कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू

डिसी नेपाल
१५ मंसिर २०८१ २१:३१

म्याग्दी। भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका–१ माझीबस्तीदेखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्र गर्न सुरू भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इञ्जिनियर सोहनजङ्ग कार्कीले माझीबस्तीदेखि डमुवाखोलासम्म शुक्रबार र शनिबार छ सय मिटर दूरीमा प्राइम कोट ९बिटुमिन० बिछ्याएको र लस्तीसम्म थप तीन किलोमिटर कालोपत्रको लागि तयार भएको जानकारी दिए। तेह्र किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रू ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो।

यस खण्डको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंले बताए। विभिन्न ठाउँमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ।

विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकामा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिका–४ का वडाअध्यक्ष भरत क्षेत्रीले बताए। यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो। मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *