इतिहासमै पहिलोपटक यौनकर्मीका लागि मातृत्व अवकाश र पेन्सनको समेत सुविधा !

सोफिया बेटिजा, बीबीसी
१६ मंसिर २०८१ ११:०२

ब्रसेल्स । बेल्जियमकी यौनकर्मी सोफीले भनिन्, ‘म नौ महिनाको गर्भवती हुँदा काम गर्नुपरेको थियो ।’ बच्चा जन्माउनुभन्दा एक साताअघि पनि यौनकर्मीको रूपमा काम गरिरहेको उनले बताइन् ।

सोफीका लागि आफ्ना पाँच सन्तान हुर्काउनुका साथै यौनकर्मीको रूपमा काम गर्न निकै गाह्रो छ । सोफी आफ्नो पहिचान खुलाउन चाहँदिनन्। पाँचौं सन्तान जन्मँदा सिजेरियन गरिएकोले उनलाई ६ हप्ता पूर्ण आराम गर्न सल्लाह दिइएको थियो ।

सोफीले आफूसँग कुनै विकल्प नभएको र तुरुन्तै आफ्नो काममा फर्किनु परेको बताइन् । “मलाई पैसा चाहिएकोले काम छोड्न सकिन,” उनले भनिन्। उनले पनि सुत्केरी बिदा लिने मौका पाएको भए उनको जीवन सहज हुने थियो ।

यद्यपी, बेल्जियमले नयाँ कानून ल्याएको छ जसअन्तर्गत अब यौनकर्मीले पनि प्रसूति बिदा लिन सक्नेछन् । यो उनीहरूको रोजगार सम्झौताको अंश हुनेछ। यति मात्र नभई यौनकर्मीले स्वास्थ्य बीमा, पेन्सन, बिरामी बिदा लगायत उनीहरुको कामलाई अन्य काम सरह मानिने अन्य सुविधा पनि पाउनेछन् । यो संसारमा पहिलो पटक हुन गइरहेको छ।

सोफी भन्छिन्, “यो हाम्रा लागि साधारण मानिसजस्तै बाँच्ने एक अवसर हो।”

इन्टरनेशनल युनियन अफ सेक्स वर्कर्सका अनुसार विश्वभर करिब ५ करोड २० लाख यौनकर्मी छन्। बेल्जियमले सन् २०२२ मा नै यो पेशालाई अपराधको श्रेणीबाट बाहिर राखेको थियो । यो पेसा टर्की र पेरुमा पनि कानूनी रूपमा वैध छ।

तर यौनकर्मीहरूलाई रोजगारीको अधिकार र करार सम्झौता दिने काम सायद संसारमा कुनै पनि देशले पहिलो पटक गरेको हो।

ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता एरिन किल्ब्राइडले यो अहिलेसम्मकै उत्कृष्ट कदम भएको बताइन्। उनले भनिन् – यस दिशामा सबै देश अघि बढ्नुपर्छ ।

तर, यो कानुनले यौनकर्मीको शोषण, ओसारपसार र दुर्व्यवहार रोक्न नसक्ने आलोचकहरू बताउँछन् ।

बेल्जियममा यौनकर्मीहरूलाई मद्दत गर्ने गैरसरकारी संस्था इसालासँग स्वयम्सेवा गर्ने जुली क्रुमियरले बताएअनुसार यो खतरनाक छ किनभने यसले मूल रूपमा सधैं हिंसक हुने पेशालाई सामान्य बनाउँछ।

धेरै यौनकर्मीहरूको लागि यो काम एक आवश्यकता हो।

यौनकर्मी मेलले बताएअनुसार जब एक व्यक्तिले उनलाई कन्डम बिना मुखमैथुन गर्न बाध्य पारेपछि उनी डराएकी थिइन् । आफ्नो वेश्यालयमा यौन संचारित संक्रमण फैलिरहेको बेला उनले यो गर्नुपर्‍यो। तर उनीसँग ‘हुन्छ’ भन्नुको विकल्प थिएन ।

उनी भन्छिन्, “मसँग दुईवटा मात्र विकल्प थिए। कि त मलाई एसटीई हुन्छ वा पैसा कमाएर बाँच्नुपर्थ्यो।”

पैसा चाहिने भएकाले मेल २३ वर्षको उमेरमा यौनकर्मी बनिन् । यो पेशामा आबद्ध भएको केही दिनमै उनले सोचेभन्दा धेरै पैसा कमाउन थालिन् । उनले सोचेका थिइन् – उनले सबै पाएकी छिन्, तर एसटीआईले उनका सबै आशाहरू चकनाचूर पारिदिए।

मेलले अब कुनै व्यक्तिसँग असहज महसुस गरेमा अस्वीकार गर्न सक्छिन्। यो कानुन पहिल्यै बनेको भए यो अवस्थालाई अर्कै तरिकाले सम्हाल्न सक्ने उनको विश्वास छ ।

उनले भनिन्, “मैले मलाई काम दिने महिलालाई भन्न सक्थें कि ‘महोदया, तपाईले नियम तोड्दै हुनुहुन्छ र तपाईले मसँग राम्रो व्यवहार गर्नु पर्छ।’ म कानूनद्वारा संरक्षित हुने थिएँ।”

बेल्जियमको यो कानून सन् २०२२ मा त्यहाँ भएको राष्ट्रव्यापी विरोध प्रदर्शनको परिणाम हो। त्यतिबेला कोरोना महामारीका बेला सरकारबाट सहयोग नपाएपछि यौनकर्मी सडकमा आएका थिए ।

विरोध प्रदर्शनको मुख्य अनुहार भिक्टोरिया थिइन्, जो बेल्जियम युनियन अफ सेक्स वर्कर्सकी अध्यक्ष हुन् र १२ वर्षदेखि यौनकर्मीको रूपमा काम गरिरहेकी छिन्। यो उनको लागि व्यक्तिगत संघर्ष थियो।

सन् २०२२ अघि भिक्टोरियाले धेरै चुनौती र असुरक्षित वातावरणमा काम गर्नुपरेको थियो । उनीसँग कुनै विकल्प थिएन र उनीहरूलाई काम गर्ने एजेन्सीले आम्दानीको ठूलो हिस्सा आफ्नो लागि राख्यो।

भिक्टोरियाले बताएअनुसार एक व्यक्ति उनको लागि पागल बनेको थियो र उसले उनलाई बलात्कार गरेको थियो।

उनले भनिन्, “जब म प्रहरी चौकीमा उजुरी गर्न गएँ, तब महिला अधिकारीले मलाई यौनकर्मीलाई बलात्कार गरिएको भन्न नसकिने बताइन्। मैले यौनकर्मीको रूपमा काम गरेकोले यो मेरो गल्ती हो भन्ने महसुस गराइन्।”

भिक्टोरिया रुँदै प्रहरी चौकीबाट निस्किन् । भिक्टोरियाले यो नयाँ कानुनले आफ्नो जीवनमा सुधार ल्याउने महसुस गरेको बताइन् ।

बीबीसीले कुराकानी गरेका हरेक यौनकर्मीले कुनै न कुनै बेला उनीहरूलाई उनीहरूको इच्छाविपरीत काम गर्न बाध्य पारिएको बताए।

भिक्टोरियाले बताएअनुसार यदि त्यहाँ कुनै कानून छैन भने तपाइँको काम अवैध मानिनेछ र तपाइँलाई मद्दत गर्न कुनै नियम हुनेछैन।

यौनकर्मीको कामको रेखदेख गर्नेले कानुनबमोजिम काम गराउनुपर्छ र नियमको पालना गर्नुपर्छ । यदि गम्भीर अपराधमा दोषी ठहरिएमा, उनीहरूले यौनकर्मीलाई काममा राख्न सक्ने छैनन्।

क्रिस रिकमेन्स र उनकी श्रीमती अलेक्जान्ड्राले बेकभोर्टको लभ स्ट्रीटमा कामुक मसाज पार्लर चलाउँछन्।

क्रिस रिकमेन्सले यौनकर्मीलाई काममा लगाउने कैयौं व्यक्तिको नाम आपराधिक रेकर्डमा दर्ता भएकाले धेरैले काम बन्द गर्नुपर्ने बताए।

बीबीसीको टोली पार्लरमा जाँदा त्यो पूरै भरिएको थियो र सोमबार बिहान यस्तो कुराको आशा गरिएको थिएन । यस अवधिमा बीबीसी टिमलाई मसाज बेड, तौलिया, हट टब र स्विमिङ पूल देखाइयो।

क्रिस र उनकी श्रीमतीले १५ जना यौनकर्मीलाई रोजगारी दिएका छन् । यौनकर्मीलाई सम्मानजनक व्यवहार गर्न र राम्रो पारिश्रमिक दिन पाउँदा आफूहरू गौरवान्वित भएको दुवै जना बताउँछन् ।

क्रिसले भने, “मलाई आशा छ कि यौनकर्मीहरूसँग राम्रो व्यवहार नगर्नेहरू व्यवसायबाट बाहिर जानेछन् र इमानदारीपूर्वक यो पेशा चलाउन चाहने असल व्यक्तिहरू रहनेछन्।”

एरिन पनि त्यही कुरामा विश्वास गर्छिन् तर जुलीले भनिन्, ‘हामीले सहयोग गरेका अधिकांश महिलाले यो काम छोडेर अरू मानिसजस्तै ‘सामान्य काम’ गर्न चाहेको बताएका छन्।’

बेल्जियमको नयाँ कानुनअनुसार यौनकर्मीहरूले काम गर्ने हरेक कोठामा अलार्म बटन हुनेछ। यो बटनले यौनकर्मीलाई आफूले रोजेको विश्वासिलो व्यक्तिसँग जोड्नेछ।

यौन कार्यलाई सुरक्षित बनाउन कुनै उपाय नभएको जुली विश्वास गर्छिन् ।

“के तपाईलाई अर्को काममा प्यानिक बटन चाहिन्छ ? यो सबैभन्दा पुरानो पेशा होइन, तर संसारको सबैभन्दा पुरानो शोषण हो।”

यौन व्यवसायलाई नियमको दायरामा कसरी ल्याउने ? यो संसारभर बहसको विषय बनेको छ, तर मेल भन्छिन् – ‘मलाई गर्व छ कि बेल्जियम धेरै अगाडि छ।’

“अब मेरो भविष्य छ।”

*मानिसहरूको सुरक्षालाई ध्यानमा राख्दै यस कथाका धेरै पात्रको नाम परिवर्तन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *