आफू चीन जाँदा प्रधानमन्त्री ओलीले भारत पठाए विश्वासिला मन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सोमबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा गएका छन्। सुरुमा भारत भ्रमण गर्ने परम्परा तोड्दै चीन गएका प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीलाई भारत पठाएका छन्। मन्त्री भण्डारी आइतबार भारत गएका हुन्।
उनी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन नयाँ दिल्ली गएका हुन्। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मंगलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि उनी भारत गएका हुन हुन्।
कतिपयले मन्त्री भण्डारीको भारत भ्रमण पूर्व निर्धारित भएको बताएका छन्। मन्त्री भण्डारीको भ्रमण पूर्व निर्धारित भएपनि प्रधानमन्त्री ओलीले सो भ्रमणलाई भारतसँगको सम्बन्ध सुधारको प्रयास पनि गरेको बताइएको छ। स्रोतका अनुसार मन्त्री भण्डारीको भारतीय संस्थापन पक्षसँग राम्रो सम्बन्ध भएको बताइन्छ।
प्रधानमन्त्री ओली यतिबेला भारतसँग सम्बन्ध सुधारको प्रयासमा छन्। प्रधानमन्त्री ओली आफ्नो पहिलो विदेश भ्रमण भारतबाट होस् भन्ने चाहन्थे। तर भारतीय पक्षले चासो नदिँदा प्रधानमन्त्री ओलीको पहिलो भ्रमण चीन हुन पुग्यो। चीनबाट फर्केपछि ओलीले भारतको भ्रमण गर्ने योजना बनाएका छन्।
त्यसका लागि मन्त्री भण्डारीको भारत भ्रमणलाई ओलीले सदुपयोग गर्न चाहेका छन्। नेपालमा ०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि प्रधानमन्त्रीका रुपमा सो नाकाबन्दीको ओलीले डटेर सामाना गरेका थिए। पछि ओलीकै प्रधामनन्त्रीत्व कालमा भारतले अतिक्रमित गरेको भूमि समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारतसँग ओलीको सम्बन्धमा दरार आएको छ।
त्यसो असोजको पहिलो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा न्यूयोर्कमा भेटवार्ता भएको थियो। त्यसपछि पनि ओलीले भारत भ्रमण गर्न भन्दै विभिन्न च्यानलमार्फत प्रयास गरेका थिए।
त्यसैको तयारी स्वरुप परराष्ट्रमन्त्री डा. आरजू देउवा नयाँ दिल्ली गएकी थिइन्। तर भारतले प्रधानमन्त्रीलाई भ्रमणको निम्तो त दिएन बरु आरजूलाई हाइ लेबलको सम्मान दियो।
त्यसपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरेका थिए। यतिबेला ओली चीनको चार दिने चीन भ्रमणको क्रममा बेइजिङमा छन्। उता मन्त्री भण्डारी पनि यतिबेला दिल्लीमा नै छन्। प्रधानमन्त्री ओली चीनबाट फर्किएपछि भारत जाने योजनालाई सफल बनाउन मन्त्री भण्डारी कत्तिको सफल हुन्छन् त्यो हेर्न बाकिँ छ।
Facebook Comment