भारतले नबोलाएपछि चीन गएका प्रधानमन्त्री नफर्किंदै प्रधानसेनापतिको भारत भ्रमण तय
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीन भ्रमणमा रहेका छन्। आफ्नो कार्यकाल चार महिना पुगेपछि औपचारिक रूपमा पहिलो विदेश भ्रमण चीन गएका हुन्। उनी बिहीबार अर्थात मंसिर २०मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
चौथो कार्यकाल चार महिना वितिसक्दा पनि अर्को छिमेकी मुलुक भारतले भ्रमणका लागि औपचारिक निम्तो दिएको छैन। भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री ओलीको भारत भ्रमण चाँडै हुने बताएको भएपनि अहिलेसम्म मिति निर्धारण हुन सकेको छैन।
‘भारतले आश्वासन दिइरहेको भएपनि भ्रमणको तालिकाबारे छलफल हुन सकेको छैन’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।
प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेकै बेला यता प्रधानसेनापति अशोकराज सिग्देलको मंसिरभित्रै भारत भ्रमण हुने सैनिक उच्च स्रोतले जनाएको छ। भारतीय उच्च सुरक्षा अधिकारीहरुले नेपाल भ्रमण गरेर फर्केपछि प्रधानसेनापति सिग्देलको भारत भ्रमण हुन लागेको हो। नेपाली सेनाले यसलाई गोप्य राखेको छ।
सैनिक स्रोतका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भ्रमणका लागि निम्ता पठाइसकेको छ। त्यसैअनुसार सैनिक मुख्यालयले पनि तयारी गरिरहेको छ। ‘प्रधानसेनापतिको भारत भ्रमणको तयारी भैरहेको छ’, यो एउटा औपचारिक भ्रमण मात्रै हो’, सैनिक स्रोतले भन्यो।
स्रोतका अनुसार मंसिरको अन्तिम हप्तामा प्रधानसेनापति सिग्देलको भारत भ्रमण हुनेछ। मंसिर ५ मा नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपाली सेनाका प्रधानसेनापति सिग्देललाई भारत भ्रमणको निम्तो दिएका थिए।
एकअर्काको देशमा मानार्थ जनरलको पदवी दिने परम्पराअनुरूप सिग्देललाई भारतको औपचारिक भ्रमणको निम्तो दिइएको हो। भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम राखेको हुनसक्ने बताइएको छ।
नेपाल र भारतबीच एक-अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ।
त्यसयता दुवै देशका प्रधानसेनापतिलाई मानार्थ दिने परम्परा रहँदै आएको छ। मानार्थ महारथीको दर्ज्यानी चिह्न दिने परम्पराको सुरुवात सन् १९५० देखि भएको हो। तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ जनरलको सम्मान लिएका थिए।
त्यसपछि भारतबाट सेनाध्यक्ष राजेन्द्र सिंहजी जडेजा, सत्यवन्त मल्लना (एसएम) श्रीनागेस, तपीश्वर नारायण रैना, ओम प्रकाश मलहोत्रा, के वी कृष्ण राव, अरुण श्रीधर वैद्य, सुनीत फ्रांसिस रोड्रिग्स र शंकर राय चौधरीले यो सम्मान पाएका छन्।
त्यस्तै, वेद प्रकाश मलिक, सुन्दरराजन पद्मनाभन, निर्मल चन्द्र विज, दीपक कपूर, विजय कुमार सिंह, बिक्रम सिंह, दलबीर सिंह सुहाग, विपीन रावत, मनोज मुकुन्द नरवाणे, मनोज पाँडे र द्विवेदी गरी २० जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन्।
नेपालबाट २०४५ सालमा सच्चितशमशेर राणाले भने लिन अस्वीकार गरेका थिए। वाणिज्य सन्धी नवीकरण नगरेको भन्दै उनले त्यतिबेला मानार्थ लिन अस्वीकार गरेका थिए।
Facebook Comment