दक्षिण कोरिया : राष्ट्रपतिले घोषणा गरेको ‘मार्सल ल’ दुई घन्टा नबित्दै फिर्ता
काठमाडौं। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य कानुन अर्थात् मार्सल ल लागू गर्ने आफ्नै अप्रत्यासित घोषणा व्यापक विरोधपछि फिर्ता लिएका छन्।
राष्ट्रतिले मार्सल ल लागू गर्ने घोषणा गरेपछि विपक्षी मात्र नभई सत्तापक्षीय सांसदहरुले पनि एकमत भएर त्यसको विरोधमा संसदमा मतदान गरेका थिए। व्यापक विरोध र प्रदर्शनपछि राष्ट्रपति युनले आफ्नै घोषणा दुई घन्टा नबित्दै फिर्ता लिन बाध्य भएका हुन्।
राष्ट्रपतिको घोषणा लगत्तै राष्ट्रपति कार्यालयको भवनभित्र पस्न प्रदर्शनकारीहरुले बार तोडफोड गरेका थिए। साथै सडकमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो।
एक्कासी सैनिक शासन लागू भएको विरोधमा संसदबाहिर भेला भएका प्रदर्शनकारीहरु अहिले सो घोषणा उल्टिएको खुसीयाली मनाइरहेका छन्। मार्शल ल लागू हुनु भनेको सैन्य अधिकारीहरूले सङ्कटकालमा शासन गर्नु हो । यस अवधिमा सामान्य नागरिक अधिकारहरू निलम्बित हुनसक्ने खतरा रहन्छ।
Facebook Comment