कविता : तिमी बोझ होइनौं मेरो बच्चा

यशोदा दाहाल
१८ मंसिर २०८१ १२:३३

खै के भयो, भयो
मेरो बच्चाको जीवनमा
जन्मिँदै अनौठो भयो
त्यस्तो कसरी भयो?
अनुत्तरित छु
प्रश्नको उत्तर छैन मसँग
म आमा हुँ
उत्तर थाहा पाउन ईश्वर होइन

मसँग आमाको कोमल हृदय छ
मेरो बच्चालाई दुख्दा मलाई आफैँ पीडा हुन्छ
मलाई झिजो लाग्दैन तिम्रो कुनै व्यवहार
तिमीभित्रै पाउने गर्छु खुसीको संसार
तिमीलाई नै छ मेरा माया अपरम्पार

समाजको वितृष्णा र तिरस्कारविरुद्ध
म एक्लै डट्ने छु
तिमी अशक्त छौं
हात चल्दैन, पाउ चल्दैन
तिनै नचल्ने हात पाउ मेरा लागि अनमोल छन्

तिमीले नसके म सक्छु नि
कसैले नबुझेका भावना म बुझ्नु नि
तिमीसँग आवाज छैन त के भो
मसँग तिम्रो भाव बुझ्न सक्ने हृदय छ नि
तिम्रो दुःखमा म रोइदिउँला
तिम्रो खुसीमा म हाँसिदिउँला

तिमी बोझ होइनौं
मेरो सिर्जना हौं प्यारो बच्चा
तिमी रोग होइनौं
मेरो सब थोक हौं प्यारो बच्चा

(अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *