अण्डर १९ एसिया कप : नेपालविरुद्ध अफगानिस्तान १२३ रनमै अलआउट
काठमाडौं । युएइमा जारी अण्डर १९ एसिया कपको खेलमा नेपालविरुद्ध अफगानिस्तान १२३ रनमै अलआउट भएको छ । युएइको शारजाहमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तान निर्धारित ५० ओभरको खेलमा ३५.४ ओभरमा १२३ रन बनाउँदा अलआउट भएको हो ।
अफगानिस्तानका लागि फैसल खानले ५२ रनको अर्धशतकीय पारी खेले । यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे । खातिर खान स्टानिकजाइले १५, बरकत इब्राहिमजाइले १२ रन र अल्लाह गजनफरले ११, नासिर खान मारुफ्खीले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
नेपालका लागि युनिस बिक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३-३ विकेट लिए । कप्तान हेमन्त धामी र अभिषेक तिवारीले समान २–२ विकेट लिए । नेपालले अबको केहीबेरमा लक्ष्य पच्छ्याउन जवाफी ब्याटिङ थाल्नेछ ।
Facebook Comment