२० एसएसपी पदमा बढुवाको तयारी, २ वर्ष फरक ब्याचका एसपीहरू लबिङ गर्दै

डिसी नेपाल
१७ मंसिर २०८१ १०:३१

काठमाडौं। प्रहरी प्रधानकार्यालयले रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी गरेको छ।

प्रहरी प्रधानकार्यालयले आइतबार गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणी दुवाडीसँग समन्वयगरी बढुवाको तयारी गरेको हो। प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त रहेकाले यसको तयारी गरेको हो।

डीआईजीमा बढुवा भएकाहरुको दर्ज्यान्ही चिन्ह सोमबार विहान लगाएसँगै एसपीहरुको एसएसपीमा बढुवा सिफारिस हुने भएको छ। यसअघि एआईजी र डीआईजी बढुवा भएकाले अब एसएसपीमा बढुवा गर्न लागिएको प्रहरी प्रधानकार्यालयका एक अधिकृतले जानकारी दिए।

रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिइङ गरिरहेका छन्। २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू अहिले बढुवाका लागि जोड गरिरहेका छन्।

यीमध्ये पनि दुईपटकमा एसपी भएका ३८ जना मुख्य दाबेदार देखिएका छन्। ९ वर्षपहिले नै एसपीमा बढुवा भएका विमल बस्नेत यसपटक एसएसपी बन्ने लाइनमा छन्। हालका एसपीमा उनी सबैभन्दा वरिष्ठ हुन्।

तर कारबाहीमा परेका कारण उनको बढुवा रोकिएका कारण यसपटक पनि यसै भन्न सकिने अवस्था छैन। उनलाई पाँच वर्षका लागि बढुवा नगर्ने गरी कारवाही गरिएको थियो।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोलीका उनी मात्रै एसपीमा रोकिएका हुन्। उनकै ब्याचका सिद्धिविक्रम शाहसहितका अधिकारीहरू डीआईजीमा बढुवा सिफारिस भएर पनि सोमबार दर्ज्यानी चिन्ह लगाउदै छन्।

यस्तै, २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर पछि परेका एसपीहरू पनि अहिले बढुवाको लागि लबिइङ गरिरहेका छन्। उनीहरू २०५८ को टोलीसँग २०७५ माघमा एसपीमा बढुवा भएका थिए। २०५६ को टोलीका गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल पनि अहिले एसएसपीमा बढुवा हुने सूचीमा छन्।

बाँकी २०५८ सालको टोलीका एसपीहरू एसएसपी बढुवा हुनेछन्। यो ब्याचबाट रमेश थापा पहिलो नम्बरमा एसपी भएका थिए। अहिले पनि उनको कार्यसम्पादन मूल्यांकन अघिल्लो वरीयताकै जस्तो कायमै रहेकाले आफ्नो ब्याचमा एक नम्बर हुने निश्चित देखिएको छ।

यसपटक कार्यसम्पादन मूल्यांकनमा निकै राम्रो र अनुसन्धानमा समेत अब्बल देखिएका कृष्णप्रसाद कोइराला दोस्रो नम्बरमा बढुवा हुने संभावना रहेको छ। अनुपम शमशेर राणा, जनार्दन जीसी र सन्तोष खड्का पनि आफ्नो व्याचमा अब्बल नै रहेका कारण अन्य प्रतिस्पर्धी भन्दा अग्र भागमा रहेका छन्।

लागुऔषध तस्करीलाई छाडेको र आर्थिक अनियमिताको आरोपमा कारवाहीमा परेका प्रकाश रानाभाट र हनी ट्रयापमा मुद्दा चलाउन सिफारिस भएका कमल थापाको बढुवा यसपटक रोकिने निश्चित भएको छ।

उनीमाथि भैँसेपाटीको हनी ट्र्याप प्रकरणमा अनुसन्धान भएको थियो। अहिले पनि उनीमाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ।

रानाभाट भने नेताहरुको घरदैलो चाहरिहेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्पत्ति शुद्धीकरण विभागमा पठाएका कृष्णप्रसाद पंगेनी जोडतोडले बढुवाको अग्रभागमा आउन लागिरहेका छन्।

उनी अपराध महाशाखामा हुँदा बालकृष्ण खाँणसँग पनि नजिकको सम्बन्ध राखेर तराईको जिल्ला कमाण्ड गर्न पुगेका थिए। विभगमा आएपछि तत्कालीन महानिर्देशक पुष्पराज शाहीसँग मिलेर व्यापारीहरुलाई दुःख दिएको भन्दै पंज्ञेनीको ट्याक रेकर्ड सकारात्मक छैन। तैपनि उनी बढुवा हुने सूचीमा छन्।

गृहमन्त्रालयमा रहेका अजय केसी कार्यसम्पादन मूल्याकंनमा औसत रहेपनि अग्रभागमै आउन कोसिस गरिरहेका छन्। यसपटक रन्जु सिग्देल बढुवा अघिल्लो भन्दा अघि हुने देखिएको छ। काठमाडौं परिसरमा रहेका नवराज अधिकारी पनि बढुवाको लाइनमा छन्।

वर्षमान पुनसँग नजिक रहेका वीरबहादुर बुढामगर कार्यसम्पादनमा औसत छन्। उनी पनि २० नम्बरभित्रै अटाउने भएका छन्। अर्का श्यामकुमार महत्तोको कार्यसम्पादन मूल्यांकन निकै कमजोर देखिएको भएपनि उनले पनि शक्ति केन्द्रमा आफ्नो पहुँचलाई कायमै राखेका छन्। २०७७ बैशाखमा बढुवा भएका तर रमेश थापाकै व्याची रहेका बेद विष्ट यसपटक एसएसपी हुने लाइनमा छन्।

यही ब्याचका तर एसपी बढुवामा पछि परेका टोलीबाट पनि केही अधिकारीहरू एसएसपीमा बढुवा हुनेछन्। २०७७ वैशाखमा एकसाथ २४ डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो।

त्यतिबेला तुलबहादुर कार्की पहिलो नम्बरमा बढुवा भएका थिए उनीसहित होबिन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराई मध्येबाट पनि केही एसएसपीमा बढुवा हुनेछन्।

यही ब्याचका प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला पनि एसएसपी बन्न लबिइङमा छन्। उनीहरू सबै २०७७ मा एसपीमा बढुवा भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *