उपनिर्वाचनमा कमजोर देखिएन माओवादी, घाटा कांग्रेसलाई
काठमाडौं । स्थानीय तहको उपचुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई बढी फाइदा पुगेको देखिएको छ। मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा एक स्थानमा पालिका प्रमुख, तीन स्थानमा उपप्रमुख र सात स्थानमा वडाध्यक्ष निर्वाचित हुँदै आफूलाई बलियो रूपमा प्रस्तुत गरेको छ।
२०७९ को स्थानीय तह निर्वाचनपछि विभिन्न तह (जिल्ला संयोजक, प्रमुख, उपप्रमुख र वडाध्यक्ष)का खाली भएका ४४ स्थानमध्ये माओवादीले जितेका ८ स्थान खाली भएका थिए। माओवादीले एक अध्यक्ष, तीन उपप्रमुख र सात वडाध्यक्षसहित ११ स्थान जितेको छ।
उपनिर्वाचनको मत परिणाम आएपछि हौसिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मत परिणामबाट सकारात्मक सन्देश प्राप्त भएको बताएका थिए। उनले भनेका थिए, ‘यो उपनिर्वाचनले पार्टीप्रति विश्वास बढेको र आगामी दिनका लागि सकारात्मक सन्देश दिएको छ। यसअघि हामीले जितेका वडा जोगाउन सकेको भए अझ राम्रो हुन्थ्यो। त्यहाँ केही कमजोरी रह्यो।’
सत्ताबाट बाहिरिएसँगै कांग्रेस र एमालेले दुई दलीय राजनीतिक प्रणालीमा लाने कसरत गरिरहेको आरोप लगाइरहेको माओवादी केन्द्र उपनिर्वाचनको नतिजाले भने आफू पनि मुलुकका लागि अपरिहार्य शक्ति रहेको पुष्टि भएको माओवादी उपमहासचिव वर्षमान पुन बताउँछन्। यसअघि कांग्रेससँग गठबन्धन गर्दा पनि अपेक्षित परिणाम नआएकोमा यस पटक आएको परिणाम सन्तोषजनक रहेको माओवादीको बुझाइ छ।
सरकारबाट बाहिर आए माओवादी खत्तम हुन्छ आम बुझाइ रहेकोमा त्यो गलत भएको माओवादीको ठहर छ। उपनिर्वाचनले आगामी चुनावमा एक्लै लड्ने आधार स्पष्ट पारिदिएको पुनको बुझाइ छ।
प्रचण्ड नेतृत्वको सरकारले सुशासन, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गरेकाले जनतामा विश्वास बढेको माओवादीले निष्कर्ष निकालेको छ।
उपनिर्वाचनको नतिजासँग माओवादीभित्र सक्किने कि सच्चिने भन्ने बहस हुन थालेको छ। ‘अब पार्टीले सत्ता मोह त्याग गर्नुपर्छ। उपनिर्वाचनको नतिजाले माओवादीप्रति जनताको विश्वास नमरिसकेको देखाएको छ। जनताले माओवादी सच्चिएर अगाडि बढेको हेर्न चाहनु भएको छ। अब हामी सक्किने कि सच्चिने भन्नेमा नेतृत्व गम्भीर हुनुपर्छ,’ उनले भने।
यता सत्तारुढ दल कांग्रेस मत परिणाम सन्तोषजनक भने पनि सबैभन्दा बढी घाटा उसैलाई भएको छ। उपनिर्वाचन भएका ४४ मध्ये कांग्रेसबाट यसअघि २७ जनाले जितेका थिए। तर, यसपटक कांग्रेसबाट दुई जिल्लामा जिल्ला समन्वय प्रमुख, एक पालिका प्रमुख र १६ वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका छन्।
एक्लाएक्लै प्रतिस्पर्धा गर्दा प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दाबी छ। ‘रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए। समग्रमा यो ४३.१८ प्रतिशत हो। २०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ,’ महामन्त्री शर्माले विज्ञप्तिमार्फत नै भनेका छन्।
उता सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका लागि पनि उपनिर्वाचन सुखद रहेन। एक पालिकामा प्रमुख, दुई पालिकामा उपप्रमुख र पाँच स्थानमा वडाध्यक्ष जित्दै एमालेले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। उपनिर्वाचनमा एमालेलाई माओवादीले नै उछिनी दिएको छ।
Facebook Comment