : प्रधानमन्त्री ओली

डिसी नेपाल
१५ मंसिर २०८१ १७:४२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न आफूले भरपुर पहल गरेको स्मरण गरेका छन्।

प्रधानमन्त्री ओलीले मानवीय हिसावले कष्टकर जीवन यापन गर्दै आएका भुटानी शरणार्थीलाई आफ्नो समेत पहलमा तेस्रो मुलुक पुर्नवास गरेको बताए।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा इन्ट्रा फाउण्डेशनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले भुटानी शरणार्थी तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दुःख समेत व्यक्त गरे।

‘मावनीय दृष्टिले मैले शरणार्थी शिविरमा कष्टकर जीवन यापन गर्दै आएका एक लाख बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवासका लागि पहल गर्दा ममाथि अकेनप्रकारका छुद्र टिप्पणी भए,’ प्रधानमन्त्री ओलीले भने।

उनले भुटानले नेपाली भएकै कारण नेपाली भाषीलाई देश निकाला गरेको उल्लेख गर्दै अब अहिले तेस्रो देशमा पुर्नस्थापना भएका नेपालीभाषाी भुटानीलाई भुटानले शरणार्थीसमेत भन्न छाडेको बताए।

तर तेस्रो मुलुक पुर्नस्थापना भएका भुटानी योग्य र सक्षम भएको उल्लेख गर्दैै आगामी दिनमा भुटानले दक्ष जनशक्तिको रुपमा पहिला लखेटेका नागरिकलाई फिर्ता बोलाउने दाबी गरे।

उनले अहिले पनि शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए।

नेपाली मुलका भुटानी-अमेरिकी संस्था इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरे। शरणार्थी शिविरमा बाँकी रहेका शरणार्थीलाई फाउण्डेशनले शिक्षा तथा खाद्यान्नलगायतमा सहयोग गरिरहेको उल्लेख गरे। शिविरमा रहेका बालबालिकालाई शिक्षा तथा बृद्धबृद्धालाई पोषणयुक्त खाद्यान्नमा फाउण्डेशनले सहगोय गरिरहेको उनको भनाइ थियो।

सो अवसरमा इन्ट्रा फाउण्डेशनले विश्वभरका नेपालीहरुबीचको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ का विषयमा जानकारी गराइएको थियो।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष अधिकारीसँगै नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, फाउण्डेशनका कार्यकारी निर्देशक चूडामणि भट्टराई, सचिब गोपाल धिताल, बोर्ड सदस्य ओम गुरुङलगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *