विवाहपञ्चमीको तेस्रोदिन धनुषयज्ञ मनाइयो
धनुषा। जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ सम्पन्न भएको छ। विधिवत्रुपमा आइतबार सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार बाह्रबिघा रंगभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो।
त्रेतायुगमा झै प्रतीकात्मक रुपमा रामलक्ष्मणको पहिरनमा सजिएको बालकहरुबाट रंगभूमि मैदानमा बनाइएको मञ्चमा राखेको धनुष तोड्न लगाएर धनुषयज्ञ मनाइएको हो। प्रतीकात्मक भगवान् रामको रूपमा सजिएको बालकले धनुष तोडेका थिए। जानकी मन्दिरका छोटे महन्थ रामरोसन दास वैष्णवका अनुसार सो अवसरमा अयोध्याबाट करिब पाँच सयको संख्यामा आएका साधुसन्तको जन्ती टोली पनि धनुषयज्ञमा सहभागी भएको थियो।
जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमी भव्यताका साथ मनाए पनि अयोध्याबाट पाँच वर्षको अन्तरालमा जन्ती आउने गरेको छ। यस पटक चौथोपटक अयोध्याबाट जनकपुर जन्ती आएको हो। प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा भारत–नेपालको विभिन्न ठाउँबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन्। धनुषयज्ञको लागि बनाइएको मञ्च अगाडि पण्डालमा हजारौँ संख्यामा श्रद्धालको उपस्थिति रहेको थियो।
प्राचीन मिथिलाको राजधानी जनकपुरमा राजा जनकले सीता स्वयंवरका लागि राखिएको धनुष अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् रामले तोडेपछि रामसँग सीताको विवाह भएको थियो। सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो। दोस्रो दिन विवाह मण्डपको बगैँचामा फूलबारी लीला दर्शन गराइएको थियो।
चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ। छैटौँ दिनअर्थात् मङ्सिर २१ गते जनकपुरकै राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रंगभूमि मैदान पुर्याउने छ। त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ। रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ।
Facebook Comment