संघीयताको सफल कार्यान्वयनसँग मुलुकको समृद्धि जोडिएको छ : प्रदीप ज्ञवाली

डिसी नेपाल
१८ मंसिर २०८१ १५:२५

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक संघीय प्रणालीमा गएकोमा अब यसको सफल कार्यान्वयन हुनुपर्ने बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा ज्ञवालीले उक्त धारणा राखेका हुन्।

संघीयताको सफल कार्यान्वयन भएमा मुलुकले समृद्धिसमेत हासिल गर्न सक्ने उनको भनाइ छ। ‘मुलुक संघीताको अभ्यासमा छ। तीन तहका सरकार छन्। तीनै तहका सरकारका आफ्ना योजना छन्। ती योजनाको सफल कार्यान्वयन हुन सकेमा मुलुकमा विकास सम्भव छ,’ उनले भने।

नेता ज्ञवालीले अझैँ पनि कहीँ कतै केन्द्रीकृत मानसिकता रहेकाले त्यो अन्त्य हुनुपर्ने बताए। तीन तहका सरकार हुँदा पनि संघीय सरकारले नै स-साना योजनामा पनि ध्यान दिनु परिरहेको उनको भनाइ छ।

‘संघीय, प्रादेशिक र स्थानीय तहका योजना छन्। तर, संघीय सरकारले आजका दिनमा पनि १७ हजार योजना बोकिरहेको छ। करिब सय योजना एक लाख जतिका पनि छन्। एक लाखका योजना संघीय सरकारले बोक्ने स्थिति संघीयताप्रतिको मजाक हो,’ उनले भने।

योजना छनोट गर्दा हचुवाको भरमा गर्न नहुनेसमेत उनको सुझाव छ। कतै पुल निर्माण गर्दा पनि त्यसले कति प्रभाव पार्न सक्छ भन्नेमा ध्यान दिनुपर्ने उनी सुझाउँछन्।

‘कुनै पनि राजनीतिक दलले कार्यकर्तामुखी विकास निर्माण गर्नु हुँदैन। पुलै निर्माण गर्दा पनि त्यहाँ आवश्यक हो कि होइन, यसले कति जनालाई लाभ दिन्छ भन्ने हेक्का राख्नुपर्छ। अधिकतम लाभ दिने काम गर्नुपर्छ,’ उनले भने।

कतिपय योजना तत्काल लाभ नदिएर दीर्घकालीन लाभका हुने भएकाले यसमा पनि सरकार चनाखो बन्नुपर्ने उनको भनाइ छ।

फरक प्रसंगमा बोल्दै नेता पौडेलले एमाले नेतृत्वको नेपाली कांग्रेससँगको गठबन्धन सरकार पूरा कार्यकाल टिक्ने बताएका छन्। मुलुकलाई अप्ठ्यारोबाट निकास दिन कांग्रेस-एमाले एक ठाउँमा आएकाले सरकार पूरा कार्यकाल चल्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *