बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन्।
पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए।
प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए। प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियो।
यसैबीच प्रधानमन्त्री ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन्। चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन्।
उनले सम्बोधनमा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु।’
नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए। उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे।
प्रधानमन्त्री ओलीले आजै उद्यमी-व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
Facebook Comment